प्रभु बैंकका रेमिट्यान्स शाखा प्रमुख शाक्य पक्राउ

बैंकिङ कसुरमा संलग्न रहेको देखिएपछि अनुसन्धानका लागि सुजिन शाक्यलाई ललितपुर–११, ईखांछेबाट पक्राउ गरिएको हो ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Prabhu Bank's remittance branch head Shakya arrested

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका रेमिट्यान्स शाखा प्रमुख सुगेन भनिने सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा संलग्न रहेको देखिएपछि अनुसन्धानका लागि शाक्यलाई ललितपुर–११, ईखांछेबाट पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी मनोज केसीले बताए । उनका अनुसार, उच्च अदालत पाटनबाट जारी पक्राउ पुर्जीका आधारममा शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार, प्रभु म्यानेजेमेन्ट प्रालिसँग रेमिट्यान्स कारोबार स्थगित भएपश्चात समेत राष्ट्रबैंकको निर्देशन र कानुन विपरित लामो समयसम्म स्वार्थ समूहलाई रकम प्रयोग गर्न दिई बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाा नोक्सानी पुर्‍याएको आरोपमा अहिले अनुसन्धान चलिरहेको छ । यो मामिलामा प्रहरीले सीईओ अशोक शेरचनमाथि समेत अनुसन्धान गरिरहेको ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

‘रेमिटबापतको प्रि–फन्डिङ दिनसक्ने कानुनी व्यवस्थाको दुरुपयोग गराई प्रि–फन्डिङ नाममा नियम विपरीत अर्बौं रकम दिई सो बापत नियमानुसार ब्याजसमेत नलिई बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी रकम हानी नोक्सानीसमेत पुर्‍याएकोसमेत अनुसन्धानको क्रममा देखिएको छ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully