अन्तरिम सरकार गठनपछि भारतीय अधिकारीको नेपाल भ्रमण

भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान मामिला हेर्ने (नर्थ डेस्कका प्रमुख) मुनु महावार नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।

मंसिर २४, २०८२

राजेश मिश्र

Indian official visits Nepal after formation of interim government

What you should know

काठमाडौँ — नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । 

जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् । जबकि जेन–जी आन्दोलनपछि नेपालबाट भने विभिन्न मन्त्री र अधिकारीहरूले भारत भ्रमण गरिसकेका छन् । 

प्रधानमन्त्री कार्कीसँगको भेटमा महावारले आगामी निर्वाचनमा भारतबाट हुन सक्ने सहयोगका विषयमा छलफल गरेका थिए । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी कार्कीसँगको भेटमा महावारले २१ फागुनको निर्वाचन तथा नेपालको समग्र लोकतान्त्रिक प्रक्रियाका लागि हरसम्भव सहयोग गर्न भारतीय प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

‘प्रधानमन्त्रीसँग उहाँको शिष्टाचार भेटवार्ता थियो । त्यहाँ द्विपक्षीय हित तथा विकास साझेदारी विषयमा समेत चर्चा भयो,’ रावलले भने, ‘भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगति समीक्षा तथा नेपालमा हुन गइरहेको निर्वाचनकै सेरोफेरोमा कुराकानी भएको हो ।’ 

भारतले यसअघि नै निर्वाचनका लागि आवश्यक पर्ने सहयोगको सूची नेपालसँग मागिसकेको छ । परराष्ट्र मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लािग ६ सयभन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । ‘निर्वाचनका लागि भारतले के कस्तो सहयोग चाहिन्छ भनेर पहिल्यै सोधेको थियो । त्यसपछि परराष्ट्रमार्फत लिस्ट पठाइएको छ,’ स्रोतले भन्यो, ‘लिस्ट लामै छ । मुख्यगरी प्रहरीलाई आवश्यक पर्ने सुरक्षा बन्दोबस्तीका सामग्री र सवारी साधनका लागि आग्रह गरिएको छ । त्यसमा के कति सामान आउने हो, त्यसको सुनिश्चितता भने भइसकेको छैन । तर, सामान आउने प्रतिबद्धता भने आएको छ ।’ 

महावारले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, सिँचाइ तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्रालयको समेत जिम्मेवारीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मन्त्रीहरूसँगको भेटमा पनि महावारले नेपालको निर्वाचन प्रक्रियामा भारत सहयोगी रहने जनाएका छन् । त्यस्तै, परराष्ट्र सचिव अमृत राईसँग पनि औपचारिक भेटवार्ता भएको छ ।

महावारको नेपाल आगमनलाई कार्की नेतृत्वको सरकारसँग सम्बन्धको विकास गर्ने भारतको प्रयासका रूपमा पनि हेरिएको छ । ‘जेन–जी आन्दोलनपछि बनेको सरकारसँग संवाद बढाउन, सरकार तथा चुनावी प्रक्रियालाई भारतको पूर्ण सहयोग रहेको प्रतिबद्धता जनाउन नै यो भ्रमण भएको बुझेको छु,’ एक उच्च अधिकारीले भने, ‘नियमित अनगोइङ परियोजना तथा समझदारीहरूको समीक्षा गर्नुबाहेक चुनावी तयारीबारे यथार्थ जानकारी लिनु पनि भ्रमणको उद्देश्य हो ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले महावारको नेपाल आगमनलाई नियमित भ्रमण भनेका छन् । ‘दुई घनिष्ठ सम्बन्ध भएका नेपाल–भारतबीच भइरहनेमध्येको यो नियमित भ्रमण नै हो,’ उनले भने  ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully