प्रधानमन्त्री सुशीला कार्की बसिरहेको बेला जेन-जी प्रतिनिधि एकअर्कासँग बाझ्न लागेपछि कर्मचारीले अनुशासन कायम गरिदिन आग्रह गरिरहेका थिए ।
What you should know
काठमाडौँ — सरकारका र जेन-जीका केही समूहबीच भदौ २३ र २४ को आन्दोलनका सम्बन्धमा सम्झौता भएसँगै जेन-जी प्रतिनिधिबीच प्रधानमन्त्री सुशीला कार्की उपस्थित कार्यक्रममा नै बाझाबाझ भएको छ ।
प्रधानमन्त्री कार्की र जेन-जी सहिद परिवारका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन-जीका प्रतिनिधि विवादमा उत्रिएका थिए ।
बाझाबाझ साम्य पार्नका लागि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय भएका थिए भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले अनुशासनमा बस्न बारम्बार आग्रह गरेका थिए । प्रधानमन्त्री कार्की बसिरहेको बेला जेन-जी प्रतिनिधि एकअर्कासँग बाझ्न लागेपछि कर्मचारीले अनुशासन कायम गरिदिन आग्रह गरिरहेका थिए ।
जेन-जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन-जी (सुधन गुरुङ समूह) र जेन-जी फ्रन्ट (रक्षा बम समूह)लगायतका समूहसँग बुधबार साँझ सरकारले सम्झौता गरेको थियो । सरकार र जेन-जीका बीचमा हुने सम्झौता पत्र सरकार र जेन-जीका प्रतिनिधिले तयार पारेका हुन् । सरकारका तर्फबाट सूर्य ढुंगेललगायत र जेन-जी समूहको तर्फबाट वरिष्ठ अधिवक्ता राजु चापागाईंलाई सम्झौताको मस्यौदा तपार पारेका थिए ।
सम्झौता लगत्तै असन्तुष्ट जेन-जी प्रतिनिधिले प्रधानमन्त्रीको सम्बोधन लगत्तै विभिन्न प्रश्न उठाएर जेन-जी युवा र युवतीहरू विवादमा उत्रिएका थिए । एक जेन-जी युवतीले राष्ट्रपतिसँग सम्झौता खोई भनी प्रश्न उठाएकी थिइन् । अर्का युवाले केही सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए ।
अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो । ती युवाले यहाँ घाइतेहरूको रगत बगेकोमा सुधन गुरुङसहितका केही मानिसहरूलाई मात्र ल्याएर हस्ताक्षर गराइयो भन्दै जेन-जी प्रतिनिधि विवादमा उत्रिएका थिए ।
