विश्व भोकमरी सूचांकमा चार स्थान खस्कियो नेपाल

ग्लोबल हंगर इन्डेक्स (जीएचआई)मा नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किर ७२औँ स्थानमा झरेको छ । साथै, नेपालमा पुड्कोपना (स्टन्टिङ) वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।   

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Nepal drops four places in Global Hunger Index

What you should know

काठमाडौँ — विश्व भोकमरी सूचांकमा नेपालको स्थान केही खस्किएको छ । वेल्ट हंगर हिल्फे र लि-बर्डले मंगलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकांक २०२५ को प्रतिवेदनमा नेपालको अवस्थालाई ‘मध्यम श्रेणीको भोकमरी’ भएको देशका रूपमा राखिएको छ ।

यस वर्ष नेपालको जीएचआई अंक १४.८ छ, यसले मध्यम खालको भोकमरीको स्थिति दर्साउने प्रतिवेदनमा उल्लेख छ । सन् २००० मा जीएचआई अंक ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा पर्थ्यो । दुई दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरेको देखिन्छ । तथापि, गत वर्ष १४.७ रहेको नेपालको जीएचआई अंक यसपालि बढेर १४.८ पुगेको छ । 

वेल्ट हंगर हिल्फे, कन्सर्न वर्ल्डवाइड र इन्स्टिटुसन फर इन्टरनेसनल ल अफ पिस एन्ड आर्म कन्फ्लिक्टले भोकमरी तथा कुपोषणको स्थिति मापन गर्न वार्षिक रूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् । नेपालमा कुपोषणको अवस्था अझै पनि ठूलो सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा रहेको प्रतिवेदनले औँल्याएको छ । अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसंख्या नेपालमा जम्मा ५.३ प्रतिशत रहेको देखिन्छ । 

पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना (चाइल्ड स्टन्टिङ) २६ प्रतिशत छ । गत वर्ष २४.८ प्रतिशत रहेको स्टन्टिङ यसवर्ष वृद्धि भएको देखिन्छ । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना (चाइल्ड वेस्टिङ) ७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ । 

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्री रामेश्वर प्रसाद खनालले विशेषगरी विकासशील देशहरूमा भोकमरी, खाद्य सुरक्षा र पोषण सुरक्षाको अवस्था र चुनौतीलाई प्रतिवेदनले उजागर गरेको बताए । भोकमरी र कुपोषणमा नेपालले उल्लेखनीय प्रगति गरे पनि समस्या अझै विद्यमान रहेको उनको भनाइ थियो । उनले देशको प्रमुख समस्याका रूपमा रहेको कुपोषण र नसर्ने रोगको बढ्दो जोखिम नेपालको कृषि ढाँचा, उत्पादन पद्धति, खाद्य प्रणाली र उपभोगमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको धारणा राखे । 

वेल्ट हंगर हिल्फे नेपालका कन्ट्री डाइरेक्टर साकेब नाभीले विगत २० वर्षदेखि विश्वव्यापी रूपमा ग्लोबल हंगर रिपोर्ट जारी गर्दै आएको र यसको मुख्य जोड खाद्य असुरक्षा र कुपोषणमा रहेको जानकारी दिए । जलवायु परिवर्तनको प्रभाव, कोभिडको असर, जैविक विविधताको क्षति र आप्रवासनजस्ता धेरै चुनौतीहरूबीच नेपालले सबैभन्दा कमजोर र सीमान्तकृत समुदायहरूलाई खानामा पहुँच सुनिश्चित गर्न सराहनीय काम गरिरहेको बताए ।

प्रतिवेदनअनुसार श्रीलंकाबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा  नेपालले भोकमरी न्यूनिकरणमा राम्रो सुधार गरेको छ । भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा छन् ।  

कान्तिपुर

Link copied successfully