बस्नेतको आरोप- 'एमाले महाधिवेशन प्रभावित पार्न मन्त्री घिसिङले नागढुंगा-मलेखु सडक बन्द गराए'

नागढुंगा–मुग्लिन सडक योजनाका पूर्वी खण्ड प्रमुख केशवप्रसाद ओझा भन्छन्- 'समय तीन महिना मात्रै बाँकी भएकाले चाँडो काम सक्ने दबाबमा छौं, यसमा हाम्रो कुनै नियत छैन ।'

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Basnet's allegation - 'Minister Ghising closed the Nagdhunga-Malekhu road to influence the UML general convention'

What you should know

काठमाडौँ — एमाले महाधिवेशनमा सहभागी हुन आउनेलाई अप्ठ्यारो पार्नका लागि नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड दैनिक ५ घन्टा बन्द गर्ने निर्णय भएको एमाले नेता महेश बस्नेतले आरोप लगाएका छन् । 

सडक विभागले उक्त खण्ड अन्यत्रभन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताएका थिए ।

एमाले नेता बस्नेतले भने एमाले महाधिवेशन प्रभावित पार्नका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । बस्नेतले सामाजिक सञ्जालमार्फत सरकारलाई उक्त निर्णय फिर्ता लिन पनि सुझाएका छन् । 

'मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ,' बस्नेतले भनेका छन्, 'एमालेको मंसिर २७- २९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन- प्रतिशोधको राजनीति हो । याद रहोस्, प्रतिशोधको बदला प्रतिशोधनै हुनेछ ।'

बस्नेतले उक्त निर्णय फिर्ता लिन पनि भनेका छन् । 'तत्काल निर्णय फिर्ता गरेर पुस पहिलो हप्तादेखि काम गर्नु सरकार र कुलमान दुवैको हितमा हुनेछ,' बस्नेतको भनाइ छ । 

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले भने कुनै कार्यक्रमलाई लक्षित गरेर निर्माण, विस्तारको कार्य अघि नबढाएको बताएका छन् । 'यस्ता कार्यक्रम भई नै रहेका हुन्छन्, सँगसँगै विकास निर्माणका काम पनि समानान्तर रुपमा भइहन्छन्,' उनले भने, 'निर्माणको अवधि पनि सकिँदैछ । त्यसैले छिट्टै काम सक्नुपर्ने भएकाले कामलाई तीव्र बनाउन लागिपरेका हौं ।'

उनका अनुसार दोस्रो लेयरको काम सकिएपछि तेस्रो चरणको ब्ल्याक टपको काम र रङरोगन बाँकी नै छ । समय करिब तीन महिना मात्रै बाँकी भएकाले आफूहरु काम सक्ने दबाबमा रहेको ओझाको भनाइ छ । 'संयोगले महाधिवेशन पनि यही मितिमा परेकाले यस्तो देखिको हो । यसमा हाम्रो कुनै पनि नियत छैन । यो एउटा संयोग मात्रै हो,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully