सीटीईभीटीको मुख्य समस्या : हचुवामा कलेज खोल्दा विद्यार्थी र प्रशिक्षकको चरम अभाव

सरकारले गठन गरेको सीटीईभीटीको पुनर्संरचनासम्बन्धी सुझाव कार्यदलले योजनाबिना शिक्षालय तथा कार्यक्रम विस्तार भएको र त्यसको कारण दक्ष प्रशिक्षकहरूको अभाव र विद्यार्थीविहीन भएको औंल्याएको छ ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम परिषद् (सीटीईभीटी) ले बिनायोजना शिक्षालय/कलेज विस्तार गर्दा पढ्ने विद्यार्थी र पढाउने प्रशिक्षकको चरम अभाव रहेको पाइएको छ ।

सरकारले गठन गरेको सीटीईभीटीको पुनर्संरचनासम्बन्धी सुझाव कार्यदलले योजनाबिना शिक्षालय तथा कार्यक्रम विस्तार भएको र त्यसको कारण दक्ष प्रशिक्षकहरूको अभाव र विद्यार्थीविहीन भएको औंल्याएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वको कार्यदलले विद्यार्थी कम भएका र मापदण्ड पूरा नगरेका शिक्षणसंस्था बन्द वा समायोजन गर्न सुझाव दिएको छ ।

‘सीटीईभीटीमा सीप नक्सांकन, कार्यक्रम छनोट तथा सम्भाव्यता अध्ययन अत्यन्तै कमजोर वा लगभग शून्य छ । सन् २०१९ मा कुनै अध्ययन वा विद्यालयको क्षमताको मूल्याङ्कनबिना नै २ सय ७५ सामुदायिक विद्यालयलाई एकै पटक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइयो । प्रायः सबै विद्यालयहरू कृषि (बाली विज्ञान र पशुपालन), इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर), स्वास्थय (नर्सिङ, हेल्थ असिस्टेन्ट, ल्याब, फार्मेसी) र वन विज्ञान जस्ता सीमित कार्यक्रमहरु सञ्चालन गरिएको छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘परिमामस्वरूप धेरै विद्यालय तथा शिक्षण संस्थाहरूमा क्षमताभन्दा कम विद्यार्थी भर्ना भएका छन् । जसका कारण शिक्षण संस्थाहरू विद्यार्थीको छनोट गरेर होइन । संकलन गरेर कार्यक्रम सञ्चालन गर्न बाध्य छन् ।’

प्रशिक्षक (शिक्षक) अभावमा सरकारी कर्मचारीलाई समेत करारमा राख्ने गरिएको कार्यदलले औंल्याएको छ । ‘शिक्षण संस्थाहरूमा दक्ष प्रशिक्षकहरट्ठको कमी छ । ग्रामीण क्षेत्रका प्राविधिक शिक्षालय तथा सामुदायिक विद्यालहरुले धेरैजसो कार्यक्रम योग्य तथा दक्ष प्रशिक्षणबिना नै चलाइरहेका छन । केही सामुदायिक विद्यालयहरूले एक वर्षको पाठ्यक्रमलाई दुई महिनामै पूरा गर्न सरकारी कर्मचारीलाई करारमा राख्ने गरेको समेत पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

धेरै संस्थाहरूमा योग्य तथा दक्ष प्रशिक्षक नभएको र प्रशिक्षकहरुले छाड्ने दर पनि उच्च रहेको कार्यदलले औंल्याएको छ । हचुवामा कलेज खोल्नु, विद्यार्थी र प्रशिक्षकको चरम अभाव रहनुलाई सीटीईभीटीको मुख्य चुनौति र समस्या रहेको कार्यदलको निर्ष्कष छ । सीटीईभीटीका पूर्वसदस्य सचिव रामहरि लामिछाने र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने पूर्वसदस्य उषा झा सदस्य थिए ।

कान्तिपुर

Link copied successfully