संघीय सरकारलाई पाख्रीबासका मेयरको व्यंग्यात्मक पत्र : दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू

मेयर ज्ञानबहादुर गुरुङ भन्छन् : 'हाकिम छैन, मान्छे हामीसँग रिसाउँछन् । खाली खुट्टा नगरपालिका आएको गाउँको मान्छेलाई कतिपटक हाकिम छैन भनेर फर्काउने ? नागरिकलाई के जवाफ दिने ?'

मंसिर २२, २०८२

विनोद घिमिरे

Pakhribas Mayor's sarcastic letter to the federal government: Send a new Chief Administrative Officer every day

What you should know

धनकुटा — प्रमुख प्रशासकीय अधिकृतको अस्वभाविक सरुवाले आजित भएपछि धनकुटाको पाख्रीबास नगरपालिकाका मेयरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई व्यंग्यात्मक पत्र लेखेका छन् ।

पाख्रीबास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको ८ महिनामै सरुवा गरिएपछि प्रमुख ज्ञानबहादुर गुरुङले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चिठी लेखेर बारम्बार हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको सरुवाप्रति असन्तुष्टि जनाउँदै व्यंग्यात्मक पत्र लेखेका हुन् । 

Pakhribas Mayor's sarcastic letter to the federal government: Send a new Chief Administrative Officer every dayपाख्रीबास धनकुटाका अन्य ६ मध्ये छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत फेरिने स्थानीय तहमा पर्छ ।  ८ वर्षको अवधिमा पाख्रीबास नगरपालिकामा आठै जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । २०७४ फागुन २८ मा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर हाजिर भएका गणेशराज कार्की २०७५ चैत ९ मा सरुवा भएका थिए ।  २०७५ चैत २४ मा आएका दीपक दाहाल पाख्रीबासमा हाजिर भएको २ महिनामै २०७६ जेठमा सरुवा भएर गए । त्यसपछि आएका डीकबहादुर राईले २०७८ चैत १५ सम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले । 

त्यसपछि आएका प्रकाशराज पौडेलले २०७९ चैत ८ गतेसम्म काम गरे । २०८० वैशाख १४ मा प्रमुख प्रशासकीय अधिकृत तोकिएका गोर्खबहादुर तामाङले त्यसको ५ महिना अर्थात भदौसम्म बसे । तामाङपछि हाजिर भएका खगेन्द्र सुवेदी २०८१ भदौमा पाख्रीबासबाट सरुवा भएर हिँडेका थिए ।

यस्तै २०८१ भदौ २८ मा आएका अर्का प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल ५ महिना मात्रै बसे । २०८१ चैत ७ गते हाजिर भएका विज्ञान कोइरालाको पनि मंसिर १७ गते इलामको सूर्योदयन गरपालिकामा सरुवा भएपछि पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले पत्र लेखेर असन्तुष्टि पोखेका हुन् ।

कोइरालापछि पाख्रीबासमा सुनील पौडेल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउन लागेको प्रमुख गुरुङको सचिवालयका गोकुल घिमिरेले जनाए । नगरप्रमुख गुरुङले हस्ताक्षर गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको ९६३ चलानी नम्बरको जानकारी पत्रमा ‘दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा, नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैंसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल फुल्न, फल्न र सोको निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेको’ भनी व्यंग्य हानेका हुन् । 

यस्तै पत्रमा गुरुङले मन्त्रालयबाट प्रत्येक महिना र सम्भव भए दिनदिनै छुट्टाछुट्टै प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकेर पठाउँदा पनि फरक नपर्ने भन्दै रोष प्रकट गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको छिटो-छिटो र अनियमित सरुवाले सेवाग्राही नागरिकले समेत दुःख पाएको उनले बताए ।  

चिठीबारे के भन्छन् नगरप्रमुख गुरुङ ?

म मेयर भएको साढे तीन वर्ष भयो । यसबीचमा प्रमुख प्रशासकीय अधिकृतका लिनकै लागि धेरै पटक काठमाडौं धाएको छु । मन्त्रालयमा धाउँदाधाउँदा कहिले मन्त्री भेट, कहिले सचिव भेट कहिले सहसचिव भेट, कति हैरान छ हेरौं त ? 

Pakhribas Mayor's sarcastic letter to the federal government: Send a new Chief Administrative Officer every dayकर्मचारीसँग हात जोडेर लौन हजुर, प्रमुख प्रशासकीय अधिकृत चाहियो, खोजी दिनु पर्‍यो भन्नुपर्छ । भनेर हुँदैन, हाकिम पठाउँदैनन् । पठाए कहिलेसम्म बस्ने टुंगो हुँदैन । हाकिम नभए गाडीको तेल, बिरामीको सिफरिस, ठेक्कापट्टा केही हुँदैन केही चल्दैन । हाकिम छैन, मान्छे हामीसँग रिसाउँछन् । खाली खुट्टा नगरपालिका आएको गाउँको मान्छेलाई कतिपटक हाकिम छैन भनेर फर्काउने ? नागरिकलाई के जवाफ दिने ? मन्त्रालयले हाकिम सरुवामा हामीसँग समन्वय गर्दैन । यहाँ समाधान र जवाफ हामीले दिनुपर्छ कति अप्ठेरो छ ? 

हरेक पटक काठमाडौँ जाँदा पूर्वदेखि पश्चिमका साथी भेट्छु, उनीहरू पनि हाकिम खोज्न आएको भन्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्न्त्रालयमा गएर एकदिन बस्नुस् कति मान्छे भेट्नुहुन्छ हाकिम खोज्न आउने ? मन्त्रालयको खेलाची छ, कहिले अनुभव भएको आउँछ, कहिले नभएको, कहिले धेरै जान्ने आउँछ कहिले जान्दै नजान्ने, प्रमुख प्रशासकीय अधिकृत आउने जाने कुरा यति धेरै समस्याको विषय भएको छ, म हैरान छु । संघले पठाउने हाकिम टुरिस्ट जस्ता भए, न्यूनतम एउटा स्थानीय तहमा एउटै हाकिम २ वर्ष बस्ने व्यवस्था हुनुपर्छ ।

नयाँ आउँछ भूगोल स्थिति अवस्था थाहै नपाइ जान्छ, कस्तो ठाउँमा कस्तो योजना बनाउने कसरी कार्यान्वयन गर्ने, अनुगमन सुपरीवेक्षण यी सबै काम हाकिमले हामीलाई सघाउने कुरा हुन् नि । चिठीको भाषा मेरो व्यक्तिगत अभिव्यक्ति मात्रै होइन, हाम्रो भोगाइ हो । यो कुरा संघीय सरकारले सुन्नुपर्छ, व्यवस्थापनमा जिम्मेवार बन्नु पर्छ, नभए हामफले दुःख पाउने त छँदैछ, स्थानीय तहका बारे जे परिकल्पना गरिएको छ त्यो समृद्धि र सुव्यवस्था हामिले पाउन सक्दैनौं । नागरिकले सधैँ दुःख पाउँछन्, कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली पनि सबल बन्न सक्दैन । मातहतका कर्मचारीले पनि कसैलाई टेर्दैनन् ।

-कान्तिपुरसँग मेयर गुरुङले गरेको कुराकानी

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully