जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाइले ६ लाखमा 'सुपारी' दिएर मान्छे बोलाई चौधरीउपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । २ महिनाअघि रामधुनी-२ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो ।
सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनै साह दाजुभाइकै योजनामा 'सुपारी' दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो । सिटी सफारी चालक धामीझाँक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाइले ६ लाखमा 'सुपारी' दिएर मान्छे बोलाई चौधरीउपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही चलाइएको जनाएको छ ।
सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरूमा झुम्काका साह दाजुभाइ ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोरसहित सप्तरी राजविराजका २८ वर्षीय अंकित साह र प्रिन्सकुमार दास रहेका छन् । त्यसैगरी पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहाका ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षीय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षीय मिथलेस यादव रहेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।
असोज २५ गते शनिबार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेशकुमार चौधरीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
