हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यकामा पर्ने निङ खोला छेउ समथर ठाउँमा बचेरा हुर्काउँदै गरेको अवस्थामा अभिलेख गरिएको हो ।
What you should know
लुम्बिनी — मनमोहक र चित्ताकर्षक पन्छी कालीकण्ठ सारस (ब्ल्याक नेक्ड क्रेन) ले नेपालमा पहिलो पटक बच्चा कोरलेको पाइएको छ ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यकामा पर्ने निङ खोला छेउ समथर ठाउमा बचेरा हुर्काउँदै गरेको अवस्थामा अभिलेख गरिएको हो । पन्छी संरक्षण संघ (बीसीएन) का गिद्ध संरक्षण अघिकृत अंकितविलास जोशी र सिनियर रिसर्च अफिसर किरण गोसाईले जोडी सारससँग एउटा बचेरा हालै देखेको हो ।
कठिन भौगोलिक भूगोलमा ४ हजार ५ सय मिटर उचाइमा टेन्ट टाँगेर चार दिन बसेको टोलीले दुई दिनसम्म बच्चा देखेको थियो । टोलीले शाक्या खोला र घ्याउ खोला उपत्यकामा पनि टेन्ट टाँगेर कालीकण्ठ सारसको खोजबिन गरेको थियो । भरिया र खच्चडमा समान बोकाएर कठ्यांग्रिँदो जाडोमा तीन ठाउँमा २२ दिन टेन्टमुनि बसेर कालीकण्ठ सारस खोज्दा एक ठाउँमा मात्र बच्चा सहित देखिएको थियो ।
माउसँग बच्चा देखिएसँगै नेपालमा पहिलो पटक बच्चा कोरलेको अभिलेख भएको चराविद् डा. हेमसागर बरालले बताए । ‘यसले चराप्रेमीका लागि उत्साह थपेको छ,’ उनले भने, ‘अब सारसको तराईदेखि हिमालसम्म नेस्टिङदेखि बचेरा हुर्काएकोसम्म देख्न पाइने भएको छ ।
जोशी नेतृत्वको टोली २०२६ अप्रिलमा पनि कालीकण्ठ सारसको थप अध्ययन गर्न हुम्ला जानेछ ।
हुम्लामा सन् २०१३ देखि कालीकण्ठ सारस देख्न थालिए पनि बच्चासहित पहिलो पटक देखिएको पन्छी संरक्षण संघका गिद्ध संरक्षण अघिकृत अंकितविलास जोशीले बताए । माउ देखिएको झन्डै १२ वर्षपछि बचेरासहित देख्दा अविस्मरणीय क्षण भएको जोशीले बताए । बच्चा हुर्काएको पाइएपछि फिरन्ते आगन्तुक यो चराको पहिचान फेरिएर रैथाने हुन पुगेको उनको भनाइ छ । ३०/३२ दिनसम्म ओथारो बसेर यसले सय दिनमा बचेरा उडाउँछ ।
छोटो घाँटी र खुट्टा हुने कालीकण्ठ सारस सुन्दर र मनमोहक हुन्छन् । कालो टाउको, घाँटीको माथिल्लो भाग र झुप्प परेको भित्री पखेटासँग वयस्कको फिक्का फुस्रो शरीर प्रस्ट फरक देखिन्छ । पानी, धाप र खोला छेउमा गुँड बनाएर ओथारो बस्छन् । दुई वटासम्म अण्ठा दिने कालीकण्ठका भालेपोथी दुवै मिलेर बचेरा हुर्काउँछन् ।
कालीकण्ठ सारस हिमालापारि बस्ने गर्छ । गर्मीका बेला बच्चा कोरल्न अप्रिलतिर आउने यो चरा अक्टोबरतिर फर्कन्छ । नेपालमा चाहिँ गृष्म आगन्तुक चराका रुपमा आउँछ । जाडोका बेला हिमाल पछ्याउँदै पश्चिमबाट पूर्व तिर लाग्छ ।
यसको ठूलो संख्या तिब्बतमा छ । त्यसपछि भारतको लद्दाख र भुटानमा पाइन्छ । जाडोमा बसाइँ सरेर भुटानको बुमथाङ भ्याली पुग्दा स्थानीयले कालीकण्ठलाई भव्य स्वागत गर्छन् ।
नेपालमा पाइने चार प्रकारका क्रेनमध्ये सारसले मात्र बच्चा कोरल्ने रेकर्ड रहेकामा अब कालीकण्ठले पनि बच्चा कोरल्ने रेकर्ड कामय हुँदा दुई प्रजातिका सारसको ‘ब्रिडिङ’ स्थल नेपाल हुनु पुगेको चराविद् कृष्णप्रसाद भुसाल बताउँछन् ।
सारस आवासीय रुपमा नेपालको तराईमा बस्छन् भने कालीकण्ठ सारस फिरन्ते आगन्तुक चराका रुपमा आउँछन् । कालीकण्ठ सारस बाँझा खेतबारी र हिमाली भूमिमा देखिन्छ । हिउँदको समय खोला, उपत्यका, जौं र गहुँ बाली भएका छेउछाउको क्षेत्रमा बस्न मन पराउँछ । जबकि प्रजननका बेला ताल, साना धापिला भूमि प्रयोग गर्छन् ।
कालीकण्ठ सारस बिस्तारै संकटतिर धकेलिँदै छन् । आईयूसीएनले पनि संकटको नजिक रहेको उल्लेख गरेको छ । यस्ले ३ हजार मिटर आसपास र त्यसभन्दा माथि चिसो क्षेत्रमा प्रजनन गर्छ । यो गहिरो आवाजमा कराउँछ । जसले परैबाट कालीकण्ठ चरा रहेको आभास हुन्छ । जोडामा जीवन बिताउने कालीकण्ड सारसले एउटै जीवनसाथीसँग जीवन बिताउँछ । यसको नाच निक्कै सुन्दर र चित्ताकर्षक हुन्छ । एक अर्काको अघि झुक्दै, पखेटा फैलाउँदै र उफ्रीउफ्री नाचेको देख्दा आनन्दित हुने चराविद् हठन चौधरीले बताए ।
विश्वमा रहेका क्रेनका १५ प्रजातिमध्ये भारतमा ५ र नेपालमा ४ प्रकारका पाइन्छन् । नेपालमा पाइने क्रेनमा कर्याङ कुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस छन् ।
