भेटमा प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरिन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ताका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले ती दिनका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास पनि व्यक्त गरेपछि प्रधानमन्त्रीले उक्त कुरा बताएकी हुन् ।
उक्त भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो।
गत भदौको जेन–जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गरे । प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीको घरमा पुगेको क्षतिप्रति पनि दुःख व्यक्त गरिन् । साथै उनले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् । साथै उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास पनि व्यक्त गरिन् ।
