नेपालमै आन्दोलनको रिपोर्टिङ कति सुरक्षित ?

जेन–जी आन्दोलन रिपोर्टिङ गर्ने क्रममा गोली लागेर घाइते भएका पत्रकार भन्छन्, ‘पत्रकार नै सञ्चारमन्त्री हुनुभएको छ तर, उहाँलाई पत्रकारले पनि फिल्डमा गोली खाएका छन् भन्ने थाहा छैन होला’

मंसिर २१, २०८२

दया दुदराज

How safe is it to report on protests in Nepal?

What you should know

काठमाडौँ — काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा अघिल्लो शुक्रबार पुग्दा बिरामीको भीड थियो । ओपीडीको लाइनमा थिए, बैसाखीको आडमा मुस्किलले उभिइरहेका पत्रकार शम्भु दंगाल । १७ दिनसम्म अस्पताल बसेर ‘डिस्चार्ज’ भएका शम्भुलाई काठमाडौंको नारायणटारबाट ट्रमा आउनु साप्ताहिक गृहकार्यजस्तो बनेको छ । भाइको सहारामा उनी प्रत्येक शुक्रबार ट्रमा आउँछन् र ‘ड्रेसिङ’ गराएर फर्किन्छन् । 

चाँडै आएर लाइन बस्दा पनि यो पटक उनको पालो निकै ढिलो आयो । दुई घण्टा लाइनमा बसेपछि मात्रै ‘ड्रेसिङ’ गराउन पाए । अस्पताल क्यान्टिनको टेबल नं. ७ मा बसेर उनले २३ भदौमा खुट्टामा कसरी गोली लाग्योभन्नेबारे यसरी सुनाए ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय शम्भु ‘नयाँ पोस्ट’ पत्रिकाका सञ्चालक र सम्पादक हुन् । २३ भदौमा उनी रिपोर्टिङको लागि बिहानै नारायणटारबाट बानेश्वरतर्फ निस्किए । करिब साढे ११ बजे उनी बानेश्वर पुगेका थिए । भीड जम्मा भएर नाराबाजी गरिरहेको थियो । त्यहाँको माहोल एकाएक बदलियो । प्रहरीले क्रमशः रबर र ‘मेटल’ गोली चलाउन थाल्यो । उनी ती दृश्य फोटो/भिडियोमा कैद गरिरहेका थिए ।

०६२/६३ को आन्दोलनताका रिपोर्टिङ गरेको अनुभव बोकेका शम्भुलाई जोगिएर फोटो/भिडियो खिच्नुपर्छ भन्ने चेतना थियो । ३ बजे आसपास बानेश्वर क्षेत्र रणमैदान बनेको थियो । ‘प्रदर्शनकारीले पर्खाल भत्काउँदै गरेको भिडियो खिच्न परै बसेर जुम गरिरहेको थिएँ,’ उनी सम्झिन्छन्, ‘अचानक खुट्टामा केही ठोक्किएजस्तो लाग्यो । भतभती पोल्न थाल्यो ।’ देब्रे खुट्टाबाट रगत बग्न थालेपछि उनी सम्हालिन सकेनन् । नजिकैका केही प्रदर्शनकारी आएर सम्हाले ।

‘ओहो ! दाइलाई त गोली लागेछ’, ‘रगत रोक्किँदै रोकिएन’, ‘एम्बुलेन्स बोला एम्बुलेन्स’, यस्तै आवाज शम्भुको कानमा बारम्बार ठोक्किइरह्यो । प्रदर्शनकारीले एम्बुलेन्स खोजी गरे तर भेटिएन । रगत धेरै बग्न थालेपछि नजिकैको एभरेस्ट अस्पताल पुर्‍याए । 

‘अस्पतालको सेतो टायल रगतले लतपतिएको थियो,’ शम्भु भन्छन् । रगत रोक्न ‘ब्यान्डेज’ मात्रै थियो । औषधि पाइएन । ‘त्यो दिन त ब्यान्डेज मात्रै लगाइयो,’ मोबाइलमा फोटो देखाउँदै उनी भन्छन्, ‘रगत बाहिर देखिन थालेपछि फेरि बाहिरबाट अर्को ब्यान्डेज थप्दाथप्दा खुट्टा निकै ठूलो देखिएको थियो ।’ डाक्टरहरूको व्यस्तता र आफ्नो अवस्था देख्दा उनको मनमा एउटै प्रश्न बारम्बार आउँथ्यो– ‘यसरी रगत बगिरह्यो भने त रगत सकेर मरिन्छ कि क्या हो ?’ तै चित्त बुझाउँथे– ‘अस्पताल आइएको छ, बाँचिन्छ होला ।’

साँझ ५ बजे आसपास उनलाई वीर अस्पताल ‘रेफर’ गरियो । आधा घण्टा कुरेपछि एउटा एम्बुलेन्समा तीन जना घाइतेसँगै वीर अस्पताल पुगे । वीरमा अवस्था झनै डरलाग्दो थियो । ‘ओपीडी खाली गरेर त्यहाँ म्याट ओछ्याएर घाइते सबैलाई राखिएको थियो, कसैको आँखा फुटेको त कसैको टाउको । कोही रोइरहेका त कोही चिच्याइरहेका,’ शम्भुलाई लाग्यो, ‘म त अरूभन्दा अलि सग्लै रहेछु !’

बेलुका ७ बजेतिर एक्सरे गर्ने पालो आयो । देब्रे खुट्टा ‘मेटल’ गोलीले छेडिएको रहेछ । खुट्टाको हड्डी पनि फुटेकाले डाक्टरले शल्यक्रिया गर्न भने । तर यहाँ त्यस्तो वातावरण थिएन । अस्पतालमा घाइतेहरू भरिँदै गएपछि उनको पालो निकै ढिला आउने भयो । २३ को रात दुखाइ र पीडैपीडामा बित्यो ।

२४ भदौमा झन् धेरै घाइते थपिए । २ दिनसम्म शम्भुले ‘एन्टिबायोटिक’को सहारा लिए । त्यसपछि मात्र शल्यक्रिया भयो । १७ दिन अस्पतालमै बसे । यसबीच आफैंलाई सोधिरहे– ‘म क्रियाशील पत्रकार हुँ । २० वर्षदेखि मेरो एक मात्र पेसा पत्रकारिता मात्र हो । आफ्नो जीविका यसबाटै चलाउँछु । मैले पत्रकारितामा डिग्री लिएर यही क्षेत्रमै समर्पित भएर काम गरिरहेको छु । अब के होला ?’ उनले सोचेका थिए– ‘पत्रकारहरू समस्यामा परे भने पत्रकार महासंघ छ, विभिन्न आईएनजीओ, एनजीओ छन्, राजनीतिक दलमा आबद्ध पत्रकार संघसंस्था छन्, सामाजिक संस्था पनि छन्, भेट्न आउलान्, सरसहयोग गर्लान् ।’

तर, यसबीच उनलाई भेट्न कुनै संस्थाका पदाधिकारी आएनन् । ‘धेरै पत्रकारको महासंघको सदस्यता शुल्क पार्टीले तिरिदिन्छ । तर म त आफैं तिर्छु, आफैं नवीकरण गर्दै आएको छु,’ उनी खिन्न बन्छन्, ‘यसबीच मैले पत्रकार महासंघको अध्यक्षको समेत अनुहार देखिनँ । पत्रकारलाई सहयोग गर्छौं भन्ने संघसंस्था त कता हराए कता !’

How safe is it to report on protests in Nepal?

महासंघभन्दा अलि पर पुगेर पनि उनले सोचे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि छ । जो सञ्चार क्षेत्रसँग सरोकार राख्छ । उसको बेवास्ताबाट पनि शम्भु झन् दुःखी भए । सञ्चारकर्मबाटै स्थापित व्यक्ति अहिले सञ्चारमन्त्री छन् । ‘उहाँ मन्त्री भएकै साढे दुई महिनाजति भयो । तर घाइते पत्रकारको स्थिति के छ भनेर अहिलेसम्म कुनै मतलब राख्नुभएन,’ शम्भुले गुनासो गरे । 

जागिर छोडेर स्वरोजगार बन्ने उद्देश्यले हिँडिरहेका थिए शम्भु । भर्खरै स्टुडियो बनाएका थिए । नयाँ मिडियामार्फत अगाडि बढ्ने सोच राखेर दत्तचित्त कर्ममा थिए । यतिबेला उनलाई शारीरिक पीडाको मात्रै चिन्ता छैन, आर्थिक संकटको पनि उत्तिकै पीर छ । ‘झन्डै साढे दुई महिना भयो । मैले त कुनै पनि काम गर्न सकेको छैन,’ उनले भने । व्यावसायिक संकटसँगै पारिवारिक जिम्मेवारीले पनि उनी थिचिएका छन् । सरकारले उनका नाममा २० हजार उपचार खर्च दिएको थियो भने पत्रकार महासंघले २५ हजार । ‘त्यसका अलावा कतैबाट केही सहयोग आएको छैन,’ उनले भने । 

जोखिमपूर्ण रिपोर्टिङमा जाँदा पत्रकारको सुरक्षा उपकरणका लागि मिडिया हाउसले बढी ख्याल गर्नुपर्ने शम्भु बताउँछन् । ‘जोखिमपूर्ण अवस्थामा रिपोर्टिङ गर्ने पत्रकारलाई अभिमुखीकरण छैन, सुरक्षा सामग्रीको व्यवस्था पनि छैन,’ उनी भन्छन् । शम्भुले केही वर्षअघिको कोभिडको समय सम्झिए । ‘त्यो बेलामा पनि यस्तै संकट थियो । म दुई–तीन चोटि हस्पिटलमा रिपोर्टिङ गर्न जाँदा आफैं संक्रमित भएँ । म संक्रमित भएपछि परिवार संक्रमित भयो । हामी पत्रकार जोखिम मोलेर रिपोर्टिङमा गइरहेका हुन्छौं तर हाम्रा लागि को छ त ?’ उनी प्रश्न गर्छन्, ‘नीतिगत रूपमा पत्रकारको पेसागत सुरक्षाका निम्ति काम नगरेसम्म यस्तै भइरहन्छ ।’ 

कुराकानीको अन्त्यमा बैसाखीको सहारामा उभिइँदै उनले भने, ‘मलाई ल्याउन–लैजान सरकारले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भनेको थियो । तर प्रशासनिक झन्झट यति लामो कि पहिलो दिन नै ४ घण्टा कुर्दा पनि नआएपछि राइड सेयरिङ प्रयोग गर्ने गरेको छु ।’ व्यस्त सडकबाट सेतो रङको ट्याक्सी अस्पताल परिसर आइपुग्यो । बैसाखीको सहारामा ट्याक्सीभित्र छिर्दै गर्दा मुस्कुराउँदै उनले भने, ‘मैले समाचार लेख्नचाहिँ छाडेको छैन । अहिले पनि घाइतेहरूको कथा लेखिरहेको छु ।’

...

२३ भदौको जेन–जी आन्दोलनमा गोली लागेका अर्का पत्रकार हुन्, ‘नयाँ पत्रिका’ का दीपेन्द्र ढुंगाना । उनको गर्धनमा गोली लागेको थियो । त्यसदिन उनी आफ्नो समूहका चार/पाँच जना फोटो पत्रकारसँगै पोलको पछाडिबाट आन्दोलन क्यामेरामा कैद गर्दै थिए । केही आएर लागेजस्तो भयो । भतभत पोल्यो । ‘साथीहरूले दीपेन्द्रलाई गोली लाग्यो भनेपछि झसंग भएँ । रगत बग्न थाल्यो,’ उनले सुनाए, ‘यसो छाम्न खोजेको पूरै औंला गाडिने गरी चोट लागेको रहेछ । साथीहरूले सिभिल अस्पताल पुर्‍याए ।’

घाइतेहरूले अस्पतालका बेड भरिएका थिए । फ्लोरको एउटा कुनामा दीपेन्द्रले रगताम्य शरीर अड्याए । नर्सले ब्यान्डिज लगाइदिइन् तर रगत बग्न रोकिएन । झन् घाउ दुख्दै जान थाल्यो । ‘लामो समयसम्म कुरेपछि बल्लतल्ल एक्सरे भयो । डाक्टरले तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेपछि आत्तिन थालें,’ दीपेन्द्रले भने, ‘अस्पतालको माहोल हेर्दा त हरेस खाइसकेको थिएँ । केही समयपछि पाटन गएँ ।’

दीपेन्द्रलाई दुइटा रबरका गोली लागेको थियो । पाटन अस्पताल पुगेर अप्रेसन गरे । दुई दिनसम्म होस खुलेन । ‘कानको ठीक तलपट्टि दुईवटा गोली लागेको रहेछ । थोरै मात्र तलमाथि भएको भए जे पनि हुन सक्थ्यो,’ उनले भने, ‘चिकित्सकहरूले दोस्रो जीवन दिनुभयो ।’

How safe is it to report on protests in Nepal?

दीपेन्द्र झन्डै एक महिना अस्पतालमा बसे । उनको उपचार खर्च कार्यरत संस्थाले बेहोर्‍यो । अस्पताल बसेको छैटौं दिनमा पत्रकार महासंघका केही पदाधिकारी उनलाई भेट्न पुगेका थिए । महासंघले १५ हजार सहयोग गर्‍यो । तर, राज्यले घाइते कार्डसमेत दिन नसकेको उनले बताए । ‘पत्रकार नै सञ्चारमन्त्री हुनुभएको छ । तर, उहाँलाई पत्रकारले पनि फिल्डमा गोली खाएका छन् भन्ने थाहा छैन होला,’ आक्रोशित भावमा उनले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार भनिएको थियो, कुन्नि के–के कार्ड बाँड्दै थिए, त्यो पत्रकारका लागि पनि हैन र ?’

२०७२ को भूकम्पदेखि फिल्डमा खटिएर फोटो खिच्न थालेका दीपेन्द्रका लागि पत्रकारिता अब पेसा मात्रै होइन, संघर्ष बनेको छ । ‘प्रत्येक पटक कार्यक्षेत्रमा खटिँदा सुरक्षित फर्कन्छौं भन्ने ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘मुठभेडको बीचमा हामी हुन्छौं । कसले के गर्ने हो, कुनै भर छैन ।’ पत्रकारको सुरक्षाप्रति मिडिया हाउसहरू उदासीन रहेको उनको टिप्पणी छ । ‘१५ चैतको राजावादी प्रदर्शनमा पत्रकारहरू कुटिए, जलेर मरे । जेन–जी आन्दोलनमा पनि उही ताल छ,’ उनी भन्छन् । मिडिया हाउसहरूले ‘काउन्सिलिङ’, ‘ट्रेनिङ’ र सुरक्षा उपकरणमा लगानी गर्नुपर्ने दीपेन्द्रको मत छ । पत्रकारको सुरक्षामा पत्रकार महासंघ पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

...

राज्य व्यवस्थाबाट असन्तुष्ट अर्का घाइते पत्रकार हुन्, श्याम श्रेष्ठ । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठ २३ भदौको दिउँसो १२ बजे रिपोर्टिङका लागि संसद् भवनतर्फ निस्किएका थिए । संसद् भवनको दक्षिण गेटनजिक पुग्दा केही प्रदर्शनकारी सीसीटीभी क्यामेरा फुटाउँदै थिए, केही तारबार भत्काउँदै थिए ।

साढे २२ वर्षभन्दा बढी रिपोर्टिङको अनुभव बोकेका श्रेष्ठ त्यो बेलाको अवस्था बेलिबिस्तार लगाउँछन्, ‘प्रदर्शनकारी मुख्य प्रवेशद्वारतर्फ अगाडि बढ्दै थिए । त्यसपछि लाठीचार्ज र अश्रुग्यास प्रहार हुन थाले पनि प्रहरी पछि हटिरहेका थिए । प्रदर्शनकारी जाली नाघेर भित्र पस्न थाले । भित्र मुस्किलले १५–२० जना प्रहरी थिए, तर प्रदर्शनकारीको संख्या सयभन्दा बढी पुगिसकेको थियो ।’

त्यही बेला संसद्भित्रबाट एक प्रहरी राइफल लिएर निस्किए र हवाई फायर गरे । त्यसबीचमा एक युवा गोली लागेर ढले । श्याम जोखिम मोलेर गोली लागेका युवकको फुटेज लिन दौडिए । युवकको रगत बगिरहेको थियो । केही प्रदर्शनकारीले सर्ट फुकालेर युवकको घाउ छोपिरहेका थिए । श्रेष्ठले यी सबै क्यामेरामा कैद गरे । 

लगत्तै, फायरिङ सुरु भयो । उनी सुरक्षित स्थानमा फर्कन खोज्दै थिए । ‘त्यही बेलामा मेरो छेउबाट स्वाट्ट गरेर केही गएको जस्तो महसुस भयो । देब्रे पाखुरामा अलिकति झट्का दियो, ज्यान पनि घुमायो,’ उनी सम्झन्छन् । केही पर आएपछि उनलाई पोल्न थाल्यो । यसो हेर्दा रगत बगिरहेको थियो । वरिपरिका युवा कराए, ‘अंकललाई गोली लाग्यो ।’ त्यसपछि मात्र उनले आफूलाई गोली लागेको चाल पाए । 

वरपरका युवाहरूले उनलाई सिभिल अस्पताल पुर्‍याए । अस्पताल पुग्दा भित्रको दृश्य युद्ध मैदानको जस्तो थियो । कोलाहल, डाक्टर र नर्सहरूको कमी अनि दुई/तीन सय जना घाइतेको भीड । सबैतिर रगत नै रगत । उनको पाखुरामा ‘ड्रेसिङ’ गरियो, टिटनेसको सुई दिएर घर पठाइयो । डाक्टर र अफिसले उनलाई पूर्ण रूपमा आराम गर्न भनेका थिए । तर २४ भदौको प्रदर्शनमा उनी चैनसँग बस्न सकेनन् । उनी सम्झन्छन्, ‘म कार्यरत कान्तिपुरको कार्यालय जलाइएको खबर आयो । मलाई आफ्नो घाउले भन्दा त्यो खबरले धेरै पोल्यो ।’

How safe is it to report on protests in Nepal?

उनी हतार–हतार तीनकुनेस्थित कान्तिपुर कार्यालयमा पुगे । त्यहाँ पुग्दा करिब–करिब सबै जलिसकेको थियो । केही साथीसँग मिलेर उनी आगो निभाउनतर्फ लागे । उनले भने, ‘तर गेटबाहिर केही युवा फेरि जलाउन भनेर कुरेर बसिरहेका थिए । प्रदर्शनकारी बारम्बार भित्र छिरेर जलाए । उनीहरूले स्टुडियो र इन्जिनतिर आगो लगाउने प्रयास गरे । तर भाइ, यो नजलाऊ यो घर जल्छ, मेरो पनि निजी साधन जलिसक्यो, यो हाम्रो निजी सम्पत्ति हो भनेर माथि जलाउनबाट जोगाइयो ।’

यसबीचमा, उनलाई पत्रकार महासंघ, प्रेस काउन्सिलजस्ता संस्थाका पदाधिकारीले भेटेर केही आर्थिक सहायता गरे । संस्थाले उपचार खर्च बेहोर्‍यो । तर, रिपोर्टिङमा पत्रकारको सुरक्षामा लापरबाहीले उनलाई पिरोलेको छ ।

पछिल्लो समय मिडियाप्रतिको आक्रोशले गर्दा पनि फिल्डमा खटिन गाह्रो भएको उनी बताउँछन् । ‘हामीले अहिले प्रेसको ज्याकेट लगाउन सक्ने अवस्था पनि छैन । १२ भाइ भनेर भीडले लखेट्छ । यस्तो अवस्थामा हामीलाई हाम्रै पहिचान खुलाउन पनि डरको स्थिति बनेको छ,’ श्यामले भने ।

००००

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६० घटना

२६ कात्तिक २०८१ मा कैलालीमा पत्रकार सुरेश भुलको सामूहिक कुटपिटबाट हत्या भयो । त्यसै वर्ष १५ चैतमा राजावादीको प्रदर्शन रिपोर्टिङकै क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक मारिए । दुई पत्रकारको मृत्यु भएको एक वर्ष नबित्दै २३ भदौको जेन–जी आन्दोलनमा गोली लागेर ४ पत्रकार घाइते भए । शम्भु दंगाल, दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कार्कीलाई रिपोर्टिङका क्रममा गोली लागेको थियो । यी घटनाले नेपालमा पत्रकारको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएको छ । 

रिपोर्टर्स विदआउट बोर्डर (आरएसएफ) को प्रेस स्वतन्त्रता सूचकांकमा पनि नेपालको स्थिति खस्किएको छ । अघिल्लो वर्ष ७४ औं स्थानमा रहेको नेपाल यस वर्ष ९० औं स्थानमा झरेको छ । नेपाल पत्रकार महासंघका अनुसार २०८१ मा मात्रै प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन् । त्यस्तै युनेस्कोले २०२४ मा तयार पारेको प्रतिवेदनले पनि नेपाली पत्रकारहरू थप असुरक्षित बन्दै गएको देखाएको छ ।

युनेस्कोको प्रतिवेदनअनुसार ०६२/६३ को द्वन्द्वकालमा राज्यपक्षबाट धम्की आउने गरेकोमा अहिले राजनीतिक दलका सदस्य र समर्थकबाट आउन थालेको छ । सर्वेक्षणमा सहभागी ५२.६ प्रतिशत पत्रकारले धम्की र दुर्व्यवहारको मुख्य स्रोत राजनीतिक दलका कार्यकर्तालाई औंल्याएका छन् । सरकारी एजेन्सी र सुरक्षा एजेन्सीहरू पनि क्रमशः ३०.१ प्रतिशत र १६.५ प्रतिशतका साथ धम्कीका प्रमुख स्रोतमा छन् ।

युनेस्कोको प्रतिवेदनले स्वतन्त्र पत्रकारहरू सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । उनीहरूमध्ये ६४.४१ प्रतिशतले पछिल्लो एक वर्षमा आक्रमणको सामना गरेका छन् । लैंगिक आधारमा हेर्दा महिला पत्रकारमध्ये ८७.३ प्रतिशतले सुरक्षा चिन्ता व्यक्त गरेका छन् भने पुरुष पत्रकारमा यो दर ८३.९ प्रतिशत छ । भौगोलिक रूपमा मधेश प्रदेशका पत्रकारहरूमा सुरक्षाको चिन्ता सबैभन्दा बढी ९७.६२ प्रतिशत पाइएको छ । प्रतिवेदनले पत्रकारहरूको सुरक्षामा सञ्चार संस्थाहरूको कमजोरीलाई प्रमुख समस्याका रूपमा देखाएको छ । अध्ययनअनुसार ७७ प्रतिशत मिडिया संस्थामा सुरक्षा समस्या र जोखिमको अनुगमन गर्ने कुनै संयन्त्र नै छैन । आरएसएफका नेपाल प्रतिनिधि विनोद ढुंगेलले पत्रकारको सुरक्षाका लागि मिडिया हाउस स्वयं जिम्मेवार हुनुपर्ने बताए । ‘फिल्ड रिपोर्टिङमा गएका पत्रकारलाई कसरी सुरक्षित राख्ने भन्ने मुख्य जिम्मेवारी मिडिया हाउसको हो । उनीहरूलाई ज्ञान, सीप र आवश्यक सामग्री दिने काम मिडिया हाउसले गर्नुपर्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था एजेन्सी फ्रान्स प्रेस (एएफपी) मा कार्यरत पत्रकार पावन माथेमा आफ्नो संस्थाले सुरक्षा सामग्री र तालिम उपलब्ध गराउने गरेको बताउँछिन् । ‘हामीलाई हेलमेट, ज्याकेट, बुलेट प्रुफ ज्याकेट दिइन्छ । बेलाबेलामा शारीरिक सुरक्षाको तालिम हुन्छ । कसरी सुरक्षित भएर रिपोर्टिङ गर्ने भनेर सिकाइन्छ,’ उनले भनिन् ।

राज्य र मानवअधिकार आयोगजस्ता राज्यका संवैधानिक निकायहरू गैरजिम्मेवार बन्दा पत्रकारहरूको सुरक्षामा खतरा आएको मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले बताए । संयुक्त राष्ट्रसंघको कार्य योजनाअनुसार राष्ट्रिय मानवअधिकार आयोगअन्तर्गत पत्रकारको स्वतन्त्रता र सुरक्षासम्बन्धी स्थायी सुरक्षा संयन्त्र स्थापना गरिएको छ । तर संवैधानिक निकायले पत्रकार सुरक्षा र अभिव्यक्ति संरक्षणका लागि खासै काम गरेको पन्त बताउछँछन् । युनेस्कोकी नेपाल प्रतिनिधि निर्जला शर्माले पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्य गर्न संयुक्त राष्ट्रसंघको कार्य योजना लागू गरिए पनि राज्यबाट सहयोनभएको बताइन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको सुरक्षाका लागि बारम्बार कुरा उठाइए पनि राज्यले खासै चासो नदिएको बताए ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully