सार्वजनिक यातायातले अपाङ्गता भएका व्यक्तिलाई चढाउनै चाहदैनन्। सरकारले अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत छुटको सुविधा दिएको छ। तर त्यस्तो सुविधा लिन अझैपनि संघर्ष नै गर्नुपर्छ। केहीले त अपाङ्ग परिचय–पत्र देखाउँदा नक्कली कार्ड देखायो भनेर उल्टै गाली गर्ने गरेको गुनासो छ।
What you should know
काभ्रे — दुवै दृष्टि गुमाएका बनेपाका मिलन विश्वकर्मा सेतो छडीको भरमा हिँडडुल गर्छन् । पैदलभन्दा सार्वजनिक गाडीमा यात्रा गर्न कठिनाइ हुने उनी बताउँछन् । दृष्टिविहिन भएकै कारण सार्वजनिक यातायातले नरोक्ने, कोटा अनुसारको अपाङ्ग सिटको व्यवस्था भए पनि सजिलै नपाइने, सार्वजनिक यातायातमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिलाई सरकारले दिएको ५० प्रतिशत छुट दिन आनाकानी गर्ने जस्ता समस्याले सार्वजनिक यातायातमा यात्रा गर्न असहज हुने उनको अनुभव छ ।
‘अपाङ्ग सिटको कोटा भए पनि सजिलै पाइँदैन, त्यो सिट पहिल्यै प्याक भइसक्यो अर्को गाडीमा आउनु भन्ने गर्छन्,’ उनले भने, ‘हातमा सेतो छडी बोकेको देख्दा देख्दै पनि आफ्नो पहिचान नै देखाउनुपर्ने हुन्छ, तपाईलाई जस्तो समस्या हामीलाई पनि छ भन्ने अमानवीय व्यवहार गरिन्छ ।’
उनका अनुसार, पहिलाको तुलनामा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातले छुट दिन त थालेको छ । तर सबैले दिँदैनन् । ‘सार्वजनिक यातायातमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिलाई सरकारले दिएको ५० प्रतिशत छुटको सुविधा लिन पनि संघर्ष नै गर्नुपर्छ,’ उनले भने, ‘केहीले त अपाङ्ग परिचय–पत्र देखाउँदा नक्कली कार्ड देखायो भनेर उल्टै गाली गर्छन् ।’ दृष्टि नभएकै कारण कयौँ पटक सार्वजनिक यातायातमा दुर्व्यवहार झेल्नुपरेको उनले बताए । उनका अनुसार, अपाङ्गता भएका व्यक्तिले हरेक दिन संघर्ष गरेरै यात्रा गरिरहनुपरेको छ ।
धुलिखेल नगरपालिका–४ का कृष्ण शरण थापा मगर स्पाइनल कर्ड इन्जुरी भएको १२ वर्षपछि पनि सहज यातायात सेवाको पहुँचबाट वञ्चित छन् । मेरुदण्डमा चोट लागेका थापाको दैनिक जीवन ह्विलचेयर र सहयोगी स्वास्थ्य सामग्रीमै निर्भर छ । ‘हाम्रो मुख्य समस्या त हिँडडुल नै हो,’ उनले भने, पिसाब–दिशा कहिले आउने हो थाहा नहुने भएकाले हामीलाई सार्वजनिक यातायातमा यात्रा गर्न कठिनाइ हुन्छ ।’ उनका अनुसार, यसका अलवा सार्वजनिक यातायातमा यात्रा गर्न अनेक समस्या छन् ।
‘छोटो दूरीका लोकल गाडीहरूले हतपत् चढाउँदैनन्,’ थापाले भने, 'हाम्रो ह्विलचेयर छिर्ने ठाउँ नै हुँदैन, गाडी पनि अपाङ्गमैत्री हुदैंन, अपाङ्ग भएकै अमानवीय व्यवहार पनि देखाउँछन् ।’ बनेपा–धुलिखेल–काठमाडौँ रुटका अधिकांश सवारीसाधनले उनलाई चढ्न सहज वातावरण नबनाउने गरेको गुनासो उनले गरे ।
अपाङ्गता भएका नागरिकलाई यातायातमा भाडा छुट दिने कानुनी व्यवस्था भए पनि आफूले टाढाको यात्रामा कुनै सहुलियत नपाएको थापाको भनाइ छ । डोटीकी कल्पना विष्टको अनुभवमा पनि सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको चुनौतीको विषय हो । ११ वर्षअघि गाडी दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी भोगिरहेकी विष्टले सार्वजनिक यातायातमा देखिने विभेद, उपेक्षा र अमानवीय व्यवहार अझै अन्त्य नभएको बताइन् ।
‘कम्मरमुनिको भाग नचल्ने भएकाले हामी आफैँ चढ्न–उतरिन सक्दैनौँ,’ उनले भनिन्, ‘चालक–सहचालकले अपाङ्गता भएको व्यक्ति देख्यो भने गाडी नै रोक्दैनन्, बसमा चढाइ हाले पनि हामीलाई सहयोग गर्न घृणा मान्छन्, अचेल मानवता हराएछ भन्ने लाग्छ ।’
सरकारले तोकेको ५० प्रतिशत भाडा छुटको व्यवस्था कागजमै सीमित रहेको उनले बताइन् । ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई छुट पाउन निकै गाह्रो छ,’ उनले भनिन्, ‘कतिपय ठाउँमा त हामीले अझै बढी तिर्नुपर्छ ।’ अपाङ्गता कार्ड देखाउँदा पनि विभिन्न झन्झटिला कागजात माग्ने गरेको अनुभव उनले सुनाइन् ।
‘सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिका लागि व्यवस्था गरिएको छुट्टै सिटको दुरुपयोग भइरहेको छ,’ उनले भनिन्, ‘अपाङ्गता सिटमा अरू नै बसेको देखिन्छ, धेरैले त्यस्ता सिट छोड्दैनन्, अपाङ्गता भएको व्यक्तिलाई देखे पनि नदेखे झैँ व्यवहार गर्छन् ।’
काभ्रेको पाँचखाल स्थित बालुवाकी सुभद्रा चौलागाईँलाई सार्वजनिक यातायातमा यात्रा गर्न निकै झन्झटिलो लाग्छ । उनी कान सुन्दिनन् र बोल्न पनि सक्दिनन् । इशारामा सञ्चार गर्नुपर्छ । उनको सांकेतिक भाषा सबैले बुझ्दैनन् । आफ्नो भाषा नबुझ्दा कयौँ पटक आफू बसबाट झर्ने स्थानबाट अर्को स्थानमा पुर्याइदिएको अनुभव उनले सुनाइन् । बोल्न र सुन्न नसक्ने हुनाले सार्वजनिक यातायातमा एक्लै यात्रा गर्नुपर्दा, भाषा नबुझ्दा झनै समस्या हुने उनको अनुभव छ ।
बोल्न र सुन्न नसक्ने भएकाले उनीसँग अपाङ्ग परिचय–पत्र छ । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्गता परिचय–पत्र भएकालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ । सो व्यवस्था अनुसार, सार्वजनिक यातायातमा छुट नपाएको उनले गुनासो गरिन् ।
पाँचखालदेखि बनेपासम्म आउने जाने गर्दा बसमा अपाङ्गता परिचय–पत्र पनि देखाउँदा ५० प्रतिशत छुट नदिएको समस्या उनले सुनाइन् । गत वर्ष पाँचखालबाट बनेपा आउँदा सार्वजनिक यातायातमा आफूमाथि भएको दुर्व्यवहार सुनाइन्, ‘अपाङ्गता परिचयपत्रबाट ५० प्रतिशत छुट कटाएर पाँचखालदेखि बनेपासम्मको गाडी भाडा दिएको थिए, गाडीको सह–चालकले अपाङ्गता परिचय–पत्रको मान्यता नहुने भन्दै विवाद गर्न थाल्यो, आफूले सह–चालकलाई दिएको पैसाले केराघारीसम्म पुगिने रहेछ, विवाद गर्दा गर्दै सह–चालकले केराघारीमै झारिदियो, धेरैसँग सहयोग मागे, कसैले सहयोग गरेनन्, साथमा एक वर्षको छोरा पनि थियो, साथमा एक वर्षको छोरा पनि थियो, लामो समय कुरेर अर्को बस चढेर बनेपा आउनुपरेको थियो ।’
बसमा ५० प्रतिशत छुट नदिनु मात्रै नभएर, अपाङ्गता भएकाहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्न धेरै समस्या भएको बनेपा–४, नालाकी रेखी राईले बताइन् । उनका अनुसार, दुर्व्यवहार सहेरै बहिरा महिलाहरू यात्रा गर्न बाध्य भएका छन् । आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘केही समय अघि नालाबाट बनेपा बसमा आउँदै थिए, बसको सह–चालकले मेरो शरीरको पछाडिको भागमा छुनुभयो, त्यसको प्रतिकार गर्न खोजे, आफूमाथि भएको दुर्व्यवहार सांकेतिक भाषामा बसमा भएका सबैलाई भने, तर मेरो कुरा कसैले सुनेनन्, उल्टै सह–चालकलाई कुटेको आरोप लगाइयो, सह–चालकलाई कुटेको भन्दै उल्टै बसमा भएका सबैले गाली गरे, कसैले सहयोग गरेनन् ।’
अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ । ऐनले ५० प्रतिशत छुटको व्यवस्था गरे पनि ४५ प्रतिशत मात्रै छुट दिइएको नेपाल अपाङ्ग महिला संघ काभ्रेकी अध्यक्ष राम प्यारी पोटे अवालेले बताइन् ।
उनका अनुसार, तुलनात्मक रूपमा सार्वजनिक यातायातले छुट दिइएको अवस्था भए पनि यो सहरी क्षेत्रमा मात्रै कार्यान्वयन भएको पाइन्छ । ग्रामीण क्षेत्रमा गुड्ने अधिकांश सार्वजनिक सवारी साधनले अपाङ्गता परिचय–पत्र भएका व्यक्तिलाई छुटको व्यवस्था नदिएको धेरै गुनासोहरू आइरहेको उनले बताइन् । उनका अनुसार, अपाङ्गता भएका व्यक्तिले आरक्षण सिट सहजै पाउने अवस्था छैन । यस विषयमा सम्बन्धित सरोकारवाला निकायसँग छलफल गर्न आवश्यक रहेको उनले बताइन् ।
सार्वजनिक यातायातले अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत छुट दिनुको साथै आरक्षण सिटमा पहिलो प्राथमिकतामा राखिएको सिन्धु हेलम्बु यातायात प्रा.लिका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा दिइने सुविधामा तुलनात्मक रूपमा सुधार गर्दै गएको अवस्था छ ।
‘यदि हाम्रा यातायात व्यवसायीबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवा सुविधामा कुनै त्रुटि भएको पाइएमा हामीले तत्कालै सुधार गर्नेछौँ,’ उनले भने, ‘यस विषयमा हामीले यातायात व्यवसायी, चालक, सह–चालकहरूलाई सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ ।’
धुलिखेल – काठमाडौँ रुटमा सञ्चालन हुदैं आएको काभ्रे बस प्रा.लिका अध्यक्ष वर्ण शाक्यले अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा छुट नदिने, गाडी नरोकेर जाने तथा सहचालकले दुर्व्यवहार गर्ने गुनासोलाई काभ्रे बस व्यवसायी संघका अध्यक्ष बर्ण शाक्यले सत्य नभएको बताए । शाक्यले धुलिखेल – काठमाडौँ रुटमा चल्ने गाडीहरूले अपाङ्गता भएका यात्रुका लागि विशेष सिट तथा छुटको व्यवस्था गर्दै आएको दाबी गरे । ‘हामीले छुट नदिने वा गाडी नरोकिदिने जस्ता घटना हुँदैन, ’ उनले भने ।
अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाई टिकटमा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था भएको मानव अधिकारकर्मी कृष्ण प्यारी नकर्मीले बताइन् । उनका अनुसार, ऐनमा अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्गन गरेमा वा निजप्रतिको दायित्व पूरा नगरेमा सम्बद्ध व्यक्तिलाई ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । यातायात व्यवसायीले ऐन, कानुन र सेवा सुविधा बारेमा सवारी चालक तथा सह–चालकलाई जानकारी गराउन आवश्यक रहेको उनले बताइन् । यसका साथै यस विषयमा सम्बन्धित सरोकारवाला निकायले अनुगमन गर्न आग्रह गरिन् ।
सार्वजनिक यातायातमा हुने दुर्व्यवहारका विषयमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको अधिकारकर्मी नकर्मीले बताइन् । उनका अनुसार, सुरक्षित यात्रा गराउने प्रमुख जिम्मेवारी भनेको यातायात व्यवसायी, चालक, सह–चालक अनि यात्रीको पनि हो । ‘कोही व्यक्तिमाथि गलत क्रियाकलाप गर्नुहुदैंन भन्ने बारेमा त सर्वप्रथम आफू नै सचेत हुनुपर्छ,’ उनले भनिन्, ‘यदि यस्तो क्रियाकलाप भएको देखेमा पीडितलाई सहयोग गर्नुपर्छ, कारबाहीका लागि आवाज उठाउनुपर्छ ।’
