पृथ्वीकुमार अग्रवालले दुई वर्षदेखि बााडिरहेका छन् कोशी अस्पतालका दुई सयभन्दा बढी कुरुवालाई निःशुल्क खाना
What you should know
विराटनगर — विराटनगरको कोशी अस्पतालको अस्तव्यस्त भीड छिचोल्दै उर्लाबारीका सञ्जय दर्जी एउटा त्रिपाल टाँगिएको ठाउँतिर लाग्छन् । त्यहाँ बाँडिरहेको निःशुल्क खाना पाएपछि नजिकैको मेचमा बस्छन् र कपाकप खान थाल्छन् । पेटभरि खाएपछि उनी फेरि आईसीयूमा उपचाररत मामा टंक दर्जीको रेखदेखमा फर्किन्छन् ।
सञ्जयका लागि यो एक छाकको खाना दैनिक चिन्तामाथिको ठूलो राहत हो । ‘अहिलेको समयमा पैसाबिनै भात पाउनु हामीजस्ताका लागि ठूलो कुरा हो,’ उनी कृतज्ञ हुँदै भन्छन्, ‘जसले यो सेवा गरिरहेको छ, महान् छ ।’
यिनै सञ्जयजस्ता विपन्न कुरुवाहरूका लागि २ वर्षदेखि कोशी अस्पताल परिसरमा निःशुल्क खाना बाँडिँदै आएको छ । यो कार्यको अगुवाइ विराटनगर–१० तीनटोलियाका परोपकारी नागरिक पृथ्वीकुमार अग्रवालले गर्दै आएका छन् ।
अग्रवालले २०८० असोज २८ देखि अस्पतालमा उपचाररत बिरामीका कुरुवा र आवश्यक परे स्वयं बिरामीलाई पनि दैनिक एक छाक शुद्ध, सादा र मिठो भोजन उपलब्ध गराउँदै आएका छन् । उनको पहलमा स्थापित सामाजिक संस्था ‘नरसेवा नारायण सेवा’ का सदस्यहरू हरेक बिहान जुटेर यो सेवालाई निरन्तर चलाएको २ वर्ष पुगिसकेको छ ।
‘केही वर्षअघि जब कोशी अस्पताल पुगें, अस्पतालको आँगनमा भेटिएका कुरुवाहरूको पीडाले मन छोयो,’ अग्रवाल सुनाउँछन्, ‘कतिसँग उपचार खर्च थिएन । कतिसँग खाना खाने पैसा पनि थिएन । त्यसपछि विपन्न परिवारलाई निःशुल्क खाना खुवाउने संकल्प गरें ।’
कोशी अस्पतालपूर्वका धेरै विपन्न परिवारहरूको उपचार केन्द्र हो । मोरङका रंगेली, ग्रामथान, रतुवामाईदेखि सुनसरीका बर्जॅ, हरिनगरलगायत टाढा–टाढाका बस्तीबाट आउने बिरामी र कुरुवालाई एक छाक खानासमेत जुटाउन मुस्किल पर्छ । अग्रवाल भन्छन्, ‘एक छाक भोजनले उनीहरूलाई सानो भए पनि राहत मिल्छ भन्ने सोचें । अहिले दुई वर्षमा डेढ लाखभन्दा बढी बिरामी र कुरुवालाई भोजन खुवाइसकेछौं ।’
दैनिक अढाई सयदेखि २ सय ६० जनासम्मका लागि अग्रवालकै भान्सा (रसोई) मा खाना पाक्छ । करिब २५ किलो चामल, ६०–७० किलो तरकारी तयार पारिन्छ । जसका लागि हरेक दिन करिब ११ हजार रुपैयाँ खर्च लाग्छ । त्यहाँ पाकेको खाना गाडीमा राखेर अस्पताल परिसरमा पुर्याइन्छ । उनी भन्छन्, ‘कसैसँग माग्दैनौं । मनकारीहरूले सहयोग गरे थाप्छौं ।’
त्रिपालमुनि पाइने त्यो तातो र ताजा खाना भीडभाड र तनावबीचका कुरुवाहरूका लागि खाना मात्रै होइन, मानवताको मिठो स्वाद पनि हो । अग्रवालले सुरु गरेको यो ‘मनको रसोई’ कोशी अस्पतालमा आज आशा र सहाराको परिचय बनेको छ ।
