कार्यदलमा वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघ र वैदेशिक रोजगार अभिमुखीकरण महासंघको अध्यक्ष र प्रतिनिधि रहनेछन् ।
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत समस्या सम्बोधन गर्न त्रिपक्षीय सहभागिताको कार्यदल बनाउने भएको छ ।
‘वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रियामा छ । ऐनले म्यानपावर कम्पनी, स्वास्थ्य संस्था र अभिमुखीकरण तालिम केन्द्रलाई आआफ्नो भूमिकासहित अस्तित्व स्वीकार गरेको छ । जसले गर्दा सबैले एकको अस्तित्व अर्काले स्वीकार गर्नुपर्छ,’ श्रम मन्त्रालयका आयोजित सरोकारवालाको बैठकमा श्रमसचिव कृष्णहरि पुष्करले भने, ‘मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति र भर्ना प्रक्रियाका विषयमा सरोकार पक्ष स्पष्ट छैन । यसलाई स्पष्ट पार्न कार्यदल बनाइनेछ ।’
उनले वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघ र वैदेशिक रोजगार अभिमुखीकरण महासंघको अध्यक्ष र प्रतिनिधि रहने कार्यदल बनाइने बताए । ‘यो कार्यदलले बढीमा दुई साताभित्र आफ्नो सरोकार विषयलाई सम्बोधन गरेर प्रतिवेदन दिनुपर्छ । यसको आधारमा प्रधानमन्त्रीसँग छलफल गरेर नीतिगत निर्णय लिइनेछ,’ उनले भने ।
श्रमको विषयलाई प्रधानमन्त्रीबाट निकै प्राथमिकता दिइएको पनि उनले बताए । ‘अहिले श्रम मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीबाटै भइरहेको छ । उहाँले श्रमको विषयलाई निकै गम्भीरतापूर्वक लिनुभएको छ । पछिल्लो स्वास्थ्य संस्थाको लागि लागू गरिएको मापदण्ड, स्वास्थ्य परीक्षणको विस्तार र नयाँ शुल्कको विषयमा जानकार हुनुहुन्छ,’ उनले भने,‘प्रधानमन्त्रीलाई जानकारी नदिई श्रमको कुनै विषय पनि अगाडि बढ्दैन ।’
श्रम सचिव पुष्करले म्यानपावर व्यवसायीले उठाइरहेको सेवा शुल्क तोक्ने विषयमा मन्त्रालयले आन्तरीक गृहकार्य गरिरहेको बताए । ‘सेवा शुल्क निर्धारण गर्न जरुरी छ । यसलाई सधैं पन्छाएर हुँदैन । तर यो पारदर्शी हुनुपर्छ,’ उनले भने,‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई कमभन्दा कम आर्थिक भार पार्न सस्तो ब्याजदरमा ऋण प्रवाह गर्नुपर्छ भन्नेमा छौं । सहुलियत ऋण दिने विषय अन्तिमतिर पुगेको छ ।’
उनले वैदेशिक रोजगारको क्षेत्रमा कुनै पनि खालको एकाधिकार हुने नीतिगत विषय स्वीकार नहुने भन्दै प्रस्ट पारेका छन् । ‘हामी एकाधिकारको पक्षमा छैनौं । यो गर्न दिदैनौं,’ उनले भने । श्रम मन्त्रालयले हालै मलेसियाले निर्धारण गरेको म्यानपावरको मापदण्डलाई अस्वीकार गरेको थियो । त्यसको जवाफ मलेसियाले पठाएको छैन ।
