महिनावारीको सास्ती : असुरक्षामा किशोरीहरू

२०६३ सालयता मात्रै छाउगोठमा अछाममा २० जना महिला तथा किशोरी, डोटीमा २, बाजुरामा ३, कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २६ जनाको मृत्यु भइसकेको छ।

मंसिर १५, २०८२

मेनुका ढुंगाना

What you should know

अछाम — मंगलसेन नगरपालिका–११, खिमाडाका किशोरीहरूले हरेक महिनाका केही दिन पीडादायी बन्ने गरेको अनुभव सुनाउँछन्। किनभने महिनावारीका बेला छाउगोठमा बस्नैपर्ने परम्पराका कारण उनीहरूले अप्ठ्यारो खेप्नुपरेको साझा अनुभव छ।

महिनावारी हुँदा बाटोमा हिँड्न नपाउने, सार्वजनिक धारामा नुहाउन नपाउने समस्या मात्रै होइन, चिसो महिनामा छाउगोठमा बस्दा कठ्यांग्रिनुपर्ने दुखेसो पनि उनीहरूले सुनाए। सात दिनसम्म छाउगोठमा धुने लुगा समयमै नसुक्ने र त्यसकै कारण विद्यालय छुट्ने गरेको उनीहरूको भनाइ छ। मंगलसेन नगरपालिका–११ की एसिका भण्डारीले महिनावारी भएको बेला आफूहरूलाई शौचालय प्रयोग गर्न नदिने भएकाले जंगल जानुपर्ने बाध्यता रहेको बताइन्। भनिन्, ‘वर्षामा हिँड्न मिल्ने बाटो नभई फरक बाटो हिँड्दा सर्पको डर हुन्छ। पढ्नका लागि उज्यालो पनि हुँदैन।’

उनीले साघुँरो र अध्यारो छाउगोठको अनुभव सुनाउँदै भनिन्, ‘छाउपडी गोठमा झ्याल पनि छैन। जाडो धेरै हुन्छ। आगो बाल्नुपर्छ। जाडो महिनामा धेरै गाह्रो हुन्छ।’ घरदेखि केही टाढा र एकान्तमा हुने छाउगोठ सुरक्षित नरहेको र कहिलेकाहीँ मदिरा सेवन गरेका मानिसहरू आएर सताउने गरेको अनुभव पनि छाउगोठ बस्न बाध्य किशोरीहरूको छ। एसिकाले सुनाइन्, ‘छाउगोठमा बस्दा बलात्कार भएका घटना धेरै सुन्छौँ। कतै त्यो अवस्था आफैंले भोग्नु पर्ने हो कि जस्तो लाग्छ।’ उनले सँगै बस्ने साथी भएकाले बेला–बेला डर नलागे पनि महिनावारी हुँदा गोठमा एक्लै बस्नुपर्दा आफू धेरैपटक रोएको अनुभव सुनाइन्।

महिनावारीमा छाउगोठमा बस्नुपर्ने अप्ठ्यारोसँग जुधिरहेकी खिमाडाकै स्वस्तिका भण्डारीले गोठमा बस्दा सबैभन्दा धेरै पढाइ प्रभावित हुने बताइन्। ‘पढ्नुपर्ने समयमा हामीले सात–सात दिनसम्म गोठमा बस्नुपरेको छ। पढाइको नतिजा राम्रो नआएपछि छोरीलाई पढाएर के काम? हाम्रो लगानी डुब्यो भनेर मानसिक तनाव दिन्छन्,’ स्वस्तिकाले सुनाइन्। ‘बत्ती नभएको, चुकुल नभएको, झ्याल नभएको गोठमा अहिले पनि बस्नुपरेको छ। हामीले पढ्न पाएका छैनौँ।’ उनले वर्षायाममा गोठ भत्किएर मर्छौँ कि भन्ने डर हुने र जाडोयाममा आगो बाल्दा झ्याल नभएकाले निसासिएर मर्छौँ कि भन्ने त्रास हुने अनुभव सुनाइन्।

नेताहरू चुनावको बेला मत माग्न घर–घर धाउँछन् तर छाउपडी कुप्रथाबारे नबोल्ने गरेको स्वस्तिका बताउँछिन्। सदरमुकामभित्र पर्ने वडा भए पनि अहिलेसम्म कसैको ध्यान नपुगेको उनको भनाइ छ। ‘छुवाछुतको धेरै भेदभाव गर्छन्। हामी छोरी भएर जन्मनु नै अपराध हो र? हामी कहिलेसम्म गोठमा यातना सहेर बस्ने?’ स्वस्तिकाले भनिन्।

गृह मन्त्रालयको आदेशमा गोठ भत्काउने अभियान सुरु गरिए पनि प्रहरीसँग सुदूरपश्चिममा कहाँ कति छाउगोठ छन्, कति भत्काइए र भत्काइएका फेरि कति बने भन्ने एकिन तथ्यांक छैन। २०६३ सालयता मात्रै छाउगोठमा अछाममा २० जना महिला तथा किशोरी, डोटीमा २, बाजुरामा ३, कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २६ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचारहरु 

किन चलिरहेछ छाउगोठमा मृत्यु शृंखला ? ७ प्रश्नोत्तरमा बुझ्नुहोस्

सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

मेनुका ढुंगाना

Link copied successfully