प्रहरीले सीईओ शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको छ ।
काठमाडौँ — प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो ।
उनलाई प्रहरीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको हो । राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको छ । सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुका नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको...।'
सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
– अद्यावधिक गरिएको ।
