पूर्वपश्चिम राजमार्ग अन्तरगत कर्णाली नदीको चिसापानीस्थित पुलमा एउटा मात्रै टावर र केबल छ । दुई वटा टावर र केबल राखेर नेपालमा बन्न लागेको यो पहिलो पुल हो । पुलकाे दुई तर्फ २२० मिटरकाे दुरीमा राखिने टावरकाे बीचबाट पानीजहाज पनि ओहरदोहर हुनेछ ।
What you should know
चितवन — तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ वैशाख अन्तिममा धुमधामले शिलान्यास गरेको नारायणगढस्थित नारायणी नदीमा बन्ने ‘आइकोनिक ब्रिज’ को काम बल्ल सुरु भएको छ ।
चार वर्षमा काम सक्ने गरेर पुल निर्माणका लागि २०८० जेठ ९ गते निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनसँग पुलको डिजाइनसहित निर्माणको सम्झौता भएको थियो । एक वर्षभित्र डिजाइन स्वीकृत गरेर बाँकी तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि गत कात्तिक १८ मा मात्रै डिजाइन स्वीकृत भएको थियो ।
सम्झौता अनुसार २०८१ जेठमा हुनुपर्ने डिजाइन स्वीकृतिको काममा ढिलाइ भएपछि पुल निर्माणको अवधि लम्बिने भएको छ । ‘हामीले फिल्डको काम सुरु गरेका छौं । डिजाइन स्वीकृति हुन समय लागेका कारण डेढ वर्ष त थप समय लाग्ने भयो,’ निर्माण कम्पनी तुँदीका प्रोजेक्ट म्यानेजर इन्जिनियर मन्जिल मिश्रले भने ।
भरतपुरस्थित डिभिजन सडक कार्यालयको निगरानीमा पुल निर्माण हुने छ । ‘पुल निर्माणको काम सुरु भएको छ । लगातार काम गरेर समयमा सक्न हामीले जोड दिने छौं,’ डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले भने ।
तुँदीका प्रोजेक्ट म्यानेजर मिश्रले सम्झौता अनुसार ९० दिनभित्र पुलको प्रारम्भिक खाका तयार गर्ने र नौ महिनाभित्र डिजाइन पूरा गर्ने काम समयमै सम्पन्न गरेको बताए । त्यसको तीन महिनाभित्र सरकारले डिजाइन स्वीकृत गर्नुपर्नेमा पहिला तयार गरेको डिजाइन स्वीकृत नभएपछि अर्को डिजाइन बनाउनु परेको मिश्रले बताए ।
दोस्रो डिजाइन स्वीकृति भएपछि बल्ल काम सुरु गरेको मिश्रले बताए । ‘गत वर्षको असोजमा आएको बाढीले पनि डिजाइन परिवर्तन गर्नुपर्ने देखियो । पुलको टावरको उचाइ ५३ मिटर हुन्छ । नागरिक उड्यन प्राधिकरण र एयरपोर्टले पनि यसको स्वीकृति दिनु पर्छ,’ मिश्रले भने ।
नारायणीको उक्त नयाँ पुलमूनि पानीजहाज पनि चलाउन मिल्ने गरेर बनाइदै छ । ‘नेपालमा अहिलेसम्म यसको अभ्यास थिएन । भारत र बंगलादेशको आधार लिएर दुई हजार टनसम्मको पानीजहाज चलाउन मिल्ने गरेर डिजाइन तयार गरेका छौं,’ मिश्रले भने । यो पुलको तलबाट वर्षमा ३३० दिन जल यातायात चलाउन मिल्ने छ ।
बर्खामा पनि पुल र पानीको सतह बीच १० मिटर खुला ठाउँ रहने छ । नारायणी नदीको हालको पुलभन्दा नौ मिटर माथिबाट नयाँ पुल बन्न लागेको हो । पुरानो भन्दा नयाँ पुल झण्डै साढे दुई मिटर अग्लो हुने छ । पुलको कुल लम्बाइ ४२० मिटर छ । १२ मिटर चौडाइको पुलमा साढे सात मिटर गाडी गुड्ने भाग रहने छ । त्यसैगरी तीन मिटरमा फुटपाथ बन्ने छ । पुलको कुल लागत १ अर्ब ६८ करोड रुपैयाँ छ । पुलको दुई तर्फ रहने टावरले केबलहरुको मद्दतले पुललाई स्थिर बनाउने छ । यी दुई ठूला टावर बीच २२० मिटर दुरी रहने छ । त्यहीबाट पानीजहाज ओहरदोहर गर्न सहज हुने प्राविधिकहरुले बताए ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको कर्णाली नदीको चिसापानीमा रहेको पुलमा एउटा मात्रै टावर र केबल छ । त्यसपछि दुई वटा टावर र केबल राखेर नेपालमा बन्न लागेको पुल यो नै पहिलो हो । ‘हुन त यसलाई सिग्नेचर ब्रिज पनि भन्ने गरेका छन् । तर यो आइकोनिक ब्रिज हो,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मिश्रले भने ।
नारायणगढस्थित नारायणी नदीमा बनेको हालको पुलको सिलान्यास २०३८ सालमा भएको थियो । झण्डै चार वर्ष लगाएर बनेको उक्त पुल हाल पुरानो र साँघुरो हुँदै गएको छ ।
पूर्वपश्चिम राजमार्ग फराकिलो बन्दै गए पनि सडक अनुसार पुल चौडा नहुँदा गाडी वारपार हुन असहज हुने गरेको छ । पुरानो पुलको विकल्पमा छिटोछिटो नयाँ पुल बनाउनु पर्नेमा डिजाइनमै समय लाग्दा काममा पनि ढिलाइ हुने संशय बढेको छ । ‘डिजाइन स्वीकृति भए काम सुरु गरौंला भन्दै हामीले १७ जना कर्मचारी दुई वर्षअघि नै फिल्डमा राखेका थियौं । तीन वर्षभित्र फिल्डको काम सक्ने विषयमा हामीबाट अब बिलम्ब हुँदैन,’ मिश्रले भने ।
