एनपीएलमा सट्टेबाजी गर्ने र खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा १० पक्राउ

फिक्सिङका आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल गर्ने गतिविधिबारे प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीले निगरानी गर्ने गरेका छन् ।

मंसिर १४, २०८२

किरण पौडेल

10 arrested for betting on NPL and offering spot-fixing to players

What you should know

काठमाडौँ — काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा सट्टेबाजी गर्ने र खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका १० मध्य ९ जना भारतीय हुन् । प्रहरी अनुसन्धानमा उनीहरु सट्टेबाजी गराउनकै लागि भारतबाट आएकोसमेत खुलेको छ ।

एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरेर अनुचित प्रभाव पार्न खोजेको आरोपमा प्रहरीले मंसिर ३ मा एक नेपाली र एक भारतीयलाई पक्राउ गरेको थियो । स्पट फिक्सिङका लागि खेलाडीलाई १ करोड रूपैयाँसम्मको प्रस्ताव गरेको देखिएपछि भारतको हरियाणाका दिलप्रित सिंह र नेपाली युवती रेविकासिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

त्यसैगरी प्रत्येक बलको आधारमा ‘बेटिङ’ अर्थात् सट्टेबाजी चलाइरहेको आरोपमा ८ जना भारतीय मंसिर ६ गते पक्राउ परे । पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश घर भइ अहिले काठमाडौं बस्दै आएका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार, सेख चन्द बसल हुन् ।उनीहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटबाट प्रकाउ परेका  थिए । उनीहरूले ‘स्टेक डटकम’ र ‘बेटबुक डटकम’ जस्ता वेबसाइटमार्फत झन्डै २ करोड ५ लाख रूपैयाँ बराबरको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।10 arrested for betting on NPL and offering spot-fixing to players

फिक्सिङका आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल गर्ने गतिविधिबारे प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीले निगरानी गर्ने गरेका छन् । नेपाल प्रहरीले अहिले पनि सट्टेबाजी लगाउनेहरुको निगरानी गरिरहेको छ । तर पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले प्राविधिक अपराध अनुसन्धानमा सरकारले अझै पर्याप्त लगानी गर्न नसकेको बताए । उनले भने, 'साइबर क्राइमको जसरी दायार बढलै छ त्यसलाई सम्बोधन गर्न सरकार चुकीरहेको छ ।'

एनपीएल सुरू भएकै दिन खेलाडीलाई अवैध प्रस्ताव र समूहगत रूपमै बेटिङ्कका लागि भारतबाट सट्टेबाजहरू आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खेलाडीलाई प्रलोभनमा पारेर सट्टेबाजीका लागि प्रयोग गर्ने माध्यमबारे पनि अनुसन्धान भइरहेको छ ।

सट्टेबाजी गर्ने र खेलाडीलाई स्पट फिक्सिङको प्रयास गर्ने कुरा नेपालका निम्ती नयाँ भने होइन् । २०७२ मा नेपालका फुटबल खेलाडीमाथि पनि म्याच फिक्सिङको आरोप लागेको थियो । २७ असोज २०७२ मा तत्कालीन महानगरीय अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फिक्सिङ गरेको आरोपमा राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्रीसहितका खेलाडीलाई पक्राउ गरेको थियो । नेपालले सन् २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानाजान हारेको भेटिएको प्रहरीको अभियोग थियो । प्रहरीसँग उनीहरूले कसुर स्विकारे पनि अदालतमा इन्कारी बयान दिएका थिए । पछि उनीहरूले पनि अदालतबाट सफाइ पाए ।

सम्बन्धित समाचार 

एनपीएलमा ‘स्पट फिक्सिङ’ र ‘बेटिङ’ को आरोपमा ९ पक्राउ

किरण किरण कान्तिपुर टेलिभिनजनका संवाददाता हुन् ।

Link copied successfully