बुद्ध एयर पोखरा कार्यालयका अनुसार विमानसँग ठोक्किएको चरा गिद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
काठमाडौँ — बुद्ध एयरको काठमाडौं–पोखरा उडान (फ्लाइट नम्बर ६१७) शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ ।
बुद्ध एयर पोखरा कार्यालयका अनुसार विमानसँग ठोक्किएको चरा गिद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अल्फा–ओस्कर–चार्ली कलसाइन रहेको एटीआर–७२ विमान धावनमार्गको पूर्वी भाग रनवे १२ बाट अवतरण गर्दै गर्दा गिद्द ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको छ ।
विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।
विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुनः उडानयोग्य बन्नेछ ।
पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाअघि पनि पोखराबाट काठमाडौंका लागि टेकअफ गरेको बुद्ध एयरको एटीआर विमान गिद्दसँग ठोक्किएपछि पुनः धावनमार्गमै फर्किएको थियो ।
नेपालका विमानस्थलमध्ये पोखरा विमानस्थल चराको अत्यधिक गतिविधि हुने सूचीमा पर्छ ।
