जसले बाँडिरहेका छन् अस्पतालका कुरुवालाई निःशुल्क खाना

पृथ्वीकुमार अग्रवालले सुरु गरेको यो ‘मनको रसोई’ आज कोशी अस्पतालमा आशा र सहाराको नाम बनेको छ ।

मंसिर १२, २०८२

पर्वत पोर्तेल

Those who are distributing free food to hospital workers

What you should know

विराटनगर — विराटनगरको कोशी अस्पतालको अस्तव्यस्त भीड छिचोल्दै उर्लाबारीका सञ्जय दर्जी एउटा त्रिपाल टाँगिएको ठाउँतिर लाग्छन् । त्यहाँ बाँडिरहेको निःशुल्क खाना पाएपछि नजिकैको मेचमा बस्छन् र कपाकप खान थाल्छन् । पेटभरि खाएपछि उनी फेरि आईसीयूमा उपचाररत मामा टंक दर्जीको रेखदेखमा फर्किन्छन् ।

सञ्जयका लागि यो एक छाकको खाना दैनिक चिन्तामाथिको ठूलो राहत हो । ‘अहिलेको समयमा पैसाबिनै भात पाउनु हामीजस्ताका लागि ठूलो कुरा हो,’ उनी कृतज्ञ हुँदै भन्छन्,‘जसले यो सेवा गरिरहेको छ, महान छ ।’ 

यिनै सञ्जयजस्ता विपन्न कुरुवाहरूका लागि २ वर्षदेखि कोशी अस्पताल परिसरमा निःशुल्क खाना बाँडिँदै आएको छ । यो कार्यको अगुवाइ विराटनगर–१० तीनटोलियाका परोपकारी नागरिक पृथ्वीकुमार अग्रवालले गर्दै आएका छन् । 

Those who are distributing free food to hospital workers

अग्रवालले २०८० असोज २८ देखि अस्पतालमा उपचाररत बिरामीका कुरुवा र आवश्यक परे स्वयं बिरामीलाई पनि दैनिक एक छाक शुद्ध, सादा र मिठो भोजन उपलब्ध गराउँदै आएका छन् । उनको पहलमा स्थापित सामाजिक संस्था ‘नरसेवा नारायण सेवा’ का सदस्यहरू हरेक बिहान जुटेर यो सेवालाई निरन्तर चलाएको २ वर्ष पुगिसकेको छ ।

‘केही वर्षअघि जब म कोशी अस्पताल पुगेँ, अस्पतालको आँगनमा भेटिएका कुरुवाहरूको पीडाले मन छोयो,’ अग्रवाल सुनाउँछन्, ‘कतिसँग उपचार खर्च थिएन । कतिसँग खाना खाने पैसा पनि थिएन ।  त्यसपछि विपन्न परिवारलाई निःशुल्क खाना खुवाउने संकल्प गरेँ ।’

कोशी अस्पताल पूर्वका धेरै विपन्न परिवारहरूको उपचार केन्द्र हो । मोरङका रंगेली, ग्रामथान, रतुवामाईदेखि सुनसरीका वर्जु, हरिनगरलगायत टाढा–टाढाका बस्तीबाट आउने बिरामी र कुरुवालाई एक छाक खानासमेत जुटाउन मुस्किल पर्छ । अग्रवाल भन्छन्, ‘एक छाक भोजनले उनीहरूलाई सानो भए पनि राहत मिल्छ भन्ने सोचेँ । अहिले दुई वर्षमा डेढ लाखभन्दा बढी बिरामी र कुरुवालाई भोजन खुवाइसकेछौँ ।’

Those who are distributing free food to hospital workersदैनिक अढाई सयदेखि २ सय ६० जनासम्म का लागि अग्रवालकै घरमा खाना पाक्छ । करिब २५ किलो चामल, ६०–७० किलो तरकारी तयार पारिन्छ । जसबापत दिनकै खर्च करिब ११ हजार रूपैयाँ पर्छ । त्यहाँ पाकेको खाना गाडीमा राखेर अस्पताल परिसरमा पुर्‍याइन्छ । उनी भन्छन्, ‘कसैसँग माग्दैनौँ । मनकारीहरूले सहयोग गरे थाप्छौँ ।’ 

Those who are distributing free food to hospital workersत्रिपालमुनि पाइने त्यो तातो साकाहारी खाना भीडभाड र तनावबीचका कुरुवाहरूका लागि खाना मात्रै होइन, मानवताको मिठो स्वाद पनि हो । अग्रवालले सुरु गरेको यो ‘मनको रसोई’ आज कोशी अस्पतालमा आशा र सहाराको नाम बनेको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully