मधेश प्रदेश  सरकार गठन विवादमा शुक्रबार पनि सुनुवाइ जारी 

बिहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।  

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Hearing on Madhesh Province government formation dispute continues on Friday

What you should know

काठमाडौँ — मधेश प्रदेश सरकार गठनविरुद्ध बहुमत सांसदसहितले दर्ता गराएको रिटमा शुक्रबार पनि सुनुवाइ जारी छ । बिहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।  

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेशीमा हिजो रिट निवेदकका तर्फबाट बहस भएको थियो । आज विपक्षी र मुख्यमन्त्री सरोजकुमार यादवका तर्फबाट बहस हुने छ । उनीहरूको बहसपछि रिट निवेदकले जवाफी बहस गर्दै अदालतले फैसला सुनाउने छ ।

सम्भवत: शुक्रबार नै बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ । तर सबै पक्षको बहस नसकिएमा भने आइतबारसम्म हेर्दाहेर्दै राखेर फैसला हुने सर्वोच्च अदालतले जनाएको छ । यसअघि स‌ंयुक्त इजलासले अन्तिम सुनुवाइको मिति तोकेको थियो ।  तत्कालै टुंग्याउनुपर्ने भन्दै सर्वोच्चले प्राथमिकता दिएर पेशी तोकेको थियो ।

मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई दुवै पक्षको बहस हुन लागेको हो ।  प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो ।  

त्यस्तै सर्वोच्चले कात्तिक २३ गते एमालेका सांसद  यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न  आदेश गरेको थियो । त्यसपछि सुनुवाइको पेशी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ । 

एमालेबाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको  थियो।  

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका हुन्।

मधेश प्रदेशमा १ सय ७ जना सांसद छन्। सरकार बनाउन ५४ सांसद बहुमत संख्या हो। एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ हो।

प्रदेश प्रमुखले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिबासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। त्यो नियुक्ति राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालत पनि पुगेको हो।

कान्तिपुर

Link copied successfully