सरकारले निर्णय नगर्दा उपल्लाे डाेल्पाकाे ल्यासीक्याप–सिसौल ३५ किलाेमिटर ट्रयाक खाेल्न ढिलाई

नेपाल, भारत र चीन जोड्ने रणनीतिक सडकको रुपमा रहेको भेरी करिडोरको ल्यासीक्याप–सिसौल खण्डको ३५ किमी ट्रयाक खाेल्नै बाँकी छ भने दुनै–ल्यासीक्याप २५ किलोमिटरमा काम सुस्त भइरहेकाे छ ।

मंसिर १३, २०८२

रामचन्द्र न्यौपाने

Delay in opening of 35-kilometer track between Lasicap and Sisol in Upallo Dolpa due to government's failure to take a decision

What you should know

डोल्पा — डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ २०६५ सालदेखि निर्माण सुरु गरिएकोे भेरी करिडोरले अझै पूर्णता पाउन सकेको छैन् ।

भेरी करिडोर अर्न्तगत पर्ने दुनै–ल्यासीक्याप र ल्यासीक्याप–सिसौल सडक खण्ड निर्माण नभएपछि करिडोरले पूर्णता पाउन नसकेको हो । 

२०७५ मंसिरमा डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । दुनैदेखि सिसौलसम्मको सडक निर्माणकाे काम वर्षौंदेखि अन्योलमा परेको छ । करिडोर अन्तर्गत पर्ने ल्यासीक्याप–सिसौलको ३५ किलाेमिटर ट्रयाक खुलाउन बाँकी छ। ल्यासीक्याप–सिसौल खण्ड हाल गाेरेटाेमा सीमित छ।

उक्त खण्ड भीरपहरायुक्त भएकाले नेपाली सेनालाई जिम्मा दिन यहाँका जनप्रतिनिधिहरुले वर्षौंदेखि पहल गर्दै आएका छन् । सरकारले उक्त सडक खण्ड सेनालाई दिने निर्णय नगर्दा काम अन्योलमा परेको हो । ‘यो खण्ड लामो समयदेखि सेनालाई जिम्मा दिन प्रयास भइरहेको छ । तर, मन्त्रिपरिषद्को निर्णय नहुँदा सेनाले जिम्मा लिन सकेको छैन्‌,’ भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भने ।

उनका अनुसार एक वर्षअघि नै भौतिक पूर्वाधार, गृह हुँदै रक्षा मन्त्रालयले पनि सेनालाई जिम्मा दिने राय मन्त्रिपरिषद्को कार्यालयमा पठाइसके पनि निर्णय नहुँदा ट्रयाक खुलाउने काम सुरु हुन सकेको छैन् । ‘ठूलाठूला भीरपहरा भएकाले याे खण्डमा ब्लाष्टिङ नगरी ट्रयाक खुलाउन सम्भव छैन । त्यसकारण पनि सरकारले छिटो निर्णय गरिदिए सेनाले काम सुरु गर्न सजिलो हुन्थ्यो,’ उनले भने ।

डोल्पाका निवर्तमान सांसद तथा पूर्वमन्त्री धनबहादुर बुढाका अनुसार ल्यासीक्यापदेखि सिसौलसम्मको सडकको ट्रयाक खुलाउने जिम्मा सेनालाई दिन धेरै पहल गरे पनि सुनुवाई नभएको बताए । ‘याे खण्डमा कडा चट्टानी भूबनोट भएकाले पनि सेनाले बाहेक ट्रयाक खुलाउन सहज छैन । सेनाको टोलीले 
अवलोकन गरेर सहमतिसहितको राय बुझ्‌न रक्षा मन्त्रालयमा पठाएकाे पनि दुई वर्ष भइसक्यो  । रक्षा मन्त्रालयले रायसहितकाेपत्र भौतिक पूर्वाधार मन्त्रालयमा पठाइसकेकाे छ । तर, अझै निर्णय भएको छैन्‌,’ बुढाले भने, 'याे खण्डको वातावरणीय प्रभाव मूल्याङ्नको प्रतिवेदन पास गर्नै पाँच वर्ष लाग्यो । धेरै पटक सरकारको ध्यानाकर्षण गरउँदा पनि कतै सुनुवाई भएन ।’  

मोरिम्ला–तिन्जे धोहुँदै सिसौलसम्म ४० किलोमिटरको यसअघि नै ट्रयाक खाेलिसकिएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढा र प्रदेश सांसद तथा पूर्वमन्त्री बीरबहादुर शाहीले बाँकी खण्ड निर्माणको जिम्मा सेनालाई दिन सम्बन्धित सदनमा प्रदेश सरकारको पनि पटक पटक ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्ला नाकासम्म भेरी करिडोर अन्तर्गत पर्छ । छिन्चु–मोरिम्लासम्मको सडकको कुल लम्बाइ ३ सय १७ किलोमिटर छ । जाजरकोटको पासागार्डदेखि दुनैसम्म कुल लम्बाइ १ सय १८ किलोमिटर छ ।

दुनैसम्म सडक पुगेको आठ वर्षमा पनि भेरी करिडोरले पूर्णता पाउन नसक्नुमा राज्यकाे बेवास्ता देखिएकाे नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा बताउँछन् । यो सडक नखुल्दा उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दाले यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सुविधाको उपयोग गर्न नपाएको उनले बताए ।   

दुनै–ल्यासीक्याप २५ किलोमिटरमा काम सुस्त
सदरमुकाम दुनैदेखि काइके गाउँपालिका अन्तर्गत ल्यासीक्यापसम्मको २५ किलोमिटर सडक निर्माणको क्रममा छ । उक्त खण्ड भेरी करिडोर कार्यालयको ११ करोड बजेटबाट निर्माण भईरहेकाे छ । तर, काम भने सुस्त गतिमा भइरहेको काइके गाउँपालिकाका स्थानीयले गुनासाे गरे । कहिले जग्गा विवाद त कहिले बर्खामा काम गर्न नसकिएको बहाना बनाउँदै काममा ढिलाइ गरेकाे स्थानीयकाे गुनासो छ ।

सूर्य/श्रेया/शान्ति जेभी कन्ट्रक्सनले चार वर्षभित्र निर्माण सक्ने जिम्मा लिएको थियो । आउँदाे चैतमा  ठेक्काकाे म्याद सकिँदैछ । भेरी करिडोर कार्यालय जाजरकोटका सवइन्जिनियर मोतीप्रसाद बुढाका अनुसार उक्त खण्डमा ५० प्रतिशत पनि काम भएकाे छैन् ।

निर्माण व्यवसायी धुब्रकुुमार शाहीले चार वर्षभित्र निर्माण कार्य सक्नुपर्ने सम्झौता भएकोमा करिब साढे दुई वर्ष बिस्फोटक पदार्थ खरिदकाे प्रक्रियामै सकिएको बताए । याे खण्डमा अब भीर भएकाे क्षेत्रमा मात्र काम बाँकी रहेकाे उनले बताए । ‘यस बीचमा दुई वटा पाँच सय मिटर र एक किलोमिटरका ठूल्ठूला भीर छन् । हालसम्म सात पटकमात्र बिस्फोट गरिएको छ । बाँकी कामका लागि बिस्फोटक पदार्थ स्टक छ । जतिसक्दो कामकाे गति बढाउने काेशिषमा छाै‌ं,' शाहीले भने ।

कर्णाली प्रदेशमा सञ्चालित भेरी करिडोर रणनैतिक महत्वकाे आयाेजना हाे । याे सडकले चीन र भारतलाई जोड्ने भएकाले ब्यापारिक हिसाबले पनि महत्वपूर्ण रहेकाे छ । याे सडकले पूर्णता पाए डोल्पाकाे उत्पादनले सहजै बजार पाउने र पर्यटकीय गतिविधले बढेर स्थानीयकाे आम्दानीकाे बाटाे खुल्ने छ । शेफोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगार्ड झरना, छार्का भोट, त्रिपुरासुन्दरी मन्दिरमा पर्यटककाे संख्या बढ्ने अपेक्षा स्थानीयकाे छ । 

भेरी करिडोरले पूर्णता नपाउँदा उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ गरेर तीन वटा स्थानीय तहका बासिन्दा आधारभूत सेवाबाटै बञ्चित छन् । सडक नपुग्दा सातादिन हिँडेर सदरमुकाम झर्नुपर्ने बाध्यता छ । उनीहरु शिक्षा, स्वास्थ्य, सडक, विद्युत, सञ्चारलगायतका आधारभूत सेवाबाट समेत बञ्चित हुनुपरेको हो ।

सडक नपुगेकै कारण उपल्लो डोल्पालीले स्वास्थ्य उपचारका सबैभन्दा धेरै समस्या खेप्नुपरेको डोल्पोबुद्ध गाउँपालिकाका युवा पेम्मा छेवाङ् गुरुङले बताए । ‘जिल्ला सदरमुकाम दुनैसम्म सडक पुगेको वर्षौ भयो । तर, उपल्लो डोल्पासम्म सडक निर्माण गर्ने कुनै सुरसार छैन् । जसले गर्दा उपचारमै उपल्लो डोल्पाली लाखौँ खर्च गर्नुपरेकाे छ,’ उनले भने, ‘दुर्घटना र आकस्मिक घटनामा हेलिकप्टर चार्टर गर्न चर्को ब्याजमा ऋण निकाल्नु पर्दा धेरैकाे घरखेत समेत बेचिएको छ । कतिपयले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु गरेको प्रमुख कारण भनेको सडक नपुग्नु नै हो ।’

यससँगै उपल्लो डोल्पाका बासिन्दा सञ्चार र विद्युत सेवाबाट समेत बञ्चित हुनु परेको उनले बताए । सडक नपुगेकै कारण चामल, नुनलगायतका अत्यावश्यक उपभाेग्य बस्तु ढुवानीमा समेत चर्को भाडाकाे मार खेप्नु परेको उपल्लो डोल्पाका बासिन्दाकाे गुनासो छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully