'नक्कली छोरी' बनेर घरजग्गा हडप्ने प्रयास : न्यायका लागि अड्डा अदालत धाउँदै दाजुभाइ

जसरी मनमा पुर्ख्यौली सम्पत्ति गुम्ने चिन्ता थपिरहेको छ, त्यसरी नै झोलामा कागजात बढिरहेका छन् । बाबु र नि:सन्तान काकाको सम्पत्ति आफूले पाउनुपर्ने दाबी गर्दै न्यायका लागि उनीहरू धाउन बाँकी सरकारी अड्डा छैनन् ।

मंसिर १२, २०८२

दीपेन्द्र बडुवाल

Attempt to grab property by posing as 'fake daughter': Brothers rush to court for justice

What you should know

भैरहवा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, का सन्त र लालजित मल्लाहमध्ये एक जनाको पिठ्यूँमा हरपल २० किलोको कालो झोला हुन्छ । मैलो र च्यातिएको झोलाभित्र दाजुभाइले सरकारी कार्यालय र अड्डा अदालतका कागजात जतन गरेका छन् ।

जसरी मनमा पुर्ख्यौली सम्पत्ति गुम्ने चिन्ता थपिरहेको छ, त्यसरी नै झोलामा कागजात बढिरहेका छन् । बाबु र नि:सन्तान काकाको सम्पत्ति आफूले पाउनुपर्ने दाबी गर्दै न्यायका लागि उनीहरू धाउन बाँकी सरकारी अड्डा छैनन् ।  वास्तविक कहानी सुनाउन बाँकी व्यक्ति पनि छैनन् । कथा–व्यथा सुनाउँदासुनाउँदै भाइ सन्त बिरामी परिसके । लालजित लखतरान भइसके ।

दाजुभाइलाई पुर्ख्यौली सम्पत्ति प्राप्त गर्न कानुनी अड्चन छैन । सम्पत्ति नाउँमा आउनेमा दुवै ढुक्क थिए । अचानक काका सुखु मल्लाहको छोरी भएको दाबी गर्दै दुई भारतीय महिला देखा परे । परिवारको दाबीअनुसार सुखु निःसन्तान थिए । सुखुको शेषपछि अदालतको फैसलाबाट सुखुको सम्पत्ति उनका दाइ फौदारका छोराहरू लालजित र सन्तको नाममा गइसकेको छ ।

यसैबीच सरकारी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा भारतीय नागरिक बदल मल्लाहका छोरीहरू मालती र रिखिदेवी मल्लाहले सम्पत्ति हत्याउन खोजेको दाबी लालजित दाजुभाइको छ । मालती र रिखिदेवी आफ्नो दिदीबहिनी नभएको प्रमाण सन्त र लालजितले जिल्ला प्रशासन र अदालतमा बुझाइसकेका छन् । मालती र रिखिदेवी आफ्नो वंशको भए/नभएको प्रमाणित गर्नका लागि डीएनए परीक्षणको माग गरिरहेका छन् । तर, सुनुवाइ भएको छैन । 

Attempt to grab property by posing as 'fake daughter': Brothers rush to court for justiceदैनिक अड्डा अदालत धाउन थालेको ५ वर्ष भयो । झुठो विवरण पेस गरेर सम्पति कब्जा हुन लाग्यो भनेर दाजुभाइले गुहार मागिरहेका छन् । ‘२०७७ सालमा बुवाको मृत्यु भयो,’सन्तले भने, ‘त्यही बेलादेखि हामी सम्पत्ति जोगाउन धाइरहेका छौं ।’ अहिले दाजुभाइ अटो रिक्सा चलाएर घरखर्च धानिरहेका छन् । एक समय बडीबिल्डर रहेका सन्तको स्वास्थ्य अवस्था अहिले भने नाजुक छ ।

२०६८ सालमा निमोनिया भएका बेला चिकित्सकले क्षयरोगको औषधि सेवन गराएपछि फोक्सोमा असर गर्‍यो भन्छन् उनी । काठमाडौंमा एक वर्ष बसेर उपचार गराए । ‘फोक्सोको तीन पटक अपरेसन गरेपछि निको भयो,’सन्तले भने, ‘अहिले पनि गह्रौँ काम गर्दा घाउबाट रगत बग्छ ।’ न्यायका लागि जिल्ला प्रशासन र अदालत धाउँदा उनीहरूका अटो रिक्सा रित्तै हुन्छन् । अटोमा सर्वसाधरण ओसार्दा पनि उनीहरूको पिठ्यूँमा झोला छुट्दैन ।

लालजित र सन्तका बुवा फौदार हुन् भने सुखु उनीहरूका काका हुन् । फौदारका २ छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीबाट सन्तान भएनन् । बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने ११ वर्षअघि मृत्यु भइसकेको छ । सुखुको २०७८ असार १७ र काकी कवुतरीको २०७७ माघ १० मृत्यु भइसकेको छ । सन्तान नजन्मिएपछि लालजित र सन्तले नै काका–काकीको रेखदेख गरेका थिए । ‘काका–काकी दु:खी बिरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार दुई भाइले गरेका हौं’, सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दाबी थिएन । उहाँहरू मरेपछि एकाएक मालती र रिखिदेवी छोरी बनेर आइपुगे ।’ 

त्यसपछि बुवाआमा र काकाकाकीको मृत्युपछि लालजित र सन्तले काकाको नाममा रहेको जायजेथा आफूहरूका नाममा गर्नका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कात्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला सुनाएको थियो ।

उक्त फैसलापछि दाजुभाइले अंशबण्डा गरेर सम्पत्ति आफ्नो नाममा गराएका थिए । सम्पत्ति नाममा आएपछि झन् दुःख सुरु भयो । लालजितका अनुसार २०७८ फागुन १० गते अंश मुद्दा परेको उल्लेख गरेर जिल्ला अदालतले म्याद पठायो । ‘म्याद बुझेर हामी अदालत गयौं,’ लालजितले भने,‘त्यसपछि बल्ल काकाको नक्कली छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेको थाहा भयो ।’ अंश मुद्दा हाल्ने रिखिदेवी र मालतीले सुखुका दुई श्रीमती रहेको दाबी गरिरहेका छन् । 

Attempt to grab property by posing as 'fake daughter': Brothers rush to court for justiceअदालतमा रिखिदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरीको छोरी भएको दाबी गरेको लालजित र सन्तको भनाइ छ । मालती र रिखिदेवीले आफूहरू सुखुको छोरी भएको दाबी गरेर सिद्धार्थनगर नगरपालिका-६, मा सुखुको मृत्युदर्ता माग गरेका थिए । पहिलो पटक माग गर्दा वडा कार्यालयले दर्ता गर्न मानेन । त्यसपछि उनीहरूले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालयविरुद्ध मुद्दा दायर गरेको सन्तले बताए । पहिलो पटक अदालतमा उनीहरूले सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् ।

त्यसबेला अदालतमा मालती र रिखिदेवीले एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दाबी गर्दै मुद्दा लडेका थिए । तर, अदालतले मालतीको जन्म र बाबु दाबी गरिएका सुखुको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखिदेवीको दाबी र प्रमाण झुठा भएको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो ।

त्यसपछि रिखिदेवीले 'मैले दुवै आमाको पालनपोषण, शेषपछि काजकिरिया गरेको र उनीहरूको अंश हक खाने एक्लै हकवाला' भएको भन्दै २०७८ पुसमा लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन मागदाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हालिन् । त्यतिबेला जिल्ला अदालतले पहिले सुखुको छोरी भएको प्रमाणित भइसकेपछि मात्र अंश पाउने फैसला सुनायो । त्यसपछि लालजित र सन्त झुठो विवरण खारेजीको माग गर्दै उच्च अदालत बुटवल पुगे । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गर्‍यो । 

दाजुभाइ अहिले पनि मालती र रिखिदेवीको बाबु सुखु नभएको विवरण कायम गरिदिन माग गर्दै धाइरहेका छन् । पछिल्लो पटक जिल्ला प्रशासनले प्रहरी तैनाथ गरेर २०८० कात्तिक ७ गते सिद्धार्थनगर–६, बाट स्थलगत सर्जमिन मुचुल्का उठाएको थियो ।

वडाध्यक्षको रोहबरमा गरिएको मुचुल्कामा पनि सुखु मल्लाहको सन्तान नभएको प्रमाणित गरिएको छ । नयाँ सर्जमिन मुचुल्का तयार गरे पनि जिल्ला प्रशासनले अहिलेसम्म रिखिदेवी र मालतीको बुवा सुखु नभएको प्रमाणित गर्न मानेको छैन ।

‘जिल्ला प्रशासनले सुखुको सन्तान नभएको प्रमाणित गर्न पनि मानेको छैन,’लालजितले भने, ‘डीएनए परीक्षण गरिदिनुस् भन्दा समेत सुनुवाइ भएको छैन ।’ जिल्ला अदालत रुपन्देहीमा पनि दाजुभाइले रिखिदेवी र मालतीको नामको अंश नामसारी खारेज र जालसाजी मुद्दा हालेका छन् । उक्त मुद्दा अहिले विचाराधीन छ ।

साथै अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयमा पनि झुठो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न माग गर्दै उजुरी गरेको सन्त मल्लाहले बताए । जिल्ला प्रशासन पुगेका दाजुभाइलाई प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले मुद्दाकझ फाइल अध्ययन गरेर यथार्थ जानकारी दिए बताए । ‘मुद्दा शाखाबाट फाइल झिकाएर अध्ययन गर्छु,’उनले भने, ‘त्यसपछि के गर्न सकिन्छ सहयोग गर्छु ।’ 

दीपेन्द्र

Link copied successfully