वीर र त्रिवि शिक्षण अस्पतालमा आईसियु र रेस्पिरेटरी वार्डमा बिरामीको घुइँचो
What you should know
काठमाडौँ — घट्दो तापमान र बढ्दो वायु प्रदूषणले काठमाडौंका वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका रेस्पिरेटरी (श्वासप्रश्वास) वार्डहरुमा दम, सिओपिडीलगायत समस्याका बिरामीको संख्या बढेको छ ।
वीरमा रेस्पिरेटरी वार्डमा रहेका सबै २४ वटै बेडहरुमा बिरामी छन् । जसकारण थपिएका बिरामीहरुलाई अन्यत्र वार्डमा राखेर उपचार गर्नुपरेको चिकित्सकहरुले बताएका छन् । आईसियु पनि भरिएको उनीहरुरुले बताएका छन् ।
‘आईसियुमा उपलब्ध सबै बेडहरु भरिएका छन् । त्यस्तै पछिल्ला साताहरुमा श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामीहरुको संख्या ठूलो रुपमा बढेको छ,’ वीर अस्पतालका पुल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. अशेष ढुंगाले भने,‘केही बिरामीहरुलाई आईसियुमा राख्नुपर्ने अवस्था छ । तर हामीसँग सबै गम्भीर बिरामीलाई राख्न पर्याप्त बेड छैन ।’
काठमाडौंमा जाडो ह्वात्तै बढेको छ । बुधबार न्युनतम तापक्रम ७ डिग्री सेल्सियस आसपास थियो । श्वासप्रश्वास सम्बन्धी समस्या बढ्नुमा वायु प्रदूषणलाई पनि कारक मानिएको छ । बिहानको समयमा काठमाडौंमा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको छ ।
डा. ढुंगानाले श्वासप्रश्वाससम्बन्धी समस्या लिएर ३ सयभन्दा धेरै बिरामी दैनिक रुपमा ओपिडीमा आउने गरेको बताए । उनले यस समस्यामा आपतकालीन उपचारका लागि आउनेहरुको संख्या पनि उल्लेख रुपमा बढेको बताए ।
त्रिवि शिक्षण अस्पतालमा पनि यसरी नै बिरामीको संख्या बढेको छ । ‘३ सयभन्दा धेरै बिरामी श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर उपचारका लागि ओपिडीमा आएका छन्,’ टियू इन्स्टिच्युट अफ मेडिसिनका सह–प्राध्यापक डा. निरज बमले भने,‘आपतकालीन उपचारका लागि आउनेको संख्या पनि बढेको छ ।’
दुबै अस्पतालका चिकित्सकहरुले अहिलेको मागअुनसार आइसियुमा बेड उपलब्ध नरहेको बताएका छन् । धेरै मानिसहरुले आफ्ना बिरामीलाई निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराइसकेका छन् ।
किनकी श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरु चिसो मौसममा ज्यादा सक्रिय हुने भएकाले जाडो बढ्दै जाँदा सतर्कता अपनाउनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । घट्दो तापमान र बढ्दो प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर गर्ने उनीहरुले बताएका छन् ।
इन्फ्लु्एन्जा गराउने भाइरस अति नै संक्रामक रहेको र समुदायमा निकै चाडों फैलनसक्ने उनीहरुले बताए । यसले फोक्सोसँग सम्बन्धित समस्या भएकाहरुलाई धेरै असर गर्ने गरेको छ ।
यस भाइरसले ज्वरो, खोकी, शरीर दुखाई र कहिलेकाँही वान्ता तथा डायरिया गराउनसक्ने उनीहरु बताउँछन् । यसले निमोनिया पनि निम्त्याउनसक्छ र समयमै उपचार नगर्दा ज्यानै लिनसक्छ ।
हावाको खराब गुणस्तरले जनस्वास्थमा अल्पकालीन र दिर्घकालीन दुबै समस्या निम्त्याउनसक्ने भएकाले सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
निमोनिया, ब्रोन्काइटिस, कन्जन्टिभाइटिस, छालाको एजर्ली, स्ट्रोक, मुटु सम्बन्धी समस्या यसले निम्त्याउनसक्छ । दीर्घकालीन रुपमा फोक्सो र इन्टेस्टाइनमा अल्सर, क्यान्सर, किड्नी रोग तथा हृदय सम्बन्धी समस्या निम्त्याउँछ ।
संक्रमण रोक्नका लागि समयमै निदान आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् । समयमै निदान गरेर उपचार नगरिए सिजनल इन्फ्लुयन्जाले गम्भीर रुप लिनसक्ने र मृत्युका घटना पनि बढ्नसक्ने चेतावनी उनीहरुले दिएका छन् ।
मास्क लगाउने, हात धुने, भीडभाडमा नजाने, सामाजिक दूरी कायम राख्नेलगायत गतिविधिले संक्रमणको फैलावट हटाउन सहयोग गर्ने उनीहरु बताउँछन् ।
जेष्ठ नागरिक तथा दीर्घरोगी लाई इन्फ्युएन्जा र निमोनियाको खोप दिनुपर्ने उनीहरुले बताएका छन् ।
