अर्जुनकी आमा जानुका भन्छिन् : 'मेरो छोरो १५ लाखको थियो त ? १५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।' बुबा चित्रबहादुर भन्छन्, 'छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरूको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् ।'
What you should know
काठमाडौँ — कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए ।
गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त छिन्, जानुका भट्ट ।
भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उनी हुन्, २८ वर्षीय अर्जुन भट्ट, जेन-जी आन्दोलनका सहिद । वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सकेनन् । र, फर्किए गत असारमा ।
दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर जन्मदिन मनाए । हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारो थिए । 'सबै उमेर समूहसँग उ चाँडै घुलमिल हुन्थ्यो । साथीहरू पनि धेरै थिए उसका,' आमा जानुका भन्छिन् ।
७ वर्षअघि जन्मदिनमा साथीहरू मिलेर उपहारस्वरूप खैरो कुकुर अर्जुनलाई दिएका थिए । उसको नाम अर्जुनले नै राखेका थिए, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गर्थ्यो । अहिले लिची पनि उदास देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन् । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ ।
स्नातकसम्म अध्ययन गरेका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सकेनन् । न त यहाँ भनेजस्तो रोजगारी नै पाए । उनका एकजना दाइ अभिलाख यहीँ छन् भने एक दिदी विवाहपछि श्रीमान्सँग जापानमै बस्छिन् । दिदीले उनलाई जापान आउनसमेत भनेकी थिइन् । 'दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु,' दिदीले अर्जुनलाई भनेकी थिइन् । दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित थिए । जापानी भाषा अध्ययनतिर लाग्नुभयो र भाषा परीक्षामा उत्तीर्ण पनि भए । परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने योजनामा थिए ।
२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार
अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । वस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उनीहरूलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन्, अर्जुनका बुबा चित्रबहादुर । 'आफू हुर्केको गाउँ छाडेर बिरानो सहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ,' उनी भन्छन् ।
२०५७ सालमा परिवारसहित काठमाडौं छिरेका चित्रबहादुरले केसम्म गरेनन् । तरकारी बेचे । कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे । पछि होटल व्यवसाय सुरु गरे । आजभन्दा २५ वर्षअगाडि सपनाको सहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षका थिए ।
कालिमाटीबाट आएको त्यो खबर...
जेन-जीहरूले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारलाई पनि भनेका थिए । '२८ वर्ष उमेरसम्मका युवाहरूको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ,' उनले पटक-पटक भनेका थिए ।
गत भदौ २३ गते बिहानै अर्जुन घरमा बुबा–आमालाई भनेर नै साथीहरूसँग आन्दोलनमा सरिक भए । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौंमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनकै साथी पनि थिए ।
ठूलो सङ्ख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन भए । भोलिपल्ट कीर्तिपुरका साथीहरू भेला भएर आन्दोलनमा जाने निर्णय गरे । आमा जानुकाले पटक-पटक ‘नजा बाबु’ भनेर रोक्न खोजिन् । तर उनी साथीसँगै कीर्तिपुरबाट हिँडे । 'एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो,' जानुका त्यस दिन अर्जुनले भनेको कुरा सम्झिन्छिन् ।
अघिल्लो बेलुकादेखि नै काठमाडौंमा कर्फ्यु जारी थियो । सर्वत्र सन्त्रास थियो । घरबाट निस्किएको अर्जुन बाटोमा पर पुगुन्जेल आमा जानुकाले हेरिरहिन् । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरूसँग अघि बढिरहेका थिए । टोलीमा उनका दाइ अभिलाख पनि थिए ।
अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । 'कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकोमा गोली लाग्यो ।' जानुकाको शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोजिन् । तर कर्फ्युले गाडी ठप्प थियो ।
छोरालाई भेट्ने तीव्र इच्छा भएपछि अर्जुनका साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पुर्याए । अस्पतालमा भीड थियो । उनलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन । 'म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ,' रसिलो आँखा बनाउँदै अभिलाखले भने, 'एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ । सँगै गएको भाइलाई गुमाउनुपर्यो ।'
अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । 'दाजुभाइभन्दा पनि धेरै साथीजस्तो थियौँ,' उनी भन्छन्, 'सँगै गेम खेल्ने, सँगै सुत्ने गर्थ्यौँ ।' भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे । अभिलाखलाई त्यही सम्झना बढी आउँछ । 'यही घरको भर्याङमा हामी दुवै जना बसेर पब्जी खेल्थ्यौँ,' भर्याङतिर देखाउँदै अभिलाख भन्छन् ।
आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । 'गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो,' उनी भन्छन्, 'कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।' दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे । अहिले पनि जानुकालाई यही याद आइरहन्छ । 'मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ । राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ,' भावविह्वल हुँदै जानुका भन्छिन्, 'जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको । कहिले पो बिर्सन सक्छु र ।'
जानुकालाई गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन् । निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उनको विचार छ । 'तर पालो आउनै समय लाग्ने रहेछ । समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ,' उनी भन्छिन् ।
परिवारमा रिक्तता
अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए । जेन-जी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ । सरकारले जेन-जी सहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिएका छन् ।
सरकारले क्षतिपूर्ति र राहतस्वरूप परिवारलाई १५ लाख दिएको छ । अर्जुनको नाम सहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । 'मेरो छोरो १५ लाखको थियो त ?' जानुका मलिन आवाजमा भन्छिन्, '१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।'
बुबा चित्रबहादुरको चाहना छ, छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरूको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ ।
