साउनदेखि कात्तिकसम्म चार महिनामा १ सय ९९ जीव–जनावरको उद्धार गरिएको चितवन निकुञ्जको तथ्यांक छ, जसमा सर्वाधिक मगर गोही छन्।
What you should know
चितवन — निकुञ्जछेउका बस्तीमा जंगली जनावर हात्ती, गैंडा, बाघ प्रवेश गर्नु नौलो होइन । बँदेल, चित्तल, बाँदर खेतबारीमा आउने गरेकामा केही वर्षयता मगर गोही, अजिंगर र गोमन सर्पजस्ता घस्रने जीव पनि निकुञ्जछेउका बस्ती छिर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय उद्धार गरेका अधिकांश घस्रने जीव छन् ।
निकुञ्जको सीमा भएर बग्ने राप्ती खोला आडमै छ, विमला बोटेको घर । गत शुक्रबार राति घरमै मगर गोहीसँग उनको जम्काभेट भयो । खोलाबाट करिब तीन सय मिटर पर उनको कच्ची घर छ । तीन वर्ष पुग्न लागेकी छोरी र श्रीमान् विशाल बस्ने त्यो छाप्रोमा मगर गोही आयो ।
‘नन्दको बिहे थियो । अघिल्लो दिन साँझपख हाम्रो घरदेखि अलि पर रहेको नन्द बस्ने घरमा काम गर्न गयौं । भोलिपल्ट बिहानै आउनुपर्ने भएकाले राति १० बजे हतारिएर सुत्न आयौं,’ विमलाले सुनाइन् । श्रीमान् विशाल गाउँमै ज्याला–मजदुरी गर्छन् । त्यो दिन उनी धान, पराल स्याहार्ने काम गर्न गएका थिए ।
थकानले विशाल निदाइहालेको मेसो विमलाले पाइनन् । तर उनी एउटा आवाजले निदाउन सकेकी थिइनन् । ‘केही घस्रे–खोस्रे जस्तो, कराए जस्तो आवाजले मलाई निद्रा नै परेन,’ विमलाले सुनाइन् । उनीहरू सुतेको घरको छेउमै सानो छाप्रो थियो । उनले त्यतै केही चलेको अनुमान लगाउँदै हेर्नका लागि मोबाइल बालेर निस्किइन् । ‘राति १२ बजेतिर गएर हेर्दा मगर गोही पो रहेछ,’ विमलाले भनिन्, ‘बडेमानको मगर गोही थियो । आत्तिएर के कसो गर्ने भयो ।’
रामेछाप माइती भएकी विमलाले पहिलो पटक यतिनजिकबाट मगर गोही देखेकी थिइन । तत्कालै विमलाका श्रीमान्ले नेपाल बोटे समाजका जिल्ला अध्यक्ष प्रदीप बोटे र निकुञ्जलाई खबर गरे । गाउँमा गोही पसेको खबर निकुञ्जमा पुग्दा रातको साढे १ बजेको थियो । आधा घण्टामै उद्धार टोली पुगे पनि त्यसअघि नै गोही खोलातिर लागिसकेको थियो ।
मगर गोही उद्धार गर्न चितवन निकुञ्जको टोलीलाई अचेल भ्याइनभ्याई जस्तै भएको छ । चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार गएको साउनदेखि कात्तिकसम्म ४ महिनाको अवधिमा १ सय ९९ वटा जीव–जनावरको उद्धार गरिएको छ । जसमा सर्वाधिक संख्या मगर गोहीको छ ।
चार महिनामा १ सय २९ वटा मगर गोहीको उद्धार गरेको सूचना अधिकारी थापा मगरले बताए । मगर गोहीपछि उद्धार गरिएका अन्य जीवमध्ये अजिंगरको संख्या बढी छ । निकुञ्जको टोलीले ५२ वटा अजिंगरलाई यो अवधिमा उद्धार गरेको छ । त्यसपछि दुई वटा राजगोमन र चार वटा गोमनसहित ९ वटा सर्प र ६ वटा कछुवाको उद्धार भएको छ । बाँदर, चित्तल र अन्य जनावर एक/एक छन् । यसरी निकुञ्जले गरेको उद्धारमा सर्वाधिक संख्या घस्रेर हिँड्ने जीव–जनावरकै छ ।
चितवन निकुञ्ज वरपर दुईखाले गोही पाइन्छन् । घडियाल गोही निकै दुर्लभ जीव हो । सफा बगेको पानीमा मात्रै बस्ने र माछा खाने घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुन्छ । मगर गोहीले अन्य ठूला जनावर पनि खान्छ । खोलामा जम्काभेट हुँदा मगर गोहीले मान्छेकै ज्यान लिएको घटना पनि छ । ‘खास गरेर मगर गोहीले माछा पोखरी र कुखुराका खोरमा पुगेर माछा–कुखुरा खाने गरेको छ,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने ।
मगर गोही होटलबाट समेत उद्धार गरेको निकुञ्जले जनाएको छ । अजिंगर प्रायः कुखुराको खोरबाट उद्धार गरेर ल्याउनुपरेको छ । नदी पोखरीभन्दा २/३ किलोमिटर परसम्म मगर गोही पुग्ने गरेको भेटिएको छ । मगर गोहीको उद्धार कठिन हुने निकुञ्जका अधिकारीको अनुभव छ । ‘उद्धार गर्न राम्रो खाले जाल र सीप आवश्यक छ । त्यसको प्रबन्ध गर्दै छौं । स्थानीय पनि सचेत हुनुपर्ने देखिएको छ । यसको आक्रमण घातक हुन्छ । कसरी जोगिने स्थानीयलाई पनि बुझाउनुपर्नेछ,’ संरक्षण अधिकृत थापा मगरले भने ।
