भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

सातवटा परीक्षामा लिखितमा नाम निकालेका अछामका २३ वर्षीय लोकेन्द्र बोहराले अन्तर्वार्ता भने तीन ठाउँमा मात्रै दिए, हाल उनी कर्णाली प्रदेशअन्तर्गत कालीकोट जिल्ला अस्पतालमा अहेव (चौथो तह) पदमा कार्यरत छन् 

मंसिर ९, २०८२

मेनुका ढुंगाना

Passed 7 civil service written exams in one year after returning from India

अछाम — धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक सेवा तयारी गरेका बोहराले पुस २०८१ देखि भदौ २०८२ सम्म आयोगले फरकफरक प्रदेशमा लिने सातवटा लिखित परीक्षा पास गरे ।

मंगलसेन नगरपालिका–४ नवबिसका लोकेन्द्रले पहिलो पटक गण्डकी प्रदेश अहेव (चौथो तह) का लागि आयोगको परीक्षा दिएर पास भए । त्यसलगत्तै उनले लगालग कोशी प्रदेश अहेव (चौथो तह), गण्डकी प्रदेश अहेव (चौथो तह), कर्णाली प्रदेशको अहेव (चौथो तह), कोशी प्रदेश अहेव (चौथो तह), नेपाल प्रहरीको प्राविधिक प्रहरी सहायक निर्देशक (सीएमए–चौथो तह) र संघीय लोक सेवा आयोगको राष्ट्रिय परीक्षामा अहेव (चौथो तह) को लिखितमा नाम निकाले । ७ वटा परीक्षामा नाम निकालेका लोकेन्द्रले अन्तर्वार्ता भने तीन ठाउँमा मात्रै दिए । सबैभन्दा पहिले गण्डकीमा नाम निकालेका उनी अन्तर्वार्तामा वैकल्पिकमा परे ।

दोस्रोमा गण्डकी प्रदेशको अहेव (चौथो तह) मा पास भएर म्याग्दीको रघुगंगा गाउँपालिकामा पोस्टिङ भए । त्यतिबेलै कर्णाली प्रदेशको अहेव (चौथो तह) मा अन्तर्वार्तामा नाम निस्किएपछि उनी म्याग्दी गएनन् । त्यसपछि कोशी प्रदेश हेल्थ असिस्टेन्ट, कोशी प्रदेश अहेव, नेपाल प्रहरीको प्राविधिक प्रहरी सहायक निरीक्षक (सीएमए) मा उनी आफैं अन्तर्वार्ता दिन गएनन् । ‘कर्णाली प्रदेशमा नाम निकालेर अहिले कालीकोट जिल्ला अस्पतालमा काम गरिरहेको छु । घरनजिक भएकाले यतै काम गर्ने निधो गरें ।’ उनी संघीय लोक सेवा आयोगको हेल्थ असिस्टेन्ट (पाँचौं तह) मा भने अन्तर्वार्ता दिने तयारीमा छन् ।

२० भदौदेखि कर्णाली प्रदेशअन्तर्गत कालीकोट जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्ट (पाँचौं तह) पदमा कार्यरत लोकेन्द्रले सानो मिहिनेत र तयारीले भने यस्तो सफलता हात पारेका होइनन् । उनले सुनाए, ‘यति सबै ठाउँमा नाम निकाल्छु भन्ने त लागेको थिएन । पढाइको निरन्तरता र आत्मविश्वास भए लोक सेवा पास गर्न असहज रहेनछ ।’

लोकेन्द्रले हासिल गरेको सफलता त्यति सजिलै प्राप्त भएको भने होइन । अभाव र दुःखले भरिएको संघर्षपूर्ण विगत बाँचेका लोकेन्द्रको घुमाउरा घुम्तीहरूले भरिएको छ । मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालयमा कक्षा ६ सम्म र वडा ५ मा रहेको शोडषा माविमा कक्षा ९ सम्म पढेर १३ वर्षको छँदा उनी पढाइ छाडेर कामको खोजीमा भारत पुगेका थिए । ‘९ कक्षा पुगिसकेपछि पढ्न मनै गएन । पढाइ सक्दिनँ भनेर हरेस खाइसकेको थिएँ,’ लोकेन्द्रले ती दिन सम्झिँदै सुनाए, ‘कक्षामा पनि बस्नै मन लाग्दैनथ्यो । पछाडिको बेञ्चमा गएर बस्थें । पढ्नै सक्दिनँ भन्ने लागेपछि ९ कक्षामा पढाइ छोडेर १३ वर्षको उमेरमा काम गर्न भारत गएँ ।’ 

लोकन्द्रका ४ दाजुभाइ छन् । जेठा दाजु भारतमै बस्छन् । उनकै भरोसामा भारत गएका लोकेन्द्रले पुणे सहरको एक पुस्तक पसलमा सरसफाइको काम पाए । ‘मासिक ६ हजार भारु पाइन्थ्यो । दुई वर्ष त धेरै दुःख पाएँ । पढाइ छाडेकोमा पछुतो पनि हुन्थ्यो,’ लोकेन्द्रले भने, ‘फेरि पढौंला भन्ने त सोचेको पनि थिइनँ । आमा र दाजुले हाम्रा लागि भए पनि घर आएर पढ्नुपर्छ भनेर बोलाउन थाले ।’

हेल्थ असिस्टेन्ट पदमा कार्यरत उनका दाजु अर्जुन बोहराको सपना पनि भाइले पढेर सरकारी जागिर गरोस् भन्ने थियो । ‘एक दिन दाइले पढ्नुपर्छ । घर फर्क भन्नुभयो । भारतमा काम गर्दा दुःख पनि थियो । त्यताबाट घर फर्किएँ,’ लोकेन्द्रले भारतबाट नेपाल आएको समय सम्झिँदै सुनाए, ‘पहिले ९ कक्षामा छाडेको स्कुलमा फेरि पढ्न लाज लाग्यो । आफूभन्दा जुनियर भाइबहिनी जिस्काउलान् भन्ने सोच्थें ।’

लोकेन्द्रका दाजु अर्जुन मधेश प्रदेशको महोत्तरीको गौशालामा काम गर्थे । उनी दाजु भएकै ठाउँमै पुगे । उनले सुनाए, ‘दाजुले उतै ९ कक्षामा पढ्न बोलाउनुभयो । गणित र अंग्रेजीमा कमजोर भएकाले दाइकै निगरानीमा पढें ।’ उनले त्यहींको त्रिभुवन माविबाट २०७६ मा एसईई गरे । ‘कोभिडका कारणले विद्यालयले आन्तरिक मूल्यांकन गरेर एसईईका नम्बर दिएको थियो,’ उनले सुनाए, एसईईपछि धनगढी पुगेर तीनवर्षे हेल्थ असिस्टेन्ट पढें ।’

एचएको अन्तिम परीक्षा दिएर भेटघाटका लागि घर आएका बेला उनले लोक सेवाको तयारी गर्ने योजना बनाएका थिए । त्यही सपना पूरा गर्न उनी काठमाडौं हान्निए । २०८१ जेठमा पहिलो प्रयासमै लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि उनी लोक सेवाको अर्को चरणको तयारीमा लागे । 

लोकेन्द्रका दाजु अर्जुनले भारतमा काम गर्दागर्दै बुबाको हृदयाघातका कारण मृत्यु भएपछि कष्टपूर्ण जीवन बाँच्नुपरेकाले भाइलाई पढाएर नेपालमै सरकारी जागिर गरोस् भनेर आफूले देखेको सपना भाइले पूरा गरेको बताए । ‘दाइले नबोलाएको भए अहिले म भारतमै मजदुरी गरिरहेको हुन्थें । १३ वर्षको उमेरमा पढ्न हरेस खाएर भारत गएको म अहिले पढाइ नै लत भएको छ,’ लोकेन्द्रले भने ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully