संघीय मन्त्रालयमा पहिलो महिला सचिव

मन्त्रिपरिषद्‍को सोमबारको निर्णय अनुसार कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मंसिर ९, २०८२

ऋषिराम पौड्याल

First female secretary in a federal ministry

What you should know

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक महिला सचिवको नेतृत्व पाएको छ ।

मन्त्रिपरिषद्‍को सोमबारको निर्णय अनुसार कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको प्रशासनिक जिम्मेवारी पहिलो पटक महिलालाई दिइएको हो । उनी गत वैशाखमा सचिवमा बढुवा भएकी थिइन् । उनी संघीय मन्त्रालयको ४१ औ सचिव बनेकी छन् । 

मन्त्रिपरिषद्‌ले दुई प्रदेश र दुई मन्त्रालयको सचिवहरुको सरुवा गरेको छ । मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । भूमि मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा सचिवको जिम्मेवारी दिइएको छ । रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त भएपछि रिक्त स्थानमा शर्मालाई सरुवा गरिएको हो । सचिवमा बढुवा भएपछि शर्माले डेढ वर्षभन्दा बढी समय कोशी प्रदेशको प्रमुख सचिवको कार्यभार सम्हालेका थिए । त्यस्तै, संघीय मन्त्रालयका सचिव रवीलाल पन्थीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।  

यसैबीच संघीय मामिला मन्त्रालयका ६ मध्ये तीन वटा महाशाखाको प्रमुख महिलाले सम्हाल्ने अवसर पाएका छन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख पार्वती शर्मा, योजना विकास तथा सहायता समन्वय महाशाखा प्रमुखमा नीता अर्याल(पोखरेल) र प्रशासन सुधार महाशाखा प्रमुख मीरा आचार्यले सम्हालेका छन् । महाशाखा मध्ये कर्मचारी प्रशासनलाई महत्त्वपूर्ण मानिन्छ । कर्मचारीको सरुवा बढुवा जोडिने भएकाले उक्त महाशाखामा विभागीय मन्त्रीले आफूले रोजेर महाशाखा प्रमुख बनाउने गरेका छन् । नीता र पार्वतीलाई यस अघिकी संघीयमन्त्री भगवती न्यौपानेले मन्त्रालय ल्याएर जिम्मेवारी दिएकी थिइन् । 

ऋषिराम पौड्याल

Link copied successfully