समुद्री सतहदेखि ३ हजारदेखि ५५ सय मिटर उचाइमा पाइने यार्सा पछिल्लो समय ४ हजार मिटर तल न्यून मात्रामा भेटिन थालेको यार्सा संरक्षणमा काम गरिरहेका अनुसन्धानकर्ता डा. लक्ष्मण शर्माले बताए ।
What you should know
सुर्खेत — मुगुको खत्याड गाउँपालिका–८ सुकाढिकका दानबहादुर गिरीलाई अहिले आफ्नो गाउँ उराठ लाग्छ । ‘०५७ साल अघिसम्म वर्षमा ४/५ पल्ट हिउँ पर्थ्यो, हिउँ बिलाएपछि डाँडा रसिला देखिन्थे,’ उनले भने, ‘अचेल हिउँ पर्ने टुंगो नै हुँदैन । डाँडाकाँडा फुस्रा र उराठ देखिन्छन् ।'
मंसिरमै हिउँले ढाकिने ठाउँमा पछिल्ला वर्ष पुषसम्म पनि हिउँ देख्न नपाइने गरेकाे उनले बताए । गाउँ आसपासका जंगलमा गुच्छीच्याउ, रातोच्याउ, सतुवा, अतिस, निरमसी, कुटकी, जटामसी, सुगन्धवाललगायत जडीबुटी पाइन छाडेको उनले सुनाए ।
तीन दशकदेखि मुगमकार्मारोङ गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत पाटनमा यार्सागुम्बा टिप्न जाने उनले यार्सा पनि हिउँसँगै माथितिर सर्न थालेको बताए । ‘पाटन भन्दा तलतिर आजभोलि हिउँ जम्न छाड्यो, हिउँ नजम्दा यार्सा पनि पाटनको माथितिर मात्र पाइन थाल्यो,’ उनले भने, ‘वर्षेनि १/२ फिट माथितिर यार्सा सर्दै गएको छ ।’
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-४ का ५९ वर्षीय कर्मा तामाङको परिवारको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो । डेढ दशकदेखि रुपपाटन, चिनाराङ्सी, माझडाँडा, माझधारी, बाटुलीले, काँडा, फुर्के, ज्ञाने, जैरी, साईकुमारीलगायत पाटनमा यार्सा टिप्न जाने गरेका उनी पछिल्लो समय निरास छन् । चार जनाको परिवारले टिपेको यार्साबाट सिजनमा पाँच लाख रुपैयाँसम्म कमाउने गरेकोमा गत वर्ष मुस्किलले १ लाख ५० हजार कमाइ भएको उनले सुनाए ।
उनी पत्नी छिरिङसहित दुई छोरासँग यार्सा टिप्न पाटन जान्छन् । ‘चाहिनेजति हिउँ पर्न छाड्यो, हिउँ नपरे यार्सा पाउनै मुस्किल हुन्छ,’ उनले भने, ‘अहिले त पाटनको माथिल्लो भागतिर मात्र यार्सा पाइन्छ, तल्लो भेकतिर पाइनै छोड्यो ।’ वर्षेनि २/३ फिटतिर यार्सा माथितिर सर्दै गएको उनको अनुमान छ ।
मुगुको मुगमकार्मारोड गाउँपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा दुई वर्षअघि गरेको अध्ययनका क्रममा हिउँका कारण यार्साको प्रजनन्दर घट्दै गएको निष्कर्ष निकालेको थियो । अध्ययनका क्रममा हिउँ कम पर्नु, पाटनमा प्रदुषण बढ्नु, विभिन्न मानवीय गतिविधिले पर्यावरणमा असर पर्नुलगायत कारण यार्साको जीवनचक्रमा प्रभाव परेर उत्पादनमा कमी आएको भेटिएको थियो ।
अध्ययनमा सहभागी पूर्व वन अधिकृत मीनबहादुर केसीले अघिल्लो वर्ष यार्सा भेटेको ठाउँमा अर्को वर्ष उत्पादन नै नभएको देखिएको बताए । ‘यार्साको जीवनचक्रलाई मुख्यरुपमा हिउँले नै प्रभाव पार्छ, प्राकृतिक अवस्थामा थिटारोड्स (यार्सा) को लार्भा जमिनमूनि र ढुसी जमिनमाथि निस्केको हुन्छ,’ उनले भने, ‘चैत अन्त्यसम्म यो हिउँमा रहन्छ, वैशाखमा हिउँ बिलाएपछि थिटारोड्सको लार्भाको शरीरबाट ओफियोकोर्डिसेप्सको स्ट्रोमा पलाई जमिन बाहिर निस्कन्छ ।’
खुला चरनका कारण पनि यार्साको उत्पादन पाटनको तल्लो भागमा कम हुन थालेको उनले बताए । समुद्री सतहदेखि ३ हजारदेखि ५५ सय मिटर उचाइमा पाइने यार्सा पछिल्लो समय चार हजारभन्दा कम उचाइमा न्यून मात्रामा भेटिन थालेको यार्सा संरक्षणमा काम गरिरहेका अनुसन्धानकर्ता डा. लक्ष्मण शर्माले बताए । ‘यार्साको लार्भा हिउँमुनि नै हुर्किन्छ, तर जलवायु परिवर्तनको असरले हिउँ पर्नै छोड्यो, परे पनि माथिमाथि मात्र पर्छ, जसका कारण पाटनको तल्लो भेकतिर यार्साको लार्भा हुर्कन सकेको छैन,’ उनले भने, ‘संकलकले कुटो प्रयोग गर्दा पनि यार्साको बासस्थान नै क्षयीकरण भएको छ, जसले उत्पादन घट्यो ।’
मुगुको खत्याड गाउँपालिका–८ सुकाढिकका टक्क डाँगरले हिउँका कारण आफूहरुको जीविकोपार्जनमा ठूलो असर पर्न थालेको बताए । ‘हामी पुस्तौंदेखि जागिर खाँदैनौं, बारीको उत्पादनले ३ महिना पनि खान पुग्दैन,’ उनले भने, ‘त्यसैले हाम्रो वर्षभरिको सबै आवश्कता जडीबुटीले नै पूरा गरिदिन्छ ।’ उनी झण्डै डेढ दशकदेखि परिवारका सदस्यसहित यार्सा टिप्न पाटन पुग्छन् । ‘हिउँ परे पो यार्सा छ्यापछ्याप्ती पाइन्छ, अहिले त ४/५ जना मिलेर दिनभरि यार्सा खोजे पनि १०/१५ वटाभन्दा बढी कहिल्यै पाइँदैन,’ उनले भने, ‘यार्सा खोज्न जाँदा एउटा परिवारको खर्च कम्तीमा ५०/६० हजार हुन्छ, कमाइ डेढ लाखभन्दा बढी हुनै हुनै छोड्यो ।’
कमाइ घटेपछि जीविकोपार्जनका लागि मजदुरी गर्न सदरमुकाम गमगढीलगायत ठाउँमा जानुपर्ने बाध्यता भएको उनको गुनासो छ । उनले हिउँ नपर्दा मुगुका अधिकांश गाउँमा स्याउ पनि फल्न छोडेको बताए ।
हिमाली जिल्लामा वर्षेनि हिमपातको क्रम घट्दै गएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले बताए ।
उनका अनुसार यार्सागुम्बाको जीवनचक्र अनौठो रहेको र अधिकांश अवस्था हिउँकै सेरोफेरोमा पूरा हुन्छ । ‘एक किसिमको पुतलीले पुस-माघमा अण्डा पार्छ, त्यसलाई हिउँले छोप्छ, जसबाट उसको जीवनचक्र सुरु हुन्छ, फागुन—चैत्रमा त्यो लार्भा बन्छ र जेठमा किरामा परिणत भइ जमिनबाट बाहिर निस्कन्छ,’ उनले भने, ‘ती अण्डाका लागि यार्साका शुक्रकीट जेठ-असार महिनामा परिपक्व भएर झर्छन्, त्यसरी झरेका शुक्रकीट भदौ-असोज महिनामा फेरि पुतलीमा परिणत भएर यार्सागुम्बाको जीवनचक्र पूरा हुन्छ ।’ उनका अनुसार हिउँले नै उसको जीवनचक्र पूरा गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । तर परिपक्व नहुँदै यार्सा टिप्दा शुक्रकीट झर्न नपाउनाले पनि उत्पादन बर्सेनि घट्दै गएको उनले बताए ।
जलवायु परिवर्तनको असर र तापक्रममा आएको परिवर्तनका कारण हिमालमै हिउँ देख्न मुस्किल भएको वातावरणविद् मनिष आचार्यले बताए । ‘पानी नपरेपछि हिमाली क्षेत्रको तापक्रम बढ्छ र भएको हिउँ पग्लिन्छ भने नयाँ हिउँ पर्ने प्रणालीको विकास हुन सक्दैन,’ उनले भने, ‘जसको प्रत्यक्ष असर कृषि उत्पादनदेखि पर्यावरण र पारिस्थितिक प्रणालीसम्म परिरहेको छ, यार्सालगायत जडीबुटीको उत्पादन घटेको छ ।’
उत्पादन घट्दै गए पनि यार्साको मूल्य भने वर्षेनि बढिरहेको छ । संकलकहरुले पाटनमा प्रतिगोटा एक हजार रुपैयाँसम्ममा यार्सा बिक्री गर्ने गरेका छन् । डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले यो वर्ष करिब २७ लाख रुपैयाँ प्रतिकिलोमा यार्सा बिक्री गरेको बताए ।
उनका अनुसार गत वर्ष २२ देखि २५ लाख रुपैयाँसम्ममा यार्सा बिक्री भएको थियो । ‘यहाँको यार्साको मुख्य बजार चीन हो, चीनमा सोझै लगेर बेच्न पाए झन् बढी भाउ पाइन्थ्यो, काठमाडौंमा आएका व्यापारीले जति भने त्यतिमा दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘पछिल्लो समय हिमपात कम हुँदा बढी गुणस्तरको यार्सा भेटिन छाडेको छ, पोटी नलागेको यार्साका कारण भाउ भनेजति पाइँदैन ।’ उनका अनुसार एक किलोमा २ हजार ५ सयदेखि ४ हजारसम्म यार्सा जान्छ । चीनमा झण्डै ६० लाख रुपैयाँ प्रतिकिलोमा यार्सा किनबेच भइरहेको उनले जानकारी दिए ।
कर्णालीबाट गत वर्ष कर्णालीमा झण्डै २ सय १४ किलो यार्सा बाहिर निकासी भएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यार्सा संकलनलाई बढ्दो जलवायु परिवर्तनको असर कम गरी व्यवस्थित, कम जोखिमयुक्त र उपयुक्त बजारीकरणसहितको बनाउन कार्ययोजना निर्माणको काम भइरहेको बताए । ‘प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र कर्णालीको समृद्धिका लागि पनि यहाँको जडीबुटीको संरक्षण र बजारीकरण आवश्यक छ,’ उनले भने, ‘यार्सालगायत जडीबुटी र पर्यटनको माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक क्रियाकलापमा बृद्धिका लागि पहल भइरहेका छन् ।’
