वार्षिक रूपमा प्राय: अक्टोबर पहिलो साता नै आवेदन खुला गरिँदै आएको इलेक्ट्रोनिक डाइभर्जिटी भिसा (डीभी) कार्यक्रमका लागि यस वर्ष कुनै तयारी देखिँदैन । कतिपय अमेरिकी सांसदहरूले डीभी लोटरी खारेज गर्ने विषयमा संसद्मा विधेयकसमेत पेस गरेका छन् ।
What you should know
काठमाडौँ — गत वर्ष यो समय नेपालस्थित अमेरिकी दूतावासको सामाजिक सञ्जाल एकाउन्टहरूमा आवेदन खुला भएको, झुटा वा नक्कली वेबसाइटबाट आवेदन नभर्न र आवेदन भर्ने समय थप गरिएको लगायत विषयमा पोस्ट गरिएका थिए । यसपाली नोभेम्बर सकिन लाग्दा पनि डीभी कार्यक्रमबारे कुनै सूचना नआउँदा कतै यो कार्यक्रम नै बन्द हुन लागेको त होइन भन्ने संशय बढेको हो ।
केही दिनअघि मात्रै अमेरिकी विदेश मन्त्रालयले आवेदन खुला गर्ने प्रक्रियामा केही परिवर्तन गर्न खोजिरहेको भन्दै वेबसाइटमा सूचना राखेको थियो । नोभेम्बर ५ मा प्रकाशित सूचनामा मन्त्रालयले डीभी प्रवेश प्रक्रियामा केही हेरफेर गर्न खोजिएको जनाए पनि कस्तो हेरफेर भन्ने खुलाएको छैन ।
मन्त्रालयले सन् २०२७ का डीभी कार्यक्रमका लागि जतिसक्दो चाँडो आवेदन खुला गर्ने जनाएको छ । साथै, ‘इन्ट्री स्टाटस चेक’ सुविधा कहिले उपलब्ध हुन्छ, त्यसको पनि क्रमश: मिति घोषणा गरिने वेबसाइटमा भनिएको छ ।
मन्त्रालयले डीभी कार्यक्रमका विषयमा लागू गर्ने परिवर्तनहरूले सन् २०२७ का लागि छानिएका व्यक्तिहरूको भिसा आवेदन अवधिमा भने असर नपार्ने सूचनामा उल्लेख छ । नेपालसहित डीभी कार्यक्रम उपलब्ध रहेका विभिन्न देशका अमेरिकी दूतावास, कन्सुलरलगायत सरोकारवाला हाल विदेश मन्त्रालयबाट थप जानकारी र मार्गदर्शन पर्खिरहेका छन् ।
कतिपय अमेरिकी सांसदहरूले डीभी लोटरी खारेज गर्ने विषयमा संसद्मा विधेयकसमेत पेस गरेको सन्दर्भमा प्रवेश आवेदन खुला गर्न भइरहेको ढिलाइले आशंका बढाएको हो । गत फ्रेबुअरीमा रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डीभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका थिए ।
राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्याकाल सम्हालेयता आप्रवासीसम्बन्धी विभिन्न नियम परिवर्तन गर्दै आएका छन् । यसअघि गत जुनमा अमेरिकाले नेपालसहित अफगानिस्तान, क्यामरुन, हाइटी, होन्डुरस, निकारागुवा, सिरियालगायत देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने घोषणा गरेको थियो । नेपालीहरूका लागि नोभेम्बर २१ देखि यो सुविधा खारेज भएको छ ।
अमेरिकी विदेश मन्त्रालय, आन्तरिक सुरक्षा र यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले विभिन्न हेरेफेर गरेका छन् । एचवान-बी भिसालगायतका प्रावधान परिवर्तन गरिएको छ । यस विषयमा प्रतिक्रियाका लागि प्रयास गर्दा नेपालस्थित अमेरिकी दूतावासले कुनै जानकारी दिएन ।
अमेरिकाले डीभी कार्यक्रममार्फत वार्षिक रूपमा नेपालबाट ३ हजार ८ हजारको हाराहारीमा नेपालीहरूलाई अमेरिकी भीसा दिने गरेको छ ।
