बर्लिनमा ४ हजारभन्दा बढी सहभागीसहित ४ सय वक्ता, दर्जनौं सत्र र हजारौं अनलाइन सहभागी हुने प्रतिष्ठित सम्मेलनमा सहभागिता जनाउन हिँडेकी शाम्भवीले दिल्लीमा के भोगिन् ?
What you should know
काठमाडौँ — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पब्लिक हेल्थमा स्नातकोत्तर गर्दै गरेकी शाम्भवी अधिकारीका लागि त्यो क्षण अविस्मरणीय थियो, जब उनी विश्व स्वास्थ्य शिखर सम्मेलनमा नेपालका तर्फबाट छनोट भइन् ।
विश्वका शीर्ष स्वास्थ्य विज्ञहरूको सहभागिता रहने, नीति–निर्मातादेखि अनुसन्धानकर्तासम्म एकै स्थानमा जुट्ने यो मञ्चमा पुग्ने अवसर जीवनकै ठूलो उपलब्धि थियो । झन्, आवेदन दिएका १०–१२ जनामध्ये भिसामा केवल उनी मात्रै पास हुनुले उत्साह थप बढाएको थियो ।
२०२५ अक्टोबर १२–१४ (असोज २६–२८) मा जर्मनीको बर्लिनमा हुने कार्यक्रम (विश्व स्वास्थ्य शिखर सम्मेलन) विश्व स्वास्थ्यका लागि प्रमुख वैश्विक मञ्च मानिन्छ । भिसा पाउनै कठिन र सहभागीका रूपमा छनोट हुनु त झनै दुर्लभ उपलब्धि !
तर यात्राको खर्च उनको काँधमै थियो । नेपालबाट दोहा हुँदै बर्लिन जाने टिकट झन्डै एक लाख रुपैयाँले महँगो भएपछि उनले अपेक्षाकृत सस्तो हुने विश्वासमा काठमाडौं–दिल्ली–बर्लिन मार्ग रोजिन् । असोज २४ मा कतार एयरवेजको कनेक्टिङ फ्लाइट समात्न उनी एयर इन्डियाबाट दिल्ली उडिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय यात्रासमेत थियो ।
दसैंपछि उत्साहले भरिएको मन, बर्लिनमा ४ हजारभन्दा बढी सहभागीसहित ४ सय वक्ता, दर्जनौँ सत्र र हजारौँ अनलाइन सहभागी हुने प्रतिष्ठित सम्मेलनमा सहभागिता जनाउने हुटहुटी लिएर उडेकी उनी दिल्ली विमानस्थल पुग्दा भने सेलायो ।
बर्लिनको टिकट, मान्य भिसा, सबै ट्राभल डकुमेन्ट साथमा हुँदाहुँदै पनि उनलाई दिल्लीबाटै नेपाल फर्काइयो । उनले दुर्व्यवहारसमेत भोग्नुपर्यो । ८ घण्टा लामो निराशाजनक पर्खाइपछि उनले आफ्नै खर्चमा टिकट किनेकी थिइन् र साँझको उडानबाट काठमाडौं फर्किइन् ।
तर, शाम्भवीले बर्लिन जाने चाहनालाई मर्न दिइनन्। भोलिपल्टै, उनी फेरि उही कतार एयरवेजकै काउन्टरमा उभिइन् । यसपटक दिल्ली नपुगी, दोहा हुँदै सिधै बर्लिन उडिन् । अन्ततः उनले नेपालकै नाममा विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुने आफ्नो सपना पूरा गरिन् ।
भक्तपुर मूल घर भएकी उनी हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा एमपीएच प्रथम वर्ष अध्ययनरत छिन् ।
शाम्भवीको यो अविश्वसनीय यात्राबारे कान्तिपुरले विस्तृत अन्तर्वार्ता गरेको छ । पूरा अन्तर्वार्ताका लागि यहाँ क्लिक गरी अडियो सुन्न सक्नुहुनेछ ।
