हवाई उडानमा सफल बस्नेत राजनीतिक उडानको परीक्षामा 

बुद्ध एयरमार्फत आन्तरिक उडानमा सफल व्यवस्थापन गरिसकेका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत जेन-जी आन्दोलनपछिको बदलिँदो परिस्थितिमा गतिशील लोकतान्त्रिक पार्टी नै खोलेर राजनीतिमा होमिएका छन्। सूचना–प्रविधिमा आधारित माध्यमिक शिक्षासँगै कृषि, पर्यटन र यातायातको विकासबाट नेपालमा दीर्घकालीन रोजगारी र उद्यमशीलता सिर्जना गर्न सकिन्छ भन्ने हिम्मतका साथ सेवाभावको राजनीति गर्ने उनको भनाइ छ।

मंसिर ७, २०८२

दीपक सापकोटा

Successful in air travel, Basnet takes the test of political flight

What you should know

काठमाडौँ — राजनीति असलमा सपनादेखि संघर्षसम्मको असाध्यै कठिन यात्रा हो । राजनीतिक रिले दौडमा अन्तिम पंक्तिका खेलाडीझैं मानिसलाई विस्मयमा पार्दै पार्टी राजनीतिमा होमिएका छन्– उद्यमी वीरेन्द्रबहादुर बस्नेत (६२) । साहस, आस्था, विचार र बलिदानको प्रतिमान खडा गरी तुफानी आँधीबेहरी सिर्जना गरेको जेन–जी आन्दोलनपछिको पर्यावरणमा अब हवाईसँगै राजनीतिक उडान पनि भर्नेछन्– वीरेन्द्रबहादुरले ।

 र, यी सफल व्यवसायी आफ्नो जीवनको ‘दोस्रो इनिङ्स’ मा राजनीतिको ‘कखरा’ पढ्दै छन्— गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) मार्फत, जहाँ समाजशास्त्री दिनेश प्रसाईं, कलाकार निशा अधिकारीसहितका व्यक्तित्व छन् । 

बुद्ध एयरका संस्थापक प्रबन्ध निर्देशक र हालका कार्यकारी अध्यक्ष बस्नेत निर्वाचनसम्मुख दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ का केन्द्रीय सदस्य हुन्, तर सिंगो पार्टी उनैको ‘आइडिया’ हो । अब उनीसँग छ– फुर्सद । र, अनुभव पनि— आकाशमा ३ दशकदेखि उडान भरिरहेको बुद्ध एयरजस्तो प्रतिष्ठित सफल व्यवसायको ।

‘व्यवस्थापनको कुशलता राजनीतिमा पनि प्रयोग गर्न सकिन्छ कि भन्ने लागेर राजनीतिमा आएँ’, छिट्टै दिन ढलिजाने चिसो एक मंसिरे साँझ वीरेन्द्र भन्छन्, ‘राजनीतिक दर्शनलाई नयाँ मोड दिन सक्छौं कि भन्ने आशा पनि छ ।’

जागिर जसले पनि खान सक्छ, व्यवसाय जसले पनि गर्न सक्छ । तर, सबै वीरेन्द्र हुँदैनन्— त्यहाँ त संघर्ष र इमानको लम्बेतान बाटो हिँड्नुपर्छ । राजनीति जसले पनि गर्न सक्छ, तर महक भाषा प्रयोग नगरिकन भन्नुपर्छ— असल राजनीतिज्ञको बाटो बडो कठिन हुन्छ (सायद जोखिमपूर्ण पनि) । त्यहाँ सामूहिक र बृहत्तर हित नै सपना र गन्तव्य हुन्छ । जान्नेहरू भन्छन्– त्यो मुकाम पुग्न असाध्यै कठिन छ । सहज बाटो हुँदै अफ्ठेरो बाटो रोजेका वीरेन्द्र आफ्ना सपनाहरूमाथि इमानदार रहिरहन सक्छन् ? यही प्रश्नले उनको राजनीतिक करिअर निर्माण गर्नेछ । किनभने राजनीति कहिल्यै मजाकको विषय होइन । तर, नेपालमा त राजनीति ‘चुट्किला’ बनेको छ । इन्द्रबहादुर राईले उहिल्यै लेखेझैं यहाँ राजनीति हो— एक रमिता, जसमा छ, सपनाको मुनाफामुखी व्यापार । 

पेसाले एक सफल नागरिक उड्डयन व्यवसायी अचानकै राजनीतिमा किन आए ? के जेन–जी आन्दोलनपछिको यो चिसो याममा राजनीतिमा पनि व्यवसायीको हस्तक्षेप जरुरी छ ? ‘खुसीकै लागि मानिसले यात्रा तय गर्छ’, काठमाडौंको हल्लाबीच शान्त देखिएका वीरेन्द्र भन्छन्, ‘नयाँ सोच, सिर्जनशीलता र इमानदारी यस्तो चिज हो, जसले मलाई खुसी दिन्छ । आजका दिनसम्म मैले गरेका कामहरूले म खुसी छु, पश्चातापको कुनै अंश मसँग छैन । मिहिनेत, दुःखले यहाँसम्म आइपुगेको छु । त्यसैले राजनीति प्रवेश पनि आफ्नै खुसीका लागि हो ।’  

वीरेन्द्रका दुई कम्पनी छन्– बुद्ध एयर र मोरङको आरजु राइस मिल । यी दुवै उद्योगले अहोरात्र योगदान गरेका छन्– देशको अर्थतन्त्रमा । बुद्ध एयरले आन्तरिक हवाई उड्डयनलाई चलायमान बनाएको छ भने राइस मिलले नेपालको कृषि अर्थतन्त्र सुधार्ने सपना बोकेको छ । भन्छन्, ‘यी उद्योगको प्रतिफलले मेरो जीवन सहज छ ।’ 

आन्तरिक उडानको ६० प्रतिशत हिस्सा ओगट्ने बुद्ध एयर र वीरेन्द्रको संघर्ष–कथा सहरमा प्रख्यात छ, तर कृषि उद्योगको कथा झन्डै गुमनाम । ५० करोडभन्दा बढी लगानीको त्यो राइस मिलअन्तर्गत करिब ३ हजार बिघाको खेती र १५ सयभन्दा बढी धान कृषकको परिवार छ । वीरेन्द्रका बुबा सुरेन्द्रबहादुरले उहिल्यै ८४ बिघा जग्गालाई ‘बहुमुखी कृषि फार्म’ मा बदलेका थिए । वीरेन्द्र आफ्नो भागको २० बिघामा कर्म गर्दै पुर्ख्यौली जरातिर फर्किएका छन् । उनलाई लाग्छ– कृषिमार्ग नै समृद्धिमार्ग हो, जीवनमार्ग हो । 

...

वीरेन्द्रको जीवनका कथाहरू लेखिएका छन्, उनको गैरआख्यान– ‘बाई द बुक’ मा । तीन दशकअघि नै देखिएको बुद्ध एयरको सपना, संघर्षका लामा वर्षहरूको फेहरिस्त र सफलताको कथा हो उक्त पुस्तक । जसले बुद्ध–उडानको सुरुवाती कथादेखि देशकै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा भन्छ । एक कुशल व्यवस्थापकको ज्ञान, लगाव, धीरता र व्यावसायिक इमानदारी बुझ्न सघाउँछ– ‘बाई द बुक’ ले । नेपाली आकाशमा परिचित बुद्ध एयर र त्यसमुनि उभिएका वीरेन्द्र कसरी असफलताका ढुंगाहरू उक्लिँदै उड्डयन उद्योगको शिखरमा पुगे ? त्यो लामो कथाको जीवित दस्ताबेज पनि हो– ‘बाई द बुक’ । 

Successful in air travel, Basnet takes the test of political flightवीरेन्द्रको सफलताको बही खाता पल्टाउँदा पुस्तकमा उनका बुबा बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र (१९८४–२०७९) को जीवन–यात्रा पनि पढ्न पाइन्छ । पिताको कथा नसुनाई पुत्रको कथा सायद अपुरो–अधुरो हुनेछ । 

भोजपुर दिङ्ला–साल्मामा जन्मिएका सुरेन्द्रले बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) बाट बीएस्सी, एमए/एलएलबी अध्ययन गरेका थिए ।

जो सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको पहिलो प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको अध्यक्षसमेत भए । अर्थमन्त्री, उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री र कानुन, न्याय तथा शिक्षामन्त्री पनि भए । पछि विराटनगरमा कृषि पेसामा होमिएका सुरेन्द्रले बुद्ध एयर पनि सुरु गरे । सुरेन्द्रले २०३४ मा विराटनगरमा बहुमुखी कृषि फार्म सञ्चालन गरे, जहाँ अहिले वीरेन्द्र ‘आरजु राइस मिल’ मार्फत किसानको जीवन सुधार्ने ध्याउन्नमा छन् । नेपालमा सहज हवाई सेवा विस्तार गर्ने सक्षम उद्यमी पिताकै पथ पछ्याउँदै वीरेन्द्रले पनि लामो यात्रा तय गरे । 

...

वीरेन्द्रको सपनाले आकाश छोएको छ, तर उनले धर्ती पनि छाडेका छैनन् । उनी व्यवसायी मात्रै होइनन्, माटो–जरामा आफूलाई खोजीबस्ने कर्मजीवी पनि हुन् । बूढानीलकण्ठ स्कुलबाट ‘पास–आउट’ वीरेन्द्रको हवाई उडान सफल र विशिष्ट रह्यो । अबको राजनीतिक उडान कस्तो हुनेछ ?

वीरेन्द्रसँग राजनीतिक–संवाद गर्नुअघि राजनीतिका विश्लेषकहरूसँग विमर्श गरिहेरौं– गैरराजनीतिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्तिका राजनीतिक उडानको इतिहास बुझौं ।

यस विषयमा विदेशतिर अनेक कथा पाइएलान् तर हामीचाहिँ अहिले नेपालकै निकट इतिहासतिर फर्कौं । गैरराजनीतिक क्षेत्रबाट राजनीतिमा पस्नेमा एक थिए– भरतशमशेर, जो कुलीन राणा परिवारका प्रतिनिधि थिए । २००७ मा जहानियाँ राणातन्त्रको पतनपछि त्यो बदलाव नस्विकार्ने जमातबीच उनी गोरखा परिषद् (खुकुरी दल) खोलेर राजनीतिमा होमिए । आठ वर्षसम्म खुकुरी दलको नेता रहे र २०१५ को पहिलो आमनिर्वाचनपछि संसद्मा विपक्षी दलका नेता बने । १ पुस २०१७ को ‘कू’ पछि नेपाली कांग्रेसमा प्रवेश गरे । 

भरतझैं अर्का राजनीतिज्ञ थिए– सुवर्णशमशेर, जसले २०१५ मा १ वर्ष सरकारको नेतृत्व गरे, त्यसअघि अर्थमन्त्री पनि भए । राणा परिवारमा जन्मे पनि उनी राणा शासनविरुद्धको आन्दोलनमा थिए । कांग्रेसमा कोषाध्यक्ष भए, पछि पञ्चायतकालमा बीपी कोइराला नजरबन्दमा छँदा कार्यवाहक सभापति पनि भए । भरत र सुर्वणसँग थियो– राणाहरूको शासकीय ‘लिगेसी’ । फरक क्षेत्रबाट राजनीतिमा आउने यही लहरमा छन्– पशुपतिशमशेर राणा, विनोद चौधरी, उमेश श्रेष्ठ, राजेन्द्र खेतान र बालेनहरू । 

राजनीतिक विश्लेषक झलक सुवेदीको बुझाइमा नेपालमा नितान्त फरक विधा वा व्यावसायिक घरानाबाट राजनीतिमा आएर वा आफैं पार्टी खोलेर सफल भएका उदाहरण खासै छैनन्, भरतशमशेर अपवाद रहे । ‘तर, उनले पनि राणा लिगेसीमा राजनीति गरे । राजनीति र व्यवसाय फरक विषय हो, व्यवसायमा एक जनाको लगनले अर्थ राख्छ, राजनीतिमा जनतालाई अपिल गर्नुपर्छ, जुन असाध्यै अप्ठ्यारो छ,’ झलक भन्छन्, ‘वीरेन्द्रबहादुरको हकमा उनले लामै राजनीतिक यात्रा तय गरे भने सफलता प्राप्त हुन सक्छ । व्यवसायी त मिहिनेतले बनेका हुन्छन्, मिहिनेतले नै पार्टी पनि बनाउन सकिन्छ तर वर्षौं लाग्छ ।’

Successful in air travel, Basnet takes the test of political flight

अर्का राजनीतिक विश्लेषक लोकराज बराललाई लाग्छ– राजनीतिमा आउनेहरूको नेतृत्व आकर्षक हुनैपर्छ । उनी वीरेन्द्रबहादुरसँग आशावादी सुनिन्छन् । ‘राजनीतिसँगै कृषि र पर्यटनलाई पनि कसरी विकास गर्न सकिन्छ भन्ने सोचले उनलाई अघि बढाउन सक्छ । स्थापित दललाई पनि अहिले अस्तित्व रक्षा गर्न कठिन छ, त्यसैले नयाँ दलको अस्तित्व कस्तो हुनेछ ? अहिल्यै भन्न सकिँदैन’, लोकराज भन्छन्, ‘तर, जनताप्रतिको अपिलले कति आकर्षण गर्छ भन्नेमा वीरेन्द्रको राजनीतिक करिअर भर पर्छ । उनले जनतालाई कसरी आफ्नो मुद्दा बुझाउन सक्छन् ? त्यो नै महत्त्वपूर्ण विषय हो । र, जनताले उनलाई कसरी बुझ्छन् ? त्योचाहिँ उनको नेतृत्वमै भर पर्छ ।’ 

राजनीतिक विश्लेषक कृष्ण खनाल सोच्छन्— व्यवसाय र नेतृत्व नितान्त फरक विषय हुन् । ‘अरू विधाबाट राजनीतिमा आएका व्यक्तित्व नेपालमा खासै देखिएनन् । इतिहास सम्झँदा केही राणाहरू आए, तर नेतृत्वमा पुगेनन्– सुवर्णशमशेर पुगे, तर लिड रोल देखिएन, पार्टी हाँक्न सकेनन्’, कृष्ण भन्छन्, ‘०४६ पछि वीरेन्द्रबहादुर व्यवसायमा गज्जबले टिकेका छन् । तर, स्पष्ट राजनीतिक दृष्टिकोणबिना पार्टी चलाउन सकिँदैन । राजनीति ग्ल्यामर भएको स्थान त हो, तर सफलता चुम्न राजनीतिक दृष्टिकोण र सोचमा प्रस्ट हुनुपर्छ । विचारबिनाको राजनीति कमजोर धरातलमा उभिन्छ । राजनीतिमा जनतालाई सन्तुलनमा राख्न सक्नुपर्छ । वीरेन्द्र सफल उद्यमी हुन्, तर उनको राजनीतिक उडानबारे यसै भन्न सकिँदैन ।’

यी तीन राजनीतिक विश्लेषकका सुझाव वीरेन्द्रका लागि मननयोग्य नै छन् । तर, राजनीति सम्भावनाको खेल हो, जहाँ जोकसैलाई पनि, जुनैबेला पनि सफलता प्राप्त हुन सक्छ । अब वीरेन्द्रकै राजनीतिक चिन्तन, विचार र मार्गमाथि उनैसँग विमर्श गरिहेरौं । 

...

वीरेन्द्र सफल छन्, अनुहारमा खुसीका रेखा छन् । तर, केही चिन्ताले उनलाई भित्रभित्रै दुःखी पनि बनाएको छ । जस्तो वीरेन्द्रबहादुर दुःखी हुन्छन्– ‘देशको बेथिति’ हरूले घेरिएर । बेरोजगारी, भ्रष्टाचार, कुशासन, युवाको विदेश पलायन आदि–इत्यादि केही चिज हुन्, जसले उनलाई ‘भव्यतम्’ दुःखी बनाउँछ । 

यही बेथिति सुधार्ने सत्प्रयास र पवित्र–कामना रहेछ, वीरेन्द्रको राजनीतिमा प्रवेश । ‘राजनीतिमार्फत समाजका विद्यमान यिनै समस्यामाथि घोत्लिने प्रयास हुनेछ मेरो,’ उनी थप्छन्, ‘यी विषयलाई सही दिशा दिन सकियो भने हामी साँच्चै प्रगतिपथमा अघि बढ्नेछौं ।’

वीरेन्द्रबहादुर आजकाल रात–साँझ विचारमग्न–सोचमग्न हुन थालेका छन्, ‘हामीले बेथितिहरूलाई टाढैबाट हेरि मात्रै रहे देश झन् भयावह जोनमा प्रवेश गर्नेछ र हामी पछिका पुस्ताले देश बिग्रिनुको सारा दोष हामीमाथि थोपर्नेछन् । अब यिनै बेथितिका कारण केलाउन म आफ्नो समय खर्चिनेछु ।’

अबको राजनीति कसरी सुधार्ने ? लामो संवादमा वीरेन्द्रले पटक–पटक एउटै विषय दोहोर्‍याए– विद्यालय शिक्षा सुधार ! उनको बुझाइमा नेपालको मावि तहको शिक्षा प्रणाली एकदमै ध्वस्त छ, अति धराशायी छ । ‘हाम्रा ५० लाख विद्यार्थीले पढिरहेका त छन्, तर ती सामुदायिक स्कुलको पठनपाठनको स्तर अत्यन्तै कमजोर जगमा उभिएको छ,’ उनी भन्छन्, ‘हामीले वर्षौंदेखि अर्धशिक्षित जनशक्ति मात्र तयार पारिरहेका छौं, त्यसैले त युवा बेरोजगार छन् र विदेश भासिनुपर्ने बाध्यता छ ।’ 

नेपालको संविधानले नै आधारभूत तह (कक्षा ८) सम्मको शिक्षालाई केवल निःशुल्क होइन, ‘अनिवार्य’ भनेको छ । तर, त्यति बहुप्रभावी शिक्षाको स्तर कस्तो छ भनेर कुनै अध्ययन–अनुसन्धान भएकै छैन । नेपालमा विद्यालय शिक्षा अर्थात् ‘आधुनिक’ शिक्षाको इतिहास छोटो छ । एक शताब्दी (१९०३–२००७) सम्म त आमनेपालीमा शिक्षाको पहुँच नै थिएन । किनभने शासक अर्थात् राणाहरू शिक्षाको घोर विरोधी थिए । २००७ पछि नै हो– नेपालमा शिक्षामा अद्भूत परिवर्तन आएको ।

त्यसैले मावि शिक्षा सुधारलाई असाध्यै जोड दिन्छन्– वीरेन्द्र, जुन उनको राजनीति–ढोकाको पहिलो प्रवेश हुनेछ । ‘शिक्षामाथिको भयानक समस्या समाधानकै लागि पहिले हामीले सूचना–प्रविधिमा आधारित मावि शिक्षामाथि परीक्षण गर्नुछ । सूचना–प्रविधिबिना विद्यार्थीको ज्ञानको दैलो नै उघ्रिँदैन, देशैभरका सबै विद्यालयमा सूचना–प्रविधिलाई कसरी असरदार ढंगले लागू गर्न सकिएला भनेर अध्ययन/अनुसन्धान गर्दै र्छौं,’ उनी भन्छन्, ‘विद्यार्थीले गुणस्तरीय र व्यावहारिक शिक्षा पाएपछि देशमै रोजगारी सिर्जना हुन्छ र राष्ट्र उद्यमशीलताको बाटोमा अघि बढ्छ ।’ 

‘गतिशील लोकतान्त्रिक पार्टी’ को राजनीतिमार्फत देशलाई दिगो रूपमा गतिशील बनाउने केही उपाय छन्– वीरेन्द्रबहादुरसँग, जसलाई उनी प्राकृतिक रूपमै ‘अचुक’ भन्छन् । विद्यालय शिक्षा सुधारपछिको अर्को ‘स्टेप’ हो– देशमै रोजगारी र उद्यमशीलताको विकास, जसले नेपालमा सधैंलाई रोजगारी सिर्जना गर्छ र कामकै लागि युवाको विदेश पलायन दीर्घकालीन रूपमा नै रोक्छ । ‘देशभित्रैबाट रोजगारी सिर्जना नगरी देशको मुहार फेर्नै सकिँदैन । र, मुहार फेर्न उद्यमशीलता नै सबैभन्दा उपयुक्त मार्ग हो, यसले नै रोजगारीका द्वार खुल्छन्,’ उनी भन्छन्, ‘समतामूलक उद्यमशीलता पहिचान गर्नु अबको असली आवश्यकता हो ।’ 

वीरेन्द्रको विचारमा नेपालमा दीर्घकालीन रोजगारी र उद्यमशीलताका स्तम्भ हुन्— कृषि, सूचना–प्रविधि, पर्यटन र यातायात । उनलाई लाग्छ, हाम्रो खेतीयोग्य जमिन विखण्डित स्वामित्वमा रहनु नै ठूलो अभिशाप हो । र, निर्वाहमुखी कृषिको चक्रमा घुमिरहुञ्जेल हामी जहाँ छौं, त्यहीँ रहिरहन्छौं । अनि, विद्यालय तहमै सूचना–प्रविधि समावेश शिक्षा प्रणाली लागू गरे नेपालमा छिट्टै आई–टी उद्योगहरू खुल्ने र यसले नेपाललाई ‘डिजिटल्ली’ रूपान्तरणमा लैजाने उनको विश्वास छ । ‘रोजगारी र उद्यमशीलतामा हामीलाई सूचना–प्रविधि समावेश शिक्षा प्रणालीले नै लैजानेछ,’ उनी भन्छन्, ‘बदलिइरहेको संसारमा नेपालको पनि विशिष्ट स्थान सुरक्षित हुनेछ– देशको डिजिटल रूपान्तरणपछि ।’ 

नेपाललाई सारा विश्वले चिन्ने विशेषता हुन्– सगरमाथा र लुम्बिनी । त्यसैले वीरेन्द्रको अध्ययनमा नेपालमा रोजगारी र उद्यमशीलताको खास थलो नै पर्यटन र यातायात हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालमाथि लेखेको ‘सानो छ तर स्वर्ग छ, दूर छ, तर दूरताको दिव्य जादू !’ लाई अब पर्यटनमार्फत चरितार्थ गर्नु छ । नेपालको हिमालदेखि तराईसम्मै प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक विविधताको सानदार संसार छ । सम्पूर्ण नेपालै अलग बान्कीको जीवन, संस्कृति, प्रकृति, खानपान, भेषभूषा र भाषाको एक जीवित संग्रहालय हो । 

‘पूरै नेपाल यहाँको भूगोल र जीवन सिक्ने तथा मान्छेहरूको फरक संसार चियाउने विद्यालय हो । यहाँ असाध्यै विविधता हेर्न पाइन्छ, त्यसैले पर्यटन हो– रोजगारी र उद्यमशीलताको अर्को बाटो,’ वीरेन्द्र भन्छन्, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामार्फत सिधै अन्तरमहादेशीय उडान भर्न सके पर्यटकको संख्या बढाउन सकिन्छ ।’ उनको सपना छ– बर्सेनि ५ लाख पर्यटकले नेपाल दर्शन गरे भने १० वर्षमा ५० लाख पर्यटक आउनेछन्, त्यस अर्थमा वार्षिक तीन लाखले रोजगारी पाए भने १० वर्षमा ३० लाख नेपालीले रोजगारी पाउनेछन् । उनको विचारमा सुशासन, रोजगारी वा उद्यमशीलता तीनै विषयको खास साधन नै स्थानीय सरकार हो, जसमार्फत देशलाई समृद्धितर्फ डोर्‍याउन सकिन्छ । उनी पार्टीको घोषणापत्रमा यिनै मूल पक्षमाथि सम्बोधन गर्दै छन् । 

वीरेन्द्रलाई लाग्छ– नेपालको अबको राजनीतिक–मार्ग नै सेवा र त्याग हो । त्यो भाव तब गतिशील बन्नेछ, जब नेतासँग हुनेछ सिर्जनशीलता । ‘राजनीति पेसा बन्यो’ भन्ने चिन्ताले नै उनलाई राजनीतिमा तान्यो । ‘राजनीति त सेवा पो हुनुपर्ने, तर नेपालमा त्यसो हुन सकेन,’ उनी भन्छन्, ‘राजनीति पैसा कमाउने पथ होइन । पृथ्वीनारायणको एकीकरणदेखि नै शासकीय पद्धति र शासन व्यवस्था पेसागत बनिरह्यो । भनसुन वा सोर्स–फोर्सबिना कुनै कामै नहुने पद्धति हामीले विकास गर्‍यौं । अब यो शासकीय र राजनीतिको सिद्धान्तलाई परिवर्तन गर्नुपर्छ । सेवा र त्यागको राजनीतिमा नेताहरूलाई ल्याउनुपर्छ’, वीरेन्द्र भन्छन्, ‘मैले सफलता प्राप्त गर्न सकिनँ भने नयाँ पुस्ताले हाम्रो सोचलाई अगाडि बढाउलान् !’ 

Successful in air travel, Basnet takes the test of political flight

वीरेन्द्र आफैं पार्टी अध्यक्ष बनेनन्, सदस्यमा बसे । किन ? ‘चेक एन्ड ब्यालेन्स हुनुपर्छ ! भोलि हाम्रो पार्टीले जित्यो र बहुमत ल्यायो भने म मन्त्री या प्रधानमन्त्री हुन्छु होला । तर, सरकार र पार्टीभित्र पनि मेरै मात्र एकलौटी भयो भने मैले जे भन्यो त्यही हुन्छ । आजको राजनीति पेसागत भएको कारणै यही हो । एउटै मानिस प्रधानमन्त्री पनि, पार्टी अध्यक्ष पनि हुँदा जे गरे पनि भयो त्यहाँ । हाम्रो पार्टीका पदाधिकारीले चुनाव लड्न पाउँदैनन्,’ उनी स्पष्ट सुनिन्छन्, ‘राजनीतिमा अधिनायकवाद सिर्जना हुन सक्छ, त्यसैले एक पद, एक व्यक्ति हुनुपर्छ अनि पार्टी वा सरकारमा पनि एकै मान्छे दुई कार्यकालभन्दा बढी रहन पाउनु हुँदैन ।’ 

‘गतिशील लोकतान्त्रिक पार्टी’ ले अर्को घोषणा गरेको छ– चुनावमा २० प्रतिशतभन्दा बढी सिट जिते मात्रै सरकारमा जाने, नत्र विपक्षमै बस्ने । उनको योजना छ– पार्टीको आर्थिक आचारसंहिता पनि वेबसाइटमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्ने । ‘पैसाको खोलो नबगाई चुनाव जितिँदैन’ भन्ने भाष्य बनिरहेको नेपाली समाजमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ को इमानदार प्रयास हुनेछ– उम्मेदवारलाई चुनाव वा प्रचारप्रसार खर्च पार्टीले नदिने, उम्मेदवारले निर्वाचन आयोगको नियमले भनेअनुसार मात्रै खर्च गर्न पाउने ।

‘राजनीतिक पार्टीले युवाको विचार र सपनालाई आफ्नो सपना बनाउन सकेनन्’ भन्ने बोधपछि नै वीरेन्द्र व्यवसायको गोरेटोबाट राजनीतिको राजमार्गमा प्रवेश गरेका हुन् । ‘जनताको जीवन कहिल्यै फेरिएन, झन् दुःखमा उनीहरू रहनुपर्‍यो,’ उनी भन्छन्, ‘अबको राजनीतिक–मार्गले तिनको जीवन सुधार गर्नैपर्छ ।’ सपनादेखि संघर्षसम्मको कठिन राजनीतिक–यात्राका नवप्रवेशी वीरेन्द्र सोचिबस्छन्– अब नेपाललाई समतामूलक, समावेशी बनाउनुपर्छ र सुन्दर ‘नयाँ युग’ मा प्रवेश गर्नैपर्छ ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully