धुर्मुसका बिताएका ८१ महिना : प्रशंसाको चुलीदेखि बेचैनीको शिखरसम्म

०७२ सालको भूकम्पपछि सामाजिक काममा होमिएर धेरैको मन जितेका धुर्मुस कसरी हैरानी र बेचैनीको दिनसम्म आइपुगे ?

मंसिर ७, २०८२

समर्पण श्री

Dhurmus' 81 months: From the peak of praise to the peak of restlessness

What you should know

काठमाडौँ — कुनै समय  ‘धुर्मुस’ अवतारमा दर्शक हँसाइरहेका हुन्थे कलाकार सीताराम कट्टेल । यतिबेला उनको अनुहार मलिन छ । केवल पीडा र उदासीले छोपिएको छ । 

उनी केही दिनअघिसम्म भरतपुर महानगरपालिका र सिंहदरबारका ढोका धाइरहेका थिए । पाँच वर्षदेखि हरदिन धाउँदाधाउँदै पनि कुनै उपलब्धि नभएपछि दुई दिनअघि उनी आँखाभरि आँसु पार्दै भरतपुर महानगरपालिकाको आँगनबाट निस्किएका छन् । 

कलाकारिताबाट लोकप्रियता कमाइरहेका सीताराम र पत्नी कुञ्जना घिमिरे यतिमा मात्र रमाउन चाहेनन् । ०७२ सालको भूकम्पपछि सामाजिक काममा होमिए । त्यतिबेला ‘धुर्मुस सुन्तली’को चर्चा यतिसम्म चुलिएको थियो कि, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू उनीहरुलाई प्रधानमन्त्री र मन्त्रीजस्तो जिम्मेवार पदमा परिकल्पना गर्थे । तर भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने महत्वाकांक्षा राख्नु नै उनीहरूको जीवनमा ओरालो यात्रा सुरु भयो ।

५७ करोड १२ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको धुर्मुस सुन्तली फाउन्डेसनले उधारोमा मात्रै १८ करोड ४३ लाख रुपैयाँको काम गरेको थियो । त्यही ऋण थाप्लोमा बोक्दा बोक्दा सीताराम अहिले थलिएका छन् । उधारोमा काम सीतारामले त्यतिबेला थालेका थिए, जब पैसा दिन्छु भन्नेहरूले उनलाई हौस्याएका थिए । तर काम हुँदै जाँदा सहयोगका वचन दिनेहरू पछि हटे । सीताराम एक्लिए ।

०७५ माघ १६ गते राष्ट्रिय सभागृहमा तामझामले घोषणा गरिएको रंगशालाको स्वामित्व अन्तत: ०७८ पुस २ गते भरतपुर महानगरलाई बुझाए । स्वामित्व पत्र बुझाउँदै गर्दा ५७ करोड ९२ लाखको काम फाउन्डेसनले गरिसकेको थियो । त्यही अधुरो काम अहिले भरतपुर महानगरले प्रदेश र संघीय सरकारको साझेदारीमा अगाडि बढाइरहको छ । त्यही संरचना बनाउँदा फाउन्डेसनले उधारोमा गरेको कामले अहिले सीतारामलाई थिचिरहेको छ । यसले उनको व्यक्तिगत जीवनमात्र होइन, पारिवारिक र सामाजिक जीवनमा पनि नराम्रो असर पारिरहको छ । 

Dhurmus' 81 months: From the peak of praise to the peak of restlessness

कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सीतारामले आफूले भोगिरहेका आरोप र पीडाका केही पाटा उप्काएका छन् । सामाजिक काममा निस्कँदा बालख छोरीलाई धरि समय दिन नपाएका सीताराम दम्पतीलाई एउटा घटनाले नराम्रोसँग बिझायो । छोरी १३ वर्षकी हुँदा एक दिन स्कुलबाट रुँदैरुँदै घर आइन् । किन रोएको भनेर सोध्दा छोरीले भनिन्, ‘बाबा तपाईंहरू त ठग रे । यो मान्छे ठग्ने काम नगर्नु न ।’ 

छोरीको कुराले उनीहरूलाई नमिठो गरी घोच्यो । छोरीलाई सोधे, ‘तिमीलाई कसले भनेको ?’ ‘साथीले भनेको ।  हिजो उसका बा आमाले कुरा गरिरहेका थिए । तपाईंहरू साँच्चिकै ठग हो र ।’ 

छोरीलाई त उनीहरूले सम्झाए । तर भुसको आगोजसरी उनीहरूमाथि लागेका निराधार आरोपले परिवारलाई निकै आहत दियो । कान्तिपुरसँगको कुराकानीमा सीतारामका भाइ कुमारले दुखेको पोखेका थिए, ‘दाइको अवस्था राम्रो छैन । बाआमा पनि यो कुराले गर्दा धेरै तनावमा हुनुहुन्छ । परिवारका सबैलाई सम्हाल्नुपरिरहेको छ ।’

कलाकारिताबाट पर छुटेका सीतारामले यसबीचमा भाइकै फिल्म ‘लाज् शरणम्’बाट कमब्याक त गरे । तर थप कलाकारिताई अझै अगाडि बढाउन सकिरहेका छैनन् । ‘यो पाँच वर्ष म सासले मात्र हिँडेँ । यदि म बाँचेँ भने यो कुरा पुष्ट हुन्छ कि म गलत थिइनँ,’ सीतारामले भन्छन् ।

आजभन्दा करिब २० वर्षअघि नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिशृंखला ‘मेरी बास्सै’ प्रसारण हुन थाल्यो । सुरुको एपिसोडदेखि नै दर्शकहरूले नबिर्सने पात्र बने ‘धुर्मुस’ र ‘सुन्तली’ । धुर्मुस सुन्तलीको जोडी रिलमा यति रुचाइन्थ्यो कि पछि वास्तविक जीवनमै उनीहरूले बिहे गर्दा उनीहरूको चर्चा घरघरमा कम थिएन । 

‘मेरी बास्सै’मा उनीहरू अरु अवतारमा पनि देखिन्थे । उनीहरूका क्यारिकेचर पनि दर्शकहरूले खुब रुचाउँथे । टेलिभिजनमा मात्र होइन, विभिन्न प्रहसनमा र स्टेज कार्यक्रममा पनि उनीहरूको व्यापक माग हुन्थ्यो । कलाकारितामा लोकप्रियता चुलिरहेकै समयमा  २०७२ वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । भूकम्पले लडेका घरहरू उठाउन लागिपर्नेमा महत्वपूर्ण पाइला सीताराम–कुञ्जनाको पनि थियो । 

काभ्रे भगवती मन्दिर नजिकै पहारी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा सामूहिक आवास हुँदै महोत्तरीको बर्दिबासमा मुसहर बस्ती र रौतहटको सन्तपुरमा उनीहरूले एकीकृत नमुना बस्ती निर्माण गरे । त्यसपछि त उनीहरूको कलाकारिता ग्राफ ओरालो लाग्दै गयो । उनीहरू सामाजिक काम रमाउँदै गए । 

२०७४ साउनको समयमा तराईको गएको बाढीको समयमा उनकोको एउटा फोटो निकै भाइरल भयो । सप्तरीको भारदहका बाढी पीडितलाई बाढीबाट आफैंले बोकेर उद्धार गरिरहेको सीतारामको फोटो भाइरल भएपछि उनलाई निक सराहना गरियो । बाढीपीडितलाई राहत वितरणजस्ता कामहरूले थप मनहरू पग्लिँदै गए । त्यही क्रममा उनले ‘नमुना नेपाल बस्ती’को परिकल्पना गरे । यो पनि महत्वाकांक्षी प्रोजेक्ट थियो उनीहरूको । तर त्यो सुरु नहुँदै स्थगित भयो ।

२०७५ वैशाखमा सीताराम दम्पतीले वीर अस्पताल चम्काउँदै गरेको देखिए । त्यतिबेला स्वास्थ्य मन्त्रालयकै पहलमा अर्थ मन्त्रालयले उनीहरूलाई रकमान्तर गरेर ७० लाख रुपैयाँ पनि दियो । सरकारको पहल भए पनि आममानसमा भने यो ‘धुर्मुस’हरूले नै गरेको बुझाइ थियो । त्यतिबेला उनीहरूको काम र पारदर्शितामा कसैले प्रश्न उठायो भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनीहरूमाथि खनिन्थे । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०७४ चैत १ मा नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता दिएपछि सीतारामले अन्तर्राष्ट्रिय रंगशालाको सपना बुनेका थिए । उनले फेसबुकबाटै मत लिएका थिए, ‘नमुना नेपाल पहिला कि अन्तर्राष्ट्रियस्तरको रंगशाला ?’  ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' भन्ने मत आएपछि सीताराम हौसिए ।

विभिन्न ठाउँमा जग्गाको लागि निम्तो दिएसँगै धुर्मुस सुन्तली भरतपुर महानगरपालिकाले पनि जग्गा हेर्न पुगे । पश्चिम चितवनमा २० बिघा ६ कट्ठा जग्गा महानगर, प्रदेश र केन्ऽबाट उनले त्यतिबेला सहजै पाए । रंगशालाका लागि त्यतिबेला एक ढिक्का देखिएका पुष्पकमल दाहाल, केपी शर्मा ओली सकारात्मक थिए । 

यता भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल पनि उत्साहित थिइन् । २०७५ माघ १६ मा फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणको सम्झौता भयो । सीतारामले राजनीतिक दलका शीर्ष नेताहरूलाई साक्षी राखेर ३० हजार दर्शक अट्ने रंगशाला ३ अर्ब ५५ करोड रुपैयाँ लागतमा दुई वर्षमा सकिने प्रतिबद्धता दिएका थिए ।

देश विदेशबाट सहयोग नआएको होइन । भरतपुरवासीले पनि आफूले सकेका आर्थिक सहयोग गरे । रंगशालाकै बजेटका लागि भनेर धुर्मुस सुन्तली विदेशमा कार्य्रकममा गए । रंगशालाकै सहयोगका लागि भनेर फिल्म ‘सेन्टी भाइरस’ निर्माण पनि गरे । विभिन्न कार्य्रक्रम गरे । भरतपुरमै सात दिन महायज्ञ आयोजना गरे । त्यो अवधिमा रंगशालाको काम उधारोमा अगाडि बढिरहेको थियो । तर जहाँजहाँबाट आउने भनिएका आश्वासनमा मात्र सीमित भए । उनीहरू पछि हटे । अन्तत: ऋणको भार थुप्रिएसँगै सीतारामले अभियानबाट हात झिके । ०७८मा महानगरले स्वामित्वमा त लियो,  तर तिर्नुपर्ने रकमको भुक्तानीका लिनका लागि उनलाई सकस परिरहेको छ ।

सीतारामले आफूसँग भएका सम्पत्ति पनि रंगशाला बनाउने क्रममै गुमाएको बताउँछन् । ‘भएको गाडी पनि टिडिएस तिर्नुपर्ने थियो, बेचेर तिरेँ । अहिले बाइक पठाओ चढेर हिँड्छु । फाउन्डेसनको कार्यालय पुरानो बानेश्वरमा थियो । १३ महिनाजति भाडा तिर्न नसकेपछि अहिले इमाडोलको गार्मेन्टमा राखिएको छ । महत्वपूर्ण डकुमेन्ट घरमा राखेको छु,’ उनी भन्छन् । 

यही दौडधूप र चिन्ताले उनी बिरामी समेत छन् । अहिले नियमित उपचार गराइरहेका छन् । भरतपुर महानगर धाउँदा उनी सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका थिए । अहिले काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यमा नसाका रोगसाथै एन्जाइटी र प्रेसर लगायतका समस्या आइरहेका छन् ।

Dhurmus' 81 months: From the peak of praise to the peak of restlessness

पछिल्लो समय भने अर्थ मन्त्रालयले १५ करोड यसका लागि छुट्याएको त छ । तर भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिन ढिलाइ गरेको छ । कहिले महानगरले अर्थ मन्त्रालयलाई चिठी लेख्न लगाउँछ कहिले खेलकुद मन्त्रालय । ‘फेरि अर्थ मन्त्रालयको चिठी चाहिन्छ भनेपछि अर्थ मन्त्रालयलाई भरतपुरले चिठी लेख्ने भयो । चिठीमा भएको भाषामा मेरो त्यतिखेरै आपत्ति थियो । यो हुने दिशातर्फको भाषा थिएन । म चिठी लिएर जान्न भनेँ । अर्थ मन्त्रालयले दिने बजेट हो, दिइहाल्यो । अरु कुनै खरिदका नियमावली बनाउने अथवा के के गर्ने त्यो महानगरपालिकाले नै गर्ने हो जस्तो लाग्छ,’ उनले सुनाए, ‘मैले सरकारका लागि गरेको भएकाले केन्द्रीय सरकार पनि जिम्मेवारीबाट पन्छिन मिल्ने होइन । महानगरपालिका अझै बढी संवेदनशील किन हुने भयो । किनकि भरतपुर महानगरपालिकासाग हामीले सम्झौता गरेर काम गरेको हो ।’ 

यता अर्थ मन्त्रालयमा पत्र लिएर पुग्दा महानगरलाई नै देखाइन्छ । खेलकुद मन्त्रालयमा पुग्दा पनि उही निराशा बोकेर उनी फर्कुनुपर्छ । ‘म त हुलाकी भइरहेको छु । भरतपुरदेखि केन्द्र केन्द्रदेखि भरतपुर । फेरि युवा तथा खेलकुद मन्त्रालयको राय चाहिन्छ भनेर फेरि चिठी लखियो । त्यो चिठी बोकेर आएपछि बोर्डबाट टुंग्याउने भन्ने थियो । सप्लायर्स नि त्यहाँ पुगे । तत्काल केही निकास  निस्किएन,’ उनी गुनासोसहित भन्छन् । 

रकम पाएदेखि १ सय ४४ जना सप्लायर्सलाई दायित्व फरफारक गरेर जिम्मेवारीबाट मुक्त हुन मन छ सीतारामलाई । तर किन भइरहेको छैन ? सामाजिक सञ्जालमा व्यापक दबाब र प्रश्न उठ्न थालेपछि भरतपुर महानगरपालिकाले विज्ञप्ति नै जारी गर्‍यो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा निजी दायित्व सरकारी रकम प्रयोग गरी भुक्तान गर्ने विधि महानगरले खोज्दै गरेको उल्लेख छ । ’व्यक्ति तथा संस्थाले निजी रूपमा सिर्जना गरेको निजी दायित्व सरकारी रकम प्रयोग गरी भुक्तानी दिने विषय अत्यन्त संवेदनशील एवं कानुनी रूपमा जटिल विषय हो,’ विज्ञप्तिमा उल्लेख छ । रकम खर्च गर्ने प्रक्रिया र कार्यविधि महानगरले भेटाउन सकेको छैन ।

’हाम्रो भनाइ संघीय मन्त्रिपरिषद्ले निर्णय गरेर सिधै फाउन्डेसननलाई अनुदान दिनुपर्ने भन्ने हो । बरु के सिफारिस गर्नुपर्ने हो, हामी त्यो सबैगर्न तयार छौं,’ महानगर प्रमुख रेनु दाहाल भन्छिन् । नेपालमा प्रचलित कुनै पनि कानुनमा निजी या सामुदायिक संस्थाले निर्माण वा सिर्जना गरेको सम्पत्ति खरिद गर्ने प्रक्रिया वा कार्यविधि यस महानगरले फेला पार्न नसकेको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेललले कान्तिपुरकर्मीसँग यो विषयमा थप स्पष्ट हुन आफूहरूले संघीय अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा पनि पत्राचार गरेको र ती दुवै संस्थाबाट थप राय आवश्यक नरहेको भन्ने जवाफ पाएको बताए । ‘यस विषयमा बुझ्न हामीले अर्थ र खेलकुद मन्त्रालयमा पनि बुझ्यौं । महानगरले २१ कात्तिकमा यस विषयमा थप स्पष्ट हुनका लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको रहेछ । जसको जवाफ मन्त्रालयले २४ कात्तिकमा दिएको रहेछ । महानगरले २८ कात्तिकमा फेरि खेलकुद मन्त्रालयमा पत्राचार गरेको छ । खेलकुद मन्त्रालयले भने ३० कात्तिकमा जवाफ दिएको रहेछ, ’ उनले भने ।

अर्थ मन्त्रालयका अनुसार संघीय सरकारको निर्णय र बजेटको व्यवस्थाअनुसार रंगशाला निर्माणका लागि १५ करोड रुपैयाँ भरतपुर महानगरलाई पठाइसकिएको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले उक्त रकम महानगरमार्फत भुक्तानी हुने बताउँदै भने, ’ कार्यान्वयन गर्ने निकाय भरतपुर महानगर हो । प्रक्रियागत रूपमा के–के गर्ने भन्ने काम उसकै जिम्मा हो ।’ 

अर्थले निकासा गरेको रकम भुक्तानी गर्नका लागि केही अवरोध छ ? कान्तिपुरको प्रश्नमा प्रवक्ता पाण्डेले भने, ’अर्थ मन्त्रालयले सबै कुरा हेरेर बस्दैन । कार्यान्वयन गर्ने निकायले कुन विधिबाट कसरी गर्ने भन्नेबारे निर्क्योल गर्ने हो । कुन कानुन प्रचलित नियम हेरेर गर्नुहुन्छ, त्यो उहाँहरूकै जिम्मा हो ।’ उनले भुक्तानीको प्रक्रियामा केही अप्ठेरो भएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको पनि बताए ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully