प्रसाईं समूहका सदस्यले बन्दको अवज्ञा गर्दा तोडफोड, आगजनी र लुटपाट भए आफूहरु जिम्मेवार नहुने भन्दै पत्र लेखेको पाइएपछि प्रहरीले थप सदस्यलाई समात्ने तयारी गरेको थियो ।
What you should know
काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाभियानसँग गएराति बालुवाटारमा भएको सहमतिपछि दुर्गा प्रसाईं समूहका केही सदस्यहरु पक्राउ पर्नबाट बचेको खुलेको छ ।
७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेको थाहा पाएपछि प्रहरीले समूहका सदस्यहरूमाथि निगरानी बढाएको थियो । प्रहरी स्रोतका अनुसार अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पित र संगठन सचिव प्रेमदीप लिम्बूको हस्ताक्षर भएको पत्रमा ‘बन्दको अवज्ञा गरी कोही कसै अज्ञात समूहबाट तोडफोड र आगजनी, लुटपाट भए महाअभियान जिम्मेवार नरहने’ उल्लेख गरिएको थियो ।
‘खुलेआम त्यसरी तोडफोड, आगजनी र लुटपाट हुन्छ भनेर भनेपछि निगरानी बढाएका थियौं,’ एक प्रहरी उच्च अधिकृतले भने, ‘त्यसरी कसैलाई पनि अराजकता मच्चाउने छुट दिनु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’
तर, गृहमन्त्री ओमप्रकाश अर्यालसमेतको अग्रसरतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समूहका सदस्यहरुसँग वार्ता भयो । त्यसअघि निराजन प्रसाईंसमेतका सदस्यहरुले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा गएर प्रसाईंसँग कुराकानी गरेका थिए । डा. निराजन दुर्गा प्रसाईंका छोरा हुन् । प्रसाईंलाई हिरासतमा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले समेत भेटेका थिए ।
बालुवाटारमा वार्ताका लागि जाने थाहा पाएपछि प्रहरीले तत्काल आफ्नो योजना ‘होल्ड’मा राख्यो भने निगरानी जारी राख्यो । ‘सहमति नजुटेको भए पक्राउ गर्ने गरी तयारी थियो,’ एक उच्च अधिकृत भन्छन् ।
तर, राति प्रसाईंको समूहसँग शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर नागरिक बचाउ महाभियानले उठाएको मुद्दाको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भयो । योसँगै ७ मंसिरबाट हुने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हडतालका कार्यक्रम फिर्ता लिएर शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति समेत भयो ।
‘अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेको सहमतिको बुँदामा भनिएको छ ।
बन्दका नाममा आतंक फैलाउने विषयमा पक्राउ गर्न लागिएकामा उनीहरुले शान्तिपूर्ण कार्यक्रममा परिणत गर्ने भनेपछि पक्राउ गर्नबाट आफूहरु पछि हटेको प्रहरी अधिकृतहरु बताउँछन् ।
यसैबीच, दुर्गा प्रसाईंलाई बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइँदै छ । अराजक अभिव्यक्ति दिएर समाजमा त्रास फैलाएको भन्दै प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई ६ दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको पेशी भएको र शुक्रबार २४ घण्टामा उपस्थित गराउन आदेश गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
