राजनीतिक अध्ययनदेखि संविधान संशोधन कार्यदलहरू गठन ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवाहरूसँग संवाद गर्ने भएको छ । रास्वपाको केन्द्रीय समितिले निर्णय गरेर पार्टीमा युवा सहभागिता बढाउका लागि ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवासँग राजनीतिक विषयमा छलफल र संवाद गर्ने निर्णय गरेको हो ।
७७ वटै जिल्लामा सक्रिय पार्टी संयन्त्रले जेन-जी उमेर समूहका युवासँग संवाद गर्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेको हो ।
बिहीबार सार्वजनिक रास्वपा केन्द्रीय समितिको निर्णयमा निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत पार्टीमा युवाहरूलाई आबद्ध गर्नका लागि उक्त कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको हो । 'सबै प्रदेश र सबै जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने । केन्द्रीय समितिबाहेकका सबै रिक्त पद समावेशिताको सिद्धान्तलाई अनिवार्य पालन गरी अधिकतम पदपूर्ति गर्न निर्देशन दिने,' रास्वपा केन्द्रीय समितिको निर्णयमा भनिएको छ, 'सातै प्रदेश एवं ७७ जिल्लामै सम्बन्धित तहगत समितिले संयोजन/निर्देशन गरी जेन-जी उमेर समूहका युवा पुस्तासँग छलफल/ संवाद कार्यक्रम आयोजना गर्ने । पार्टीको सबै तह, संयन्त्रमा युवा सहभागिता बढाउन आवश्यक गृहकार्य गर्ने ।'
रास्वपाले 'युवा राष्ट्र निर्माण एकेडेमी' कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । यो कार्यक्रम युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेन-जी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गर्दै नेपालका राजनीतिक तथा संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल तथा संसदीय प्रक्रियाको व्यवहारिक अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गर्नका लागि आयोजना गरिन लागिएको रास्वपाको निर्णयमा उल्लेख छ । यो कार्यक्रम केन्द्रीय कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग तथा नेतृत्व क्षमता विकास विभागको समन्वयमा सञ्चालन गरिने उल्लेख छ भने कार्यक्रमको संयोजक पार्टीको कानुन तथा मानवअधिकार विभाग प्रमुख सोबिता गौतमलाई तोकिएको छ ।
त्यस्तै, रास्वपाले विराजभक्त श्रेष्ठको संयोजकत्वमा राजनीति अध्ययन कार्यदल गठन गरेको छ । जसमा पुकार बम, गणेश कार्की, प्रकाश बिष्ट, मदन खड्का, देवराज पाठक, राजन गौतम, अचुत्तम लामिछाने, तपेश्वर यादव र गोमा तामाङ सरिन सदस्य रहेका छन् ।
संविधान संशोधन र संविधान सम्बद्ध कानुन कार्यदल पनि रास्वपाले गठन गरेको छ । उक्त कार्यदलको संयोजक सोबिता गौतमलाई तोकिएको छ । निर्वाचन रणनीति कार्यदलको संयोजकमा मनिष झा संयोजक रहेका छन् भने विष्णुकुमार श्रेष्ठ, टीका संग्रौला (ज्वाला), पारसमणि गेलाल र प्रदेश सभापतिहरू पदेन सदस्य रहने निर्णय रास्वपाले गरेको छ । निशा डाँगीको संयोजकत्वमा मिडिया अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।
