एमाले नेताहरूसहित यात्रुहरू बुद्ध एयरको जहाजमा बसी सके पनि सिमरामा अवस्था तनावग्रस्त भएपछि उडान रोकिएको हो ।
What you should know
बारा — बाराको सिमरामा जेन-जी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ । सिमरा विमानस्थलबाहिरै झडप भएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति नियन्त्रण गर्न प्रहरीले एयरपोर्टको अगाडि मुख्यद्वारमा ४ सेल अश्रुग्यास प्रहार गरेको छ । सिमराको मुख्य राजमार्ग र एयरपोर्ट आसपासमा अहिले पनि तनावपूर्ण स्थिति र भीड छ ।
पूर्व-पश्चिम राजमार्गको पथलैयादेखि एमालेको निर्धारित कार्यक्रमस्थल परवानीपुर हुँदै वीरगन्जको गण्डकसम्मको त्रिभुवन राजपथको ५ मिटर दायाँबायाँ र सिमरा एयरपोर्टको ५ सय मिटर वरिपरि कर्फ्यु आदेश जारी गरिएको छ ।
अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् । प्रजिअ धर्मेन्द्रकुमार मिश्रले भने, 'अहिले अवस्था सामान्य छैन । नियन्त्रणको प्रयास गरिरहेका छौँ ।'
सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कर्फ्यु जारी गरिएको प्रजिअ मिश्रले बताए । कर्फ्युको समय बुधबार दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि जारी गरिएको छ ।
एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका हुन् ।
एमाले नेताहरूसहित यात्रुहरू बुद्ध एयरको जहाजमा बसी सके पनि सिमरामा अवस्था तनावग्रस्त भएपछि उडान रोकिएको हो ।
बुधबार १० बजेदेखि बाराको परवानीपुरमा राष्ट्रिय युवा संघ, नेपाल मधेश प्रदेश कमिटीको आयोजनामा 'युवा जागरण अभियान' कार्यक्रम गरिँदै थियो । विमानस्थल खुलेदेखि नेताहरू कार्यक्रममा जाने तयारी रहेको छ ।
