'म सरकारलाई भन्न चाहन्छु- दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाइने पनि हुन्छ ।'-ओली
What you should know
काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग माग गरेका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई बोलेबापत पक्राउ गरिएको जिकीर गर्दै तत्काल छोड्न दबाब दिएका छन् ।
अध्यक्ष ओलीले प्रसाईंलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उल्लेख गर्दै सो कुरा स्वीकार्य नहुने समेत बताए । बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईंलाई पक्राउ गर्न नमिल्ने ओलीको भनाइ थियो ।
'म सरकारलाई भन्न चाहन्छु- दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाइने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ–बोलेबापत नै थुन्न मानव अधिकारको उल्लंघन हो । सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ,' ओलीले भने ।
ओलीले बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे पक्राउ गर्न नहुने बताए । अध्यक्ष ओलीले सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरको आरोप समेत लगाए । सरकारले मुसाले बिरालो खेदे जसरी एमालेलाई पेल्ने प्रयास गरिरहेको ओलीको भनाइ छ ।
सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
पछिल्लो समय उनले दूतावासहरूको नाम नै तोकेर बम प्रहार हुन सक्ने र दोष आफूलाई थुपारिदिन सक्ने भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रसंग उठेको थियो । त्यसपछि बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।
