गेरुवामा पानी सुकेपछि वन्यजन्तु भारततर्फ पलायन हुँदै

२० वटा गैंडा बर्दिया निकुञ्ज हुँदै सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा गएको अनुमान

मंसिर २, २०८२

कमल पन्थी

Wildlife is migrating towards India as water dries up in Geruwa

What you should know

बर्दिया — हिउँद लागेपछि कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानी सुक्दै गएको छ । गेरुवा नदीमा तीव्र गतिमा बग्ने गरेको पानी  ८ वर्षयता सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडालगायत वन्यजन्तु पलायन हुन थालेका छन् ।

करिब २ दशकअघिसम्म बाह्रै महिना बेगले बग्ने गेरुवा नदीमा पानी विस्तारै सुक्दै गएको छ । गैंडाका लागि प्रशस्त आहालसमेत नभएपछि छिमेकी मुलुकसँग जोडिएको कतरनियाघाट आरक्षमा पलायन हुँदै पुगेका छन् ।

त्यहाँ प्रशस्त आहाल भएका कारण यहाँका गैंडाका लागि बासस्थान बन्दै गएको संरक्षणकर्मी कृष्णप्रसाद भट्टराईले बताए । गेरुवा नदीमा प्रशस्त पानी नबगेसम्म वन्यजन्तु भारतीय आरक्षमा पलायन भई बर्दिया निकुञ्ज शून्यको अवस्थामा पुग्ने उनले बताए ।

हालै निकुञ्जले गरेको अनुगमनका क्रममा २० वटा गैंडा बर्दियासँग जोडिएको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाअन्तर्गत कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा वन्यजन्तुको लागि पानीको मुख्य स्रोत गेरुवा नदी थियो । पानी सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा तथा डल्फिन भारतीय सीमावर्ती कतरनियाघाटतर्फ पलायन भएका छन् ।

सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा २० वटा गैंडा बर्दिया निकुञ्ज हुँदै त्यसतर्फ गएको अनुमान बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । चैत महिनामा गैंडाको गणना भएपछि वास्तविकता बाहिर आउने उनले जनाए ।

भारतीय आरक्षमा गैंडाका लागि पानीको आहाल राम्रो रहेको र त्यहाँ निर्माण गरिएको कर्णाली नदीको बाँधका कारण पर्याप्त पानीमा डल्फिन पुगेका छन् । कर्णाली नदीमा दुई दशक अघिसम्म प्रशस्त डल्फिन भएकोमा हाल आएर तीन वटा मात्र देखिएको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । विगतमा गेरुवा नदीमा डल्फिन साथै दुर्लभ माछा तथा जलचर पंक्षी पर्याप्त थिए । अब यहाँ डल्फिनलगायत जलचर प्राणी पाइने छाडेको छ । अधिकांश जलचर प्राणी भारतमा पलायन भइसकेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी बताउँछन् ।

चिसापानीदेखि करिब ३ किमी दक्षिणतर्फबाट कर्णाली नदी विभाजन भएर पूर्व र पश्चिमतर्फ बग्ने गर्छ । गेरुवा थुनिएपछि निकुञ्जसँग जोडिएको पश्चिम क्षेत्रमा पानी खोला-नालामा सुक्न थालेको छ । स्थायी रूपमा गिट्टी, ढुंगा हटाई पक्की बाँध बाधेर पानी बाँडफाँट नभएसम्म गेरुवामा पानीको समस्या भइरहने ठाकुरबाबा-८ का रामाशंकर थारूले बताए । ‘एकातिर वन्यजन्तु र अर्को तिर किसानले खेतीका लागि पानी पाएका छैनन्,’ उनले भने, ‘बाह्रै महिना प्रशस्त पानी बग्न गिट्टी, ढुंगा र बालुवा हटाई लालमटियामा पक्की बाँध बाध्नु जरुरी छ ।’

बर्दिया निकुञ्ज हुँदै बबई र कर्णालीको भंगालो गेरुवा नदी बग्ने गर्छ । बबई भने निकुञ्जको पूर्वी सीमाना बासगढी नगरपालिका–१ चेपाङ हुँदै परेवा ओडारबाट गुलरिया तर्फ बग्ने गरेको छ । निकुञ्जभित्र वन्यजन्तुको लागि ५२ वटा पोखरी, ५५ वटा सोलार बोरिङ जडान गरी वन्यजन्तुका लागि पानीको व्यवस्था गरिए पनि कतिपय पोखरी सुकिसकेका छन् । 

कतिपय ठाउँमा हात्तीले हानेर सोलार भत्काएको निकुञ्जले जनाएको छ । ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दो छ । निकुञ्जको पछिल्लो गणनामा बाघ १ सय २५ रहेको छ । हात्ती झन्डै १ सय २० भएको अनुमान गरिएको छ । तर पर्याप्त पानीको स्रोत हुँदाहुँदै गेरुवामा थुनिएका गिट्टी, ढुंगा, बालुवा र काठ नहटाउँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको वन उपभोक्ता महासंघका सचिवालय सदस्य मोहम्मद कर खाँले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully