जो क्रिकेट हेर्नकै लागि कोहलपुरबाट काठमाडौं आए

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करण सुरु भएसँगै विभिन्न जिल्लाबाट खेलको समर्थन गर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आउने क्रिक्रेट प्रेमीको संख्या बढ्दो छ ।

मंसिर २, २०८२

विवेक पोख्रेल

Who came to Kathmandu from Kohalpur to watch cricket

काठमाडौँ — कोहोलपुरबाट कर्णाली याक्सलाई समर्थन गर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुर आएका कविराजसिंह ठकुरी उत्साहित छन् । उद्घाटन खेलमा टिकट नपाएपनि साथीहरुसहित उनले त्रिवि रंगशालामा मंगलबार प्रत्यक्ष खेल हेरे ।

उनीसहित ७ जना साथी मिलेर कर्णाली याक्सलाई समर्थन गर्न काठमाडौं आएका हुन् । कोहलपुरमा हुर्किए पनि उनलाई जन्मस्थल कर्णालीकै धेरै माया लाग्छ । उनसँगै रहेका उनका साथी खगेन्द्र शाही खेल अवधिभरि आफूहरु काठमाडौं नै बस्ने बताउँछन् । ‘हामी त गाउँबाट खेल हेर्नकै लागि आएको हो । बानेश्वरमा साथीको कोठा छ । राति त्यहाँ सुत्न पुग्ने  र दिउँसो खेल हेर्न आउने हो,’ उनले भने,‘खेल हेर्न भनेर घरबाट नै पैसाको व्यवस्था पनि गरेर आएका छौं । ’

उनीहरु समूह नेपालको राष्ट्रिय झन्डासहित मैदानमा देखिँदा कोटेश्वरमा बस्दै आएका दीपक ओली र रामकृष्ण ढकाल गालामा कर्णाली याक्सको लोगोसहित कर्णाली याक्सकै जर्सीमा थिए । उनीहरुको घर रुकुम हो ।  

‘हामी कर्णाली याक्सलाई हौसाला दिन मैदान आएका हौं,’ उनीहरुले भने, ‘कर्णाली भन्ने शब्द सुन्दा र खेलाडी देख्दा भित्रबाट नै छुटै जोश आउँछ ।’ उनीहरु कर्णालीको खेल हुँदा दिनदिनै मैदानमा हेर्न आउने बताउँछन् । 

Who came to Kathmandu from Kohalpur to watch cricket

यद्यपि मंगलबारको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

देशमा चौतर्फी निराशा छाइरहेका बेलामा कीर्तिपुरमा क्रिकेटको महा–उत्सवले टिमको हार/जित भन्दापनि नेपालीमा आशा, उमंग जगाउने र उत्साह थप्ने काम गरिरहेको रंगशालामा आएका समर्थकहरु बताउँछन् । 

खेल सुरु हुनुभन्दा घण्टौंअघि नै समर्थकको लाइन मैदानको बाहिर लाग्नु, रातभरिको यात्रा तय गर्दै काठमाडौं आइपुग्नु, आफ्नो टिमको समर्थनका लागि लोगो नै शरीरका विभिन्न भागमा बनाउनु, टिमको झन्डा बोक्दै चिच्याएर साथ दिनु, टिमअनुसारको भेषभूषा, संस्कृति र बाजागाजासहित प्रस्तुत हुनु जस्ता घटना एनपीएलको लोभलाग्दा र रोचक दृश्य हुन्।

घुम्न, किनमेल गर्न वा कुनै पारिवारिक/सरकारी कामका लागि मात्र काठमाडौं आउने नेपाली परम्परामा आफ्नो टिम, खेलाडी र क्षेत्रको समर्थन गर्दै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्मै खेल हेर्न आउने संस्कार बनिरहेको सहभागीहरु बताउँछन् । 

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करण सुरु भएसँगै विभिन्न जिल्लाबाट खेलको समर्थन गर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आउने क्रिक्रेट प्रेमीको संख्या बढ्दो छ । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully