दाउन्नेमा १२ घण्टादेखि यातायात अवरुद्ध

सडक निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीकाे लापरवाहीले राजमार्ग १२ घण्टादेखि अवरुद्ध भएकाे हाे ।

मंसिर २, २०८२

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत बुटवल-नारायणगढ खण्डकाे दाउन्नेमा गएराति यातायात अवरुद्ध बनेकाे छ ।

सडक निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीकाे लापरवाहीले  राजमार्ग १२ घण्टादेखि अवरुद्ध भएकाे हाे । 

दाउन्ने क्षेत्रमा खटिएका प्रहरी निरिक्षक थमनसिंह रानाका अनुसार विश्कर्मा मन्दिरनजिक कल्भर्ट निर्माण गर्न खनेको धुलाम्ये सडकमा ठेकेदारले पानी हालेका कारण चिप्लाेमा गाडी उक्लन नसकेर राजमार्ग अवरुद्ध भएको हो ।

कल्भर्ट निर्माण गर्ने सडक खनेको ठाउँमा आफै रसाएर पानी बगिरहेको थियो । त्यही ठेकेदारले फेरि ट्यांकरबाट पानी हालेका कारण उकालोमा गाडी चढ्न नसकेर राजमार्ग अबरुद्ध भएको रानाले टेलिफोनमा जानकारी दिए । 

बर्दघाट हुँदै नारायणगढतर्फ आउने गाडीकाे लाइन विश्वकर्मा मन्दिरनजिक आइपुगेको छ । नारायणगढ कावासोती हुदै बर्दघाट बुटवल जाने गाडी उकालोमा चढ्न नसकेर इलाका प्रहरी कार्यालय दुम्कीबाससम्म लाइन लागेको रानाले जानकारी दिए ।

पश्चिमबाट नारायणगढतर्फ आउने गाडी तानेर आउजाउको व्यवस्था मिलाइएको र पश्चिम तर्फ जाने सडक पुर्ने र गाडी स्काभेटरले धकेर पठाउने प्रयास भइरहेको उनले बताए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully