मधेश सरकार गठन विवाद :  इजलासमा प्रश्न, मुख्यमन्त्री नियुक्ति कात्तिक २३ कि २४ ?

ठूलो दलका रूपमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले २४ गते बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ लिएपछि विवादित भएको थियो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Madhesh government formation controversy: Question in the bench, Chief Minister appointment on Kartik 23 or 24?

What you should know

काठमाडौँ — मधेशको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको मुद्दामा सुनुवाइ  सर्वोच्च अदालतमा जारी छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा निवेदक पक्षले बहस सकेका छन् भने विपक्षीहरूले आफ्ना तर्क राखिरहेका छन् । ठूलो दलका रूपमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले २४ गते बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ लिएपछि विवादित भएको थियो ।

प्रदेशसभाभन्दा बाहिर गएर मुख्यमन्त्री बनाएपछि एमालेबाहेक ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार भएको द्विपक्षीय बहसमा इजलासले डेढ /डेढ घण्टाको समय उपलव्ध गराएको थियो । रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता शम्भु थापा,हरिहर दाहाल,शेरबहादुर केसी, अधिवक्ता दिपेन्द्र झा,पञ्कज कर्ण,सुनिलरञ्जन सिंहलगायतले बहस गरेका थिए ।

बहसका क्रममा तीन वटा प्रश्न उठेको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८को उपधारा २ अनुसारको मुख्यमन्त्रीले राजीनामा दिएको अवस्थामा उपधारा ३ अनुसार बहुमत भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउन मिल्छ कि मिल्दैन,मुख्यमन्त्री बनाउने  र शपथ लिने प्रक्रिया प्रदेशसभामै हुनुपर्छ कि बाहिर पनि गर्न सकिन्छ र तेस्रो प्रश्न थियो मुख्यमन्त्रीको नियुक्ति २३ वा २४ कात्तिकमा कहिले भयो ? 

बहसका क्रममा अधिकाश निवेदकका कानुन व्यवसायीले २३ गते नियुक्ति गरिएको पत्र नै अवैधानिक भएको जिकीर गरे । २४ गते बिहान ४ बजे प्रदेश प्रमुख काठमाडौं जाने भनी हिँडेको तर बीच बाटैमा शपथ लिएकाले अघिल्लो दिन नियुक्ति नै नभएको दाबी गरे ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै एमालेका सांसद यादवलाई मुख्यमन्त्री नियुक्ति गरेको निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ । 

सर्वोच्चले कात्तिक २३ गते यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न आदेश गरेको थियो । नेकपा एमालेबाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो।

सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका थिए ।

मधेश प्रदेशमा १ सय ७ जना सांसद छन् । सरकार बनाउन ५४ सांसद बहुमत संख्या हो। एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ हो

कान्तिपुर

Link copied successfully