आवागमन जाँच सहजताका लागि बनाइएका संरचना पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्छ, तर अहिले डेस्कमा खटिने अधिकृत १ सय ११ जना मात्रै छन् ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा आगमन र प्रस्थानतर्फ यात्रुका कागजात जाँच गर्न ४५ डेस्क छन् । तर, कर्मचारी अभाव देखाएर अहिले दुवैतर्फका डेढ दर्जन डेस्क खाली छन् ।
जसका कारण दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने विमानस्थल अध्यागमनमा चाप बढेको छ । पछिल्लो समय भिजिट भिसामा जाने यात्रुका लागि नयाँ मापदण्ड जारी भएपछि कर्मचारी विमानस्थल अध्यागमनमा जानै नचाहेको गृह मन्त्रालयको दाबी छ ।
अध्यागमन विभागका अनुसार प्रस्थानतर्फ २३ र आगमनतर्फ २२ डेस्क छन् । दिनमा तीन सिफ्टमा काम हुने गरेको छ । यसका लागि हरेक सिफ्टमा ८/८ घण्टाको पालोमा कर्मचारी खटिने गरेका छन् । आवागमन जाँच सहज बनाउन बनाइएका संरचनालाई पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्छ ।
सोमबारसम्मको अभिलेखअनुसार डेस्कमा खटिने अधिकृत १ सय ११ जना मात्रै छन् । भिजिट भिसा मापदण्ड संशोधनको भोलिपल्ट १४ कात्तिकसम्म १ सय २१ जना अध्यागमन अधिकृत विमानस्थल डेस्कमा कार्यरत थिए ।
जनशक्ति नहुँदा डेस्क खाली भएको विभागका महानिर्देशक रामचन्द्र तिवारीको दाबी छ । कर्मचारी बढाउन विभागले संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण अघि बढाएको छ । ओएण्डएम गरेर विमानस्थल अध्यागमनमा अधिकृतको दरबन्दी बढाउने पहल भइरहेको र त्यसपछि पूर्ण क्षमतामा डेस्कलाई सञ्चालन गरिने उनको भनाइ छ ।
विमानस्थलबाट दैनिक आवागमन गर्ने यात्रुको संख्या सरदर १९ हजारभन्दा बढी छ । २३ देखि २८ कात्तिकसम्म नेपाल भित्रिने र बाहिरिने यात्रुको संख्या १ लाख १२ हजार ९ सय ३५ जना देखिन्छ । यसमध्ये ९८ प्रतिशत यात्रु त्रिभुवन विमानस्थलबाट आवागमन गर्ने गरेको विभागका अधिकारी बताउँछन् । तर, यात्रु आवागमन चापलाई सहज, व्यवस्थित र छरितो बनाउन कागजात जाँच गर्ने विमानस्थलका अध्यागमन डेस्क पूर्ण सञ्चालनमा ल्याइएको छैन ।
विगतमा भिजिट भिसाको आवरणमा असुली धन्दा चलाउने संगठित गिरोहले नै एयरलाइन्स, अध्यागमनका कर्मचारी, प्रहरी, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, म्यानपावर व्यवसायीको सेटिङमा योजनाबद्ध रूपमा अध्यागमन डेस्क पूर्ण सञ्चालनमा ल्याउन अवरोध पुर्याएको आरोप लागेको थियो । त्यसपछि केही कर्मचारीलाई काजमा खटाएर पनि बन्द डेस्क खुलाउने प्रयास भएका थिए । तर, अहिले काजमा रहेका कर्मचारी फिर्ता भइसकेका र भिजिट भिसासम्बन्धी विगतका कठोर प्रावधान संशोधन गरी खुकुलो बनाएपछि भएका कर्मचारी पनि धमाधम सरुवा भएर बाहिरिन थालेकाले पनि डेस्क सञ्चालनमा कठिनाइ भएको विभागले जनाएको छ ।
विगतमा विमानस्थल अध्यागमन जान कर्मचारीहरूले सोर्सफोर्स लगाउने गरेका थिए । गिरोहको सेटिङमा विदेश जाने यात्रुबाट रकम असुल्ने र त्यसको निश्चित हिस्सा कर्मचारीसम्म पुग्ने भएपछि अध्यागमन कर्मचारीका लागि आकर्षक मानिन्थ्यो । पछिल्लो पटक सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा खुकुलो बनाउनुका साथै कर्मचारीका गतिविधि पनि अनुसन्धान गर्ने निकायको राडारमा पर्न थालेपछि सरुवा माग्नेको संख्या बढेको हो ।
अध्यागमन विभागका अनुसार विमानस्थलमा कार्यरत २३ जना कर्मचारी एक वर्ष नपुग्दै सरुवा भएर गृह मन्त्रालय गएका छन् । सरुवा भएकामध्ये केहीको रमाना हुन बाँकी रहेको र अधिकांश सरुवा भएको स्थान गइसकेको विभागका महानिर्देशक तिवारीको भनाइ छ । २८ फागुन २०८१ मा विमानस्थल गएका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेको हालै गृह मन्त्रालयमा सरुवा भइसकेको छ । यद्यपि उनको रमाना हुन बाँकी छ । अर्का वरिष्ठ अध्यागमन अधिकृत ईश्वरदत्त पनेरुको पनि गृहमै सरुवा भइसकेको छ ।
अध्यागमन अधिकृतहरू रेशमबहादुर बुढा, कृष्णनन्द जोशी, सूर्यबहादुर थापा, दीपेन्द्र दाहाल र शान्ति तामाङ गृह मन्त्रालयमा सरुवा भएका छन् । उनीहरूको रमाना हुन बाँकी रहेको विभागले जनाएको छ । विमानस्थल अध्यागमनबाट सरुवा भइसकेका अध्यागमन अधिकृतहरू टेकबहादुर मौनी, मनोज साह, केदारप्रसाद खतिवडा, टेकबहादुर कार्की, नृपजंग शाही, रुद्रबहादुर पछाईं, विजय भट्टराई, सन्तोषकुमार भट्ट, अमृतप्रसाद सुवेदी, नारायणप्रसाद खनाल, सौरभ बस्याल छन् ।
त्यस्तै वरिष्ठ अध्यागमन सहायक चक्रबहादुर चन्द र उमेश भट्टराईको सरुवा भइसकेको छ । अध्यागमन सहायक रामचन्द्र शर्मा र विनोदप्रसाद अर्यालको रमाना बाँकी छ । कम्प्युटर अपरेटर धनराज बुढाको रमाना भइसकेको छ । अर्का अपरेटर होमनाथ गौतमको रमाना हुन बाँकी रहेको विभागले जनाएको छ । त्यस्तै कार्यालय सहयोगी प्रल्हाद सापकोटाको पनि सरुवा भइसकेको छ ।
भिजिट भिसा तस्करी प्रकरणमा अनुसन्धानका लागि तत्कालीन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई ७ जेठ २०८२ मा अख्तियारले नियन्त्रणमा लिएपछि विमानस्थल अध्यागमनका डेढ दर्जन बढी कर्मचारी हटाइएको थियो । शंकास्पद गतिविधि गर्ने गरेको पाइएपछि उनीहरूलाई अन्यत्र सरुवा गरिएको थियो । त्यसपछि विभाग, मन्त्रालय र अन्यत्र कार्यरत कर्मचारीलाई विमानस्थलमा खटाइएको थियो । तर, पछिल्लो पटक तीन महिनाअघि गएकासहित सरुवा भएको एक वर्ष नपुग्दै २ उपसचिवसहित २३ कर्मचारी सरुवा मागेर अन्यत्र गएका हुन् ।
१३ कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भिजिट भिसासम्बन्धी मापदण्ड–२०८० संशोधन गरी विगतका कठोर प्रावधान हटाएका थिए । साथै तोकिएका कागजात भएर पनि यात्रुलाई विभिन्न बहानामा अध्यागमन कक्षबाटै फिर्ता गरिए फिर्ता गर्ने कर्मचारीमाथि पनि कारबाही हुने गरी आन्तरिक परिपत्र भएको थियो । ‘भिजिट भिसासम्बन्धी मापदण्डमा सुधारका पहललाई केही पक्षले रुचाएको छैन, त्यही भएर सरुवा माग्नेहरू बढेका छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।
भिजिट भिसामा जान विगतमा ल्याइएका कडा प्रावधान हटाएर यात्राका लागि ६ महिना अवधि भएको नेपाली राहदानी, गन्तव्य मुलुकको भिसा, गन्तव्य मुलुक प्रस्थान गर्दाको हवाई टिकट र आफू विदेश जान पेस गरिएका कागजात तथा यात्राको जोखिमबारे ‘स्वघोषणा’ गरे पुग्ने गरी नयाँ मापदण्ड जारी गरिएको थियो । योसँगै गिरोहले यात्रुलाई सास्ती दिने काम पनि बिस्तारै नियन्त्रणतर्फ गइरहेको अध्यागमन विभागको भनाइ छ । यही बेला केही एयरलाइन्सले बहानाबाजी गरेर यात्रु अफलोड (फिर्ता) गर्न थालेपछि अब कारण खुलाएर मात्रै अफलोड गर्नुपर्ने प्रबन्ध आइतबार अध्यागमनले गरेको छ ।
महानिर्देशक तिवारीका अनुसार अबदेखि अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान कम्पनीले यात्रु अफलोड गरेको कारणसहितको विवरण तयार गरी दैनिक रूपमा विभागमा पठाउनुपर्नेछ । यदि सरकारले तोकेका कागजातसहित पुगेका यात्रुलाई विभिन्न बहानामा बोर्डिङ पास नदिई फिर्ता गरेको भेटिए यसबाट सिर्जित सबै आर्थिक दायित्व फिर्ता गर्ने एयरलाइन्सको हुने र यसमा संलग्न सम्बद्ध व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।
विगतमा भिजिट भिसामा जानेले राहदानी, भिसा, ५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तकोमा बस्ने भए तीनपुस्ते नाता विवरण खुल्ने कागजात तथा यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदीका लागि यात्रा गर्नेले स्वघोषणा गर्नुपर्नेसहितका प्रावधान थियो । यही कठोर प्रावधान छलेर गिरोहमार्फत रकम बुझाउने र त्यही गिरोहको नेटवर्कबाट विदेश पुग्ने प्रवृत्ति नरोकिएपछि विवादित प्रावधान हटाउनुपर्ने बहस भएको थियो ।
