सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारीले भेटघाटमा भनिन्,'निर्वाचन नै अहिलेको निकासको सही बाटो हो ।'

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Minister of Communications Kharel meets with former President Bhandari

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा सोमबार भएको भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको थियो । 

सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्व राष्ट्रपतिलाई जानकारी गराएका थिए । मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मिति (फागुन २१ गते) मै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरिरहेको समेत बताए । 

सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरूप सरकारले निर्वाचनको सुरक्षालगायत सबैखाले तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए । 

भेटमा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गरिन् । उनले निर्वाचननै अहिलेको उत्तम विकल्प भएकाले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भेटघाटमा भनिन्,'निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोही अनुसारको माहोल बनाउनुपर्छ र निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully