किन पटक-पटक फुटिरहन्छ मेलम्चीको पाइप ?

कतिपयले पाइपको गुणस्तरप्रति पनि शंका गरेका छन् भने सडक र विद्युत् प्राधिकरणबीच समन्वय नहुँदा समस्या थपिएको अधिकारीहरू बताउँछन् ।

कार्तिक ३०, २०८२

ऋषिराम पौड्याल

What you should know

काठमाडौँ — शनिबार तीनकुने–बानेश्वर क्षेत्रमा मेलम्ची आयोजनाले बिछ्याएको पाइप फुटेर सडक जलमग्न भयो । करिब डेढ घण्टापछि गेटभल्भ बन्द गरेर पानी रोकिएको थियो । अहिले फुटेको पाइप मर्मत भइरहेको छ ।

पानी वितरणको जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक पौडेलका अनुसार फुटेको पाइप मर्मत गरेर सोमबारसम्म पानी वितरण गरिनेछ । 

मेलम्चीको पानी वितरण गरिएको पाइप अहिले मात्र फुटेको भने होइन । २०७९ मंसिरमा लैनचौरमा पाइप फुटेको थियो । २०८१ माघ ३० मा बबरमहलमा मेलम्चीको पाइप फुट्दा सडक नै भासियो । बबरमहलमा पाइप फुटेको तीन सातामा थापाथलीमा पाइप फुटेर सडक जलमग्न भयो । ठूलो परिणममा बाहिर निस्केको पानीले व्यक्तिग सम्पत्तिमासेमत क्षति गरेको थियो ।

मेलम्चीको पाइप पटक–पटक किन फुटिरहन्छ ? कतिपयले पाइपको गुणस्तरप्रति पनि शंका गरेका छन् । 

मेलम्चीको पानी वितरणका लागि उपत्यकामा पाइप बिछ्याउनेलगायत संरचना बनाउने जिम्मेवारी मेलम्ची आयोजना अन्तर्गतको योजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को हो । निर्देशनालयले निर्माण गरेको संरचनामा केयूकेएलले पानी वितरण गर्दै आएको छ । अहिलेसम्मको जानकारी अनुसार खानेपानी पाइप बिछ्याइएको सडक र विद्युत् प्राधिकरणले गर्ने कामका सिलसिलामा असावधानी अपनाएका कारण पाइप फुटेको सम्बन्धित अधिकारीहरुले बताउने गरेका छन् ।

शनिबार पनि मीनभवन क्षेत्रमा आकाशे पुल निर्माण क्रममा सडक विभागले खनेका कारण पाइप फुटेको प्रारम्भिक अनुमान । केयूकेएलका सीईओ पौडेलले आकाशेपुलको जग खन्ने क्रममा पाइप फुटेको प्रारम्भिक अनुमान गरिएको बताए । गत माघमा प्राधिकरणले बिजुलीको तार बिछ्याउने क्रममा पाइप फुटेको बताइएको थियो । 

पाइप फुटेपछि सडक भासिने, नयाँ पाइप फेर्नुपर्ने, पानीले व्यक्तिगत तथा सरकारी सम्पत्ति हानिनोक्सानी हुने र खानेपानी वितरणसमेत प्रभावित हुने गरेको छ । तर यसको दीर्घकालीन समाधान खोजिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक प्रमुख लक्ष्मीप्रसाद उपाध्याय सरोरकारवाला  निकायबीच समन्वयको अभाव रहेको बताउँछन् । ‘सडक र प्राधिकरणबीचमा जसरी समन्वय हुनुपर्ने हो त्यसमा कमजोरी देखिएको छ,’ उनले भने, ‘कतिपय स्थानमा प्राविधिक विषय पनि जोडिने गरेको छ । तर अहिलेसम्म पाइप फुटेका धेरै घटना विद्युत् प्राधिकरण र सडकले सिभिल काम गर्ने क्रममा असावधानी अपनाएको देखिन्छ ।’

पानीको फोर्स धेरै भएर ज्वाइन्टमा दबाब पर्दा पनि पाइप फुट्ने गेरेको प्राविधकहरु बताउँछन् । कतिपयले पाइपको गुणस्तरको विषयमा प्रश्न गरेका छन् । पाइप खरिदमा अनियमितता भएको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजको अन्तिम साता निर्देशनालयबाट कागजपत्र नियन्त्रणमा लिएको छ । अहिले उक्त विषय छानबिन भइरहेको छ । 

मेलम्चीअन्तर्गत उपत्यकामा नयाँ तथा पुरानो पाइप लाइनबाट पानी वितरण भइरहेको छ । अहिले दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ । आव २०८१/०८२ को रेकर्ड अनुसार उपत्यकामा खानेपानी वितरणका लागि १ हजार ६ सय किमिभन्दा बढी पाइप बिछ्याइसकिएको छ । पाइप थोक र वितरण प्रणालीका लागि बिछ्याइएको हो । पाइप बिछ्याउने काम निर्देशनालयले गर्छ भने पानी वितरण केयूकेएलले गर्दै आएको छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully