चितवनमा शर्माको सक्रियताले दाहाललाई कति जोखिम ?

माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले चितवनमा पनि आफ्नो उपस्थिति बढाउँदा पुष्पकमल दाहाल पक्ष कति जोखिममा पर्ला भन्ने लेखाजोखा हुन थालेकाे छ ।

कार्तिक ३०, २०८२

रमेशकुमार पौडेल

How much risk does Sharma's activism in Chitwan pose to Dahal?

What you should know

चितवन — पुष्पकमल दाहालसँगको लामो सांगठनिक सम्बन्ध हालै बिच्छेद गरेका तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो नयाँ राजनैतिक अभियानलाई दाहालको गृहजिल्ला चितवनसँग आ‍ैपचारिक रूपमा जोडेका छन् ।

शर्माको संगठन 'प्रगतिशिल राष्ट्रिय अभियान नेपाल'को चितवन घोषणा सभा आइतबार भरतपुरमा सम्पन्न भयो । जसको संयोजकमा तत्कालीन माओवादी केन्द्रको बागमती प्रदेशका सचिवालय सदस्य दिपक शाही रहेका छन् ।

चितवन तत्कालीन माओवादी केन्द्रका अध्यक्ष र पछि संयोजक भएका तथा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतका दलहरू बीच एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालको गृहजिल्ला हो ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाहाल चितवन-३ बाट निर्वाचित भएका थिए । चितवनको लगभग आधा जनसंख्या र आधा मतदाता रहेको भरतपुर महानगरपालिकामा माओवादी नेतृ रहेकी दाहालकी  छोरी रेनु मेयरमा दुईपटक निर्वाचित भइसकेकी छन् । उनी अब हुने प्रतिनिधिसभा निर्वाचनमा चितवनबाटै उठ्ने चर्चा छ ।

यसकारण माओवादीका प्रभावशाली नेता शर्माले चितवनमा पनि आफ्नो उपस्थिति बढाउँदा दाहाल पक्ष कति जोखिममा पर्ला भन्ने लेखाजोखा हुन थालेकाे छ । आइतबार भरतपुर केन्द्रीय बसपार्क छेउको एक होटलमा प्रगतिशील राष्ट्रिय अभियानको चितवन समिति घोषणा भएको थियो । 

How much risk does Sharma's activism in Chitwan pose to Dahal?

बागमती प्रदेश समितिका सदस्यहरू शर्माकाे अभियानमा जाेडिए पनि जिल्ला तहका ठूला नेता खासै सहभागी भएका छैनन् । तर अभियानमा जोडिएकाहरु पनि माओवादीका लागि सशस्त्र संघर्षदेखि शान्तिकालसम्म लागेका अनुहार भने हुन् । 

माओवादीकाे भरतपुर महानगर समितिकी उपाध्यक्ष पवित्रा रिजाल पनि शर्माकाे अभियानमा जोडिएकी छिन् ।शर्माको अभियानको संयोजन गर्न चितवन आएका सुदर्शन पौडेल पनि चितवनकै माओवादीका पुराना नेता हुन् । सशस्त्र  युद्धका बेला माओवादीले समानान्तर सत्ताको अभ्यास गर्न घाेषणा गरेकाे 'जनसरकार' का चितवनका पहिलो प्रमुख थिए पौडेल । उनी द्वन्द्वकालमा गिरफ्तार पनि भए । द्वन्द्वकालमा मात्र नभएर स्थानीय तह निर्वाचनमा पनि पार्टीमा उनकाे सक्रिय भूमिकामा थियो । स्थानीय तह निर्वाचनमा दुवै पटक उनी भरतपुर महानगरपालिकामा मेयरमा दाहाललाई विजयी बनाउने भूमिकामा खटेका देखिन्थे ।

चितवनमा शर्माको सक्रियता यत्तिमा मात्रै त सीमित रहला  ? अहिले धेरैकाे चासोको विषय बनेकाे देखिन्छ । यद्यपि यस विषयमा कसैले आ‍ैपचारिक रूपमा आफ्ना टिप्पणी सार्वजनिक गरेका भने छैनन् ।

शर्माकाे अभियानको चितवन घोषणासभामा पाकादेखि युवा र मजदुरदेखि किसान संगठनमा काम गरेका परिचित अनुहार भने देखिन्थे । आफ्नो गृहजिल्ला भए पनि संयाेजक दाहालले यसअघि नै आफ्ना प्रभावशाली नेताहरूको साथ गुमाइसकेका छन् ।

२०७४ सालको निर्वाचनपछि तत्कालीन एमाले र माओवादी बीच एकीकरण भएर बनेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा माओवादीका वरिष्ठ तथा पुराना नेता चितवननै घरभएका रामबहादुर थापा एमालेमै बसे । हाल एमाले उपाध्यक्ष रहेका थापाले शनिबार मात्रै नारायणगढमा भाषण गर्दै दाहाल-नेपाल एकतालाई 'हाम्रा भूतपूर्व साथीहरूले १० कोठे ठहरो बनाएको' भन्दै व्यङ्ग्य गरेका थिए । सशस्त्र युद्धका समयमा चितवन माओवादीको नेतृत्व गरेका यमबहादुर परियार पनि हाल एमालेमा छन् ।

आफ्नो जिल्लाका पुराना 'हस्ती' र नेताको साथ यसअघि नै गुमाइसकेका दाहाललाई  चितवनमा  शर्माको सांगठनिक उपस्थितिले कस्ताे चुनाैती हुन सक्छ भन्नेमा सबैकाे चासाे देखिएकाे छ । परिस्थिति फेरिँदै गएकाे अवस्थामा गृहजिल्लाका नेता, कार्यकर्ता एकीकृत राख्न दाहालले केही न केही कसरत गर्नुपर्ने बाध्यता भने बढेको छ । घोषणासभामा सहभाागी सुदर्शन पौडेल भन्दै थिए 'आज हामीले चितवनमा पनि हामी छौं है भन्ने सन्देश दिनलाई कार्यक्रम गरेका हौं । खास अभियान त अब बढ्दै जाने छ ।'

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully