नियम–कानुनले तोकेका कागजात नमिलेको अवस्थामा बाहेक बहाना बनाएर फिर्ता गरिए यात्रुलाई हुने नोक्सानको क्षतिपूर्तिसहित सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सकै रहनेछ ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रु जथाभावी फर्काउन एयरलाइन्स कम्पनीहरूलाई रोक लगाइने भएको छ । नियम–कानुनले तोकेका कागजात नमिलेको अवस्थामा बाहेक बहाना बनाएर फिर्ता गरिए यात्रुलाई हुने नोक्सानको क्षतिपूर्तिसहित सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सकै रहनेछ ।
एयरलाइन्सहरूले विभिन्न बहानामा यात्रुलाई बोर्डिङ पास नै नदिई फर्काउन थालेपछि नियमनमा कडाइ गर्ने निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
‘अब एयरलाइन्सहरूले विमानस्थलबाटै फर्काउनुपरे सम्बन्धित यात्रु र अध्यागमनलाई कारण खुलाएर पत्र दिनुपर्छ,’ उनले भने, ‘यात्रुसँग आवश्यक कागजात हुँदाहुँदै बहाना बनाएर बोर्डिङ पास दिइएन र विमानस्थलबाटै फिर्ता गरियो भने सम्पूर्ण जिम्मेवारी सम्बन्धित एयरलाइन्सको हुनेछ, यसबारे सम्बद्ध पक्षलाई परिपत्र गर्दै छौं ।’
दुबई, कतार, मलेसियालगायत मुलुक जान लागेका एक सयभन्दा बढी यात्रुलाई गत बिहीबार विभिन्न एयरलाइन्सले विमानस्थलबाट ‘अफलोड’ (फिर्ता) गरेका थिए । स्पष्ट कारण नखुलाई एयरलाइन्सहरूले यति धेरै यात्रु फिर्ता गरेको विषयमा छानबिन भइरहेको विभागका महानिर्देशक तिवारीले जानकारी दिए ।
अध्यागमन विभागको प्रस्तावमा गत १३ कात्तिकमा गृहमन्त्रीस्तरीय निर्णय गरेर ‘भिजिट भिसासम्बन्धी मापदण्ड–२०८०’ संशोधन गरिएको थियो, जसअनुसार विगतमा लादिएका कठोर प्रावधान हटाइएको थियो । साथै तोकिएका कागजात भएर पनि भिजिट भिसामा जाने यात्रुलाई विभिन्न बहानामा अध्यागमन कक्षबाटै फिर्ता गरिए फिर्ता गर्ने कर्मचारीमाथि पनि कारबाही हुने गरी विभागले आन्तरिक परिपत्र गरेको थियो ।
‘विभागले भिजिट भिसासम्बन्धी विगतमा ल्याइएका केही प्रावधानहरू संशोधन गरेर अहिले यात्रुमैत्री प्रबन्ध गरिएको छ, यसबाट असन्तुष्ट बनेका पक्षहरूले सुधारका पहललाई रुचाएका छैनन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्ला दिनमा एयरलाइन्सहरूले यात्रुलाई बोर्डिङ पास नदिई रोक्नुका पछाडि कतै विगतमा सेटिङ गर्नेहरूकै खेल त होइन भन्ने आशंका पनि उब्जिएको छ ।’
अध्यागमन विभागले विदेश यात्राका लागि ६ महिना अवधि भएको नेपाली राहदानी, गन्तव्य मुलुकको भिसा, गन्तव्य मुलुक प्रस्थान गर्दाको हवाई टिकट र आफू विदेश जान पेस गरिएका कागजात तथा यात्राको जोखिमबारे ‘स्वघोषणा’ गरे पुग्ने गरी नयाँ मापदण्ड ल्याएको थियो ।
पुरानो मापदण्डमा राहदानी, भिसा, ५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तकोमा बस्ने भए यसको तीनपुस्ते नाता विवरण खुल्ने कागजात तथा यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदीका लागि यात्रा गर्नेले स्वघोषणा गर्नुपर्नेसहितका कठोर प्रावधान थिए । यही कठोर प्रावधान छलेर गिरोहमार्फत रकम बुझाउने र त्यही गिरोहको नेटवर्कबाट विदेश पुग्ने प्रवृत्ति नरोकिएपछि विवादित प्रावधान हटाउनुपर्ने बहस भएको थियो । सोही विवादास्पद प्रावधान हटाएर अब वैध राहदानी/भिसा, एकतर्फी टिकट र स्वघोषणा भए पुग्ने प्रावधान राखिएको हो ।
भिजिट भिसासम्बन्धी नयाँ प्रावधानपछि विदेश जानेका गुनासोमा पनि कमी आएको र गिरोहका गतिविधि पनि बिस्तारै नियन्त्रणतर्फ उन्मुख भइरहेका बेला केही व्यक्तिले विभिन्न बहानामा यात्रुलाई फेरि दुःख दिन खोजेको विभागका महानिर्देशक तिवारीले टिप्पणी गरे । यात्रुलाई ‘अफलोड’ गरिएपछि शुक्रबार तिवारीले अन्तर्राष्ट्रिय उडान गर्ने विमानस्थलभित्रका एयरलाइन्सका प्रतिनिधि र ‘कन्ट्रीहेड’लाई बोलाएर छलफल गरेका थिए ।
‘तोकिएका कागजातहरू भएर पनि बिना कारण अध्यागमनमा खटिएका कर्मचारीले डेस्कबाटै यात्रु फर्काएमा त्यसरी फर्काउने कर्मचारीलाई पनि कारबाही हुने गरी सुधारका काम भइरहेका छन्, अब यात्रुलाई बिना कारण बहानाबाजी गरेर बोर्डिङ पास नदिई फिर्ता गर्ने एयरलाइन्सहरूलाई पनि कारबाहीको दायरामा ल्याइन्छ, त्यसकै लागि एयरलाइन्सका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै बिहीबार फिर्ता गरिएका व्यक्तिबारे उहाँहरूसँग कारण पनि मागेका छौं,’ उनले भने ।
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कतार, ओमान, फ्लाई दुबई, हिमालयन, नेपाल एयरलाइन्स, एयर अरेबियासहित आठ विमान कम्पनीका प्रतिनिधिलाई तिवारीले विभागमै बोलाएर छलफल गरेका थिए । छलफलपछि विभागले एयरलाइन्सले यात्रु ‘अफलोड’ गरेमा यसको कारण लिखित रूपमै यात्रु र विमानस्थल अध्यागमनलाई दिनुपर्ने निर्णय गरेको हो ।
भिजिट भिसासम्बन्धी कठोर प्रावधानकै आडमा विमानस्थलमा असुलीधन्दा मौलाएका विगतका विभिन्न प्रकरणले पनि पुष्टि भइसकेका छन् । तस्करीमा विमानस्थलस्थित अध्यागमन, एयरलाइन्स कम्पनी, प्रहरी, ट्राभल तथा म्यानपावर एजेन्सी, शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) र बिचौलियाको मिलेमतोमा हुने गरेका घटनाहरू यसअघि नै बाहिरिसकेका छन् ।
भिजिट भिसा तस्करी र असुलीधन्दामा मुछिएपछि विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई नै ७ जेठ २०८२ मा अख्तियारको फन्दामा परेका थिए । भिजिट भिसा तस्करीको गिरोहसँग मिलेर रकम असुली गरेको आरोपमा भट्टराई र उनीसँग जोडिएको नेटवर्कमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
