भाइरल बन्यो आश्माले बनाएको ४४ सेकेन्डको भिडियो

आश्माले अपलोड गरेको भिडियो टिकटकबाट मात्रै २ करोडभन्दा धेरैले हेरिसकेका छन् ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

A 44-second video made by Ashma goes viral

What you should know

काठमाडौँ — दक्षिण भारतीय अभिनेता रामचरण अभिनित फिल्म ‘पेड्डी’को गीत ‘चिकरी चिकरी’ले सामाजिक सञ्जालमा धुम मच्चाइरहेको छ । मोडेल आश्मा विश्वकर्माले यही गीतमा ४४ सेकेन्डको नृत्य भिडियो बनाएर टिकटकमा पोस्ट गरेपछि यो गीत नेपालीमाझ पनि चर्चित बनिरहेको छ ।

एआर रहमान, मोहित चौहान, राक्युब आलमको स्वर रहेको यो गीतमा रामचरणको नृत्य स्टेप पछ्याउँदै टिकटक र रिल्स बनाउने क्रम बढ्दो छ ।

सामाजिक सञ्जालमा हिन्दी, कन्नड, तमिल र तेलुगु चारवटै भाषामा यो गीत सुन्न पाइन्छ ।

आश्माले अपलोड गरेको भिडियो टिकटकबाट मात्रै २ करोडभन्दा धेरैले हेरिसकेका छन् । आश्माले अपलोड गरेको गीतको क्लिपबाट मात्रै यो समाचार तयार पार्दासम्म ११ हजार ७ सय भिडियो बनिसकेको छ । आश्माले अपलोड गरेको क्लिपमा १२ लाखले लाइक नै गरेका छन् । 

कान्तिपुर टिभीसँगको कुराकानीमा आश्माले सामाजिक सञ्जालमा देखेपछि यो गीतमा भिडियो बनाउन मन लागेको बताइन् । धेरैले आश्माले मूल गीतको नृत्यभन्दा अझ राम्रो नृत्य गरेको भन्दै तारिफ गरिरहेका छन् । आश्माको नृत्यको दक्षिण भारतीय दर्शकहरूले पनि उत्तिकै प्रशंसा गरिरहेका छन् । दहचोकको स्विटजरल्यान्ड पार्कमा खिचिएको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् ।

गीत देख्नेबित्तिकै भिडियो बनाउन मन लागेर सहजै निर्माण गरे पनि धूमपानबाट टाढै रहने भएकाले चुरोट तान्नुपर्ने दृश्य निकै कठिन भएको आश्माले बताइन् ।

गायिका दीपा झा, ‘पेड्डी’कै अभिनेत्री जान्ह्वी कपूर र फिल्मको अफिसियल पृष्ठले आश्माको भिडियोलाई इन्स्टाग्राममा सेयर गरेका छन् ।

रामचरणका फ्यान क्लबहरूले समेत भिडियो सेयर गरेर प्रशंसा गरेका छन् ।

कान्तिपुर

Link copied successfully