शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेहरूको संख्या दुई लाख रहेको छ ।
काठमाडौँ — निर्वाचन आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता भएकोमा यसबीचमा सात दलको दर्ता खारेज भएको र नयाँ सात दल थपिएको बताउँदै जम्मा १ सय २२ दल आयोगको दर्तामा रहेको बताए ।
प्रवक्ता भट्टराईका अनुसार खारेज भएकाहरू मध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएको थियो भने अन्य ६ दल नेतृत्वको आग्रहमा खारेज भएका हुन् । उनले २८ वटा दल दर्ता प्रक्रियामा रहेको पनि बताए ।
प्रवक्ता भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आइतबार अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाणपत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउने बताउँदै मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताए । उनको अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य आगामी ५ मंसिरसम्म जारी रहने समेत बताए ।
शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेहरूको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।
