सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।
दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ’, सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाल लिन्नौ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे ।
मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रुपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआइको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।
