नासोले पायो आईएयूको राष्ट्रिय सदस्यताको मान्यता

योसँगै विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न मार्गप्रशस्त भएको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

NASO receives recognition as IAU national membership

काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आईएयू)को राष्ट्रिय सदस्यता प्राप्त गरेको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले निकै लामो समयको अथक प्रयासले गर्दा नै (आईएयू) को सदस्य राष्ट्र भएको बताएका छन् । भट्टराईले यो क्षण एतिहासिक भएको बताए ।

‘नेपालका लागि यो एक ऐतिहासिक क्षण हो,’ उनले भने,‘नेपालको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीलाई (आईएयू) ले राष्ट्रिय सदस्यका रुपमा मान्यता दिएसँगै सन् २००७ देखिको नेपालमा सञ्चालित कार्यक्रमहरुले औचित्य पुष्टि गर्न सफल भएको छ  ।’ उक्त सफलताले सम्पूर्ण समुदायलाई खुसी गराएको उनले बताएका छन् । 

गत वर्ष (सन् २०२४) मा दक्षिण अफ्रिकाको केपटाउन सहरमा सम्पन्न आईएयुको ३२ औं महासभामा नेपालले पर्यवेक्षक भूमिकासमेत प्राप्त गरेको नासोले जनाएको छ । 

आईएयूका नवनिर्वाचित अध्यक्ष तथा सन् २०११ का नोबेल पुरस्कार विजेता (भौतिकशास्त्र) प्रोफेसर ब्रायन पी.श्मिड्ट ले कात्तिक १८ गते मंगलबार एक आधिकारिक इमेलमार्फत जानकारी गराएका थिए । 

उक्त निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायलाई थप सशक्त रुपमा सहभागी हुन मद्दत गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए । साथै विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्न मार्गप्रशस्त गरेकोसमेत उनले बताए । ‘हामीलाई अझ बलियो रुपमा भविष्यका अनुसन्धानकर्ता र वैज्ञानिकहहरु तयार गर्न प्ररित गर्नेछ,’ उनले भने,‘हामी नेपालको आवाजलाई विश्व  खगोल समुदायमा सशक्त रुपमा प्रस्तुत गर्न प्रतिवद्ध छौँ ।’

कान्तिपुर

Link copied successfully